मौसमजस्तै भर बिनाको भयो राजनीति
नेकपाभित्रको विवादले उग्र रूप लिँदा गत असारमै काँग्रेस सभापति देउवाले ओली हटाउने हो भने अविश्वास प्रस्ताव कि तपाईंहरूले ल्याउनुस् कि हामीले ल्याउँछौं भनेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टसँग प्रस्ताव गरेको काँग्रेसी नेताहरूले अहिले भन्न थालेका छन् । त्यतिखेर त्यसोभन्दा प्रचण्डले अलमल गरेर टारेको उनीहरूको आरोप छ ।
फागुन ११ गतेपछि उठेको अविश्वास प्रस्तावको प्रसंगमा उहाँप्रति ढुक्क हुन नसक्नुको मुख्य कारण असारको सन्दर्भले काम गरेको बताइन्छ । मंगलबार दिउँसो प्रचण्डसँग काँग्रेस नेता मिनेन्द्र रिजाललगायतको टोलीले मण्डिखाटारमा गरेको भेटघाटमा समेत त्यहि सन्दर्भ कोट्याएको बुझिएको छ । तर जवाफमा प्रचण्डले असार र आजको सन्दर्भलाई फरक ढंगले बुझ्न आग्रह गर्नुभएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
काँग्रेसीहरूलाई प्रचण्डसँग सबैभन्दा धेरै रिजर्भेसन चाँहि त्यत्रो मतपत्र च्यातेर छोरीलाई मेयरमा जिताइयो,स्थानीय चुनावमा तालमेल नै गरियो तर पछि अविश्वसनीय तरिकाले संसदीय चुनावमा ओलीसँग एकाएका मिलेको सन्दर्भमा राख्दै आएका छन् । त्यसबेलादेखि काँग्रेसीहरूले प्रचण्डलाई भर गर्न नहुने नेताको संज्ञा दिएका हुन् । त्यहि पृष्ठभूमिका कारण पछिल्लो एक साता काँग्रेसीहरू खुलेर अघि नबढेको बताइन्छ ।
आज दिउँसोदेखि शुरु भएको नयाँ राजनीतिक कोर्समा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसले समर्थन गरेर अघि बढ्ने सम्भावना अत्यन्त क्षीण देखिन्छ । गरिहालेको अवस्थामा आठौं आश्चर्य हुने अन्य दलका नेताहरूको विश्लेषण छ । प्रधानमन्त्री ओलीको सबैभन्दा भित्री चाहना भनेको जसपालाई फुटाएर सरकारमा सामेल गराउने भन्ने नै हो । जसपाको ओलीलाई समर्थन गर्ने भन्ने समूह महन्थ ठाकुरको मात्रै हो । त्यसैले ओली सरकार टिकाउने जोड घटाउमा जसपालाई थाहा नदिई आज दिउँसो वार्ता टोली गठन गर्नुले पनि उक्त कुरालाई पुष्टि गरेको छ ।
महन्थ समूहले ओलीसँग मिलेर सरकार चलाउने भनेको यसअघि बालुवाटारमा मध्यरातमा भएको सामन्त गोयलसँगको छलफलको निचोड रहेको एकथरिको बुझाई छ । त्यस्तो अवस्थामा मुलुकको राजनीतिको रिमोट भने अन्यत्रै रहने छ । त्यसले नेपालका अन्य राजनीतिक दल तथा नेताहरू थप समस्यामा जकडिने सम्भावनालाई बढाउने छ ।
हुन तः अदालतबाट आएको पछिल्लो आदेशले मुलुकको राजनीतिक परिस्थितिमा उलटपलट आउनेमा प्रधानमन्त्री ओली पूर्वजानकार रहेको भन्नेहरूको संख्या पनि कम छैन । किनभने अहिलेको अवस्थामा आएको त्यस्तो फैसलाको पूर्व संकेत केपी ओली जत्तिको शक्तिशाली प्रधानमन्त्रीलाई थिएन भनेर भन्न सकिँदैन र मिल्दैन पनि । अब त्यो रहस्यको गाँठो फुक्न मात्र बाँकी भएकाले केही समय कुर्नुको विकल्प देखिँदैन ।
अझैपनि अनेक बहानामा चुनावमा जान खोज्नुभएको प्रधानमन्त्रीसँग काँग्रेसलाई बाहिर राखेर चुनावमा होमिने सम्भावना पनि देखिँदैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार स्वतः अल्पमतमा जान्छ । त्यसबेला भने प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । त्यतिबेला जसपाबाट महन्थलाई छुट्याएर समर्थन लिनु बाहेक अर्को विकल्प नभएको अन्य दलको विश्लेषण रहेको छ ।
उता, काँग्रेसले पनि अविश्वासको प्रस्ताव पेश गर्ने कुरोलाई थाँती राखेर प्रधानमन्त्रीलाई विश्वासको मत लिन भनिरहेको छ । प्रधानमन्त्रीले पनि अघिल्लो सातासम्म विश्वासको मत लिन्नँ तर अविश्वास प्रस्ताव फेस गर्छु भन्दै आउनुभएकोमा अहिले राजनीति घुमेर विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जना हुँदै गएको छ ।
यता माओवादी केन्द्रले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने काम जसपा र काँग्रेससँग सल्लाह गरेर अघि बढाउने भएको छ । आफ्नो राजनीतिक हिसाब किताब क्लियर गर्न पनि केन्द्रले ओलीलाई दिएको विश्वासको मत फिर्ता लिनैपर्ने देखिएको हो । अन्यथा, माओवादीको विश्वासमा ओली सरकारले रजगज गरेको अर्थ लाग्छ । जुन संसदीय राजनीतिको सैद्धान्तिक धरातलभन्दा बाहिरको कुरा रहेको विज्ञहरूको तर्क छ ।
टिप्पणीहरू