केएमसी अस्पताल कसरी कानुनी ?

केएमसी अस्पताल कसरी कानुनी ?

राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) सम्बन्धित निकायमा दर्ता नै नगरी दुई दशकदेखि अवैध तरिकाले सञ्चालनमा रहेको पुष्टि भएको छ । उक्त अस्पताल पहिले मेडिकल कलेजका विद्यार्थीलाई प्राक्टिकलको लागि बनाइएको ल्याब मात्रै थियो । तोकिएको मापदण्ड पूरा नभएकाले स्वास्थ्य मन्त्रालयले हालसम्म अस्पताल सञ्चालनको स्वीकृति दिएको देखिएको छैन । तर, त्यहि अस्पताल अहिले राजधानीका व्यस्तमध्येको एक देखिएको छ ।

यसअघि पनि कान्तिपथस्थित उद्योगपति तथा व्यवसायी रूपज्योतीको लगानीमा खोलिएको ग्राण्डी सिटी हस्पिटलसमेत केही वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको खबर जनआस्थाले नै प्रकाशन गरेको थियो । तर, केएमसी भने २४ वर्षदेखि अवैध तवरले सञ्चालनमा रहेको पुष्टि भएको छ ।

केएमसीलाई पछिल्लो दिन कम्पनीमा परिणत गरेर काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बनाइएको छ । स्रोतका अनुसार हजारौं जनाले थोरै रकमको सेयर हालेको देखाइएको छ । कुनैपनि व्यक्ति वा समूह ‘मेजर सेयर होल्ड’ देखिँदैन । तर, पब्लिक लिमिटेड कम्पनी भने पनि अस्पताल कम्पनी ऐनबमोजिम कहीँ–कतै सूचीकृत भएको देखाइएको छैन ।

केएमसीको केही स्वामित्व विराटनगरको नोबल मेडिकल कलेजका प्रमुख लगानीकर्ता सुनील शर्माले हालै कब्जामा पारेको देखिन्छ । स्रोत भन्छ, ‘शर्मासहित १० जना मिलेर अस्पतालको २० प्रतिशत सेयर स्वामित्व लिएका छन् ।’ केएमसीको स्वामित्व हत्याएपछि उनले अस्पतालमा आवश्यक उपकरण थप्ने भन्दै एलसी खोलेर विदेशबाट सामानसमेत मगाएका थिए । तर, मगाइएको सामान आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा थुप्रिएको धेरै भइसके पनि छुटाइएको छैन ।

भन्सारले सामान छुटाउनुअघि अस्पतालको कम्पनी दर्ता प्रमाणपत्र र स्वास्थ्य मन्त्रालयको अस्पताल सञ्चालन इजाजतपत्र मागिएपछि सामान अड्किएको हो । अस्पतालसँग ती दुवै कागजात नभएपछि पेश गर्न सक्ने कुरै भएन । ‘त्यसैले लामो समयदेखि स्वास्थ्य उपकरण विमानस्थल भन्सारमा थन्किएको छ’, स्रोतले बतायो ।

यसबीच केएमसीको नामबाट शर्मा र उनको समूहले भक्तपुरको दधिकोटमा जग्गा किनेर २५ शैøयाको अस्पताल बनाउन थालेको छ । अहिले त्यहि नामको हस्पिटलको स्वीकृति लिन शर्मा समूह कम्पनी रजिष्ट्रारको कार्यालय र स्वास्थ्य मन्त्रालयतिर दौडधुपमा देखिन्छ । ‘फाइल बोकेर घुमाइरहेका छन्, अब दधिकोटको अस्पताल दर्ता गरेपछि त्यहि नामबाट भन्सारमा अड्केको सामान छुटाउने कसरतमा हर्ताकर्ता लागेको’ स्रोतको दाबी छ ।

तर, बैंकमा एलसी खोल्दा सिनामंगलस्थित केएमसी मेडिकल कलेज पब्लिक कम्पनीको निम्ति भनिएको छ । अब सामान छुटाउँदा एलसी खोलेको अस्पताल र दर्ता भएको अस्पतालको जिल्ला नै फरक रहेपछि कति सम्भव हुन्छ ? त्योचाहिँ हेर्न बाँकी रहेको अस्पतालका एक जना कर्मचारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले भने सरकारले तोकेको मापदण्डअनुसार अस्पतालको भवन, कोठा, बेड, पार्किङ केही पनि नमिलेकाले स्वीकृति प्रदान नगरेको हो । पहिले अरु नै रहे पनि अहिले केएमसीको हर्ताकर्ता पनि नोबलका डा. सुनीलकुमार शर्मा र उनका दाजु डा. केपी शर्मा हुन् । सुनील तिनै व्यक्ति हुन् जो अघिल्लो संसदीय निर्वाचनमा हालका पर्यटनमन्त्री भानुभक्त ढकालसँग मोरङमा कांग्रेसको उम्मेदवार भएर प्रतिस्पर्धा गर्दा पराजित भएका थिए । उनलाई वाइसिएलसँग मिलेर आफ्नै अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र गिरीलगायत ६ जनालाई मरणासन्न हुनेगरी कुटपिटको आरोपसमेत लागेको थियो । दाजु केपीचाहिँ आफूलाई पूर्वमाओवादीनिकट भन्न रुचाउँछन् ।

अस्पतालको प्रिन्सिपलमा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्की छिन् । उनी तिनै हुन् जसलाई केही समयअघि सिटिजन्स बैंक इन्टरनेशनलले सञ्चालक समितिको सदस्य बनाएको थियो । हालका अध्यक्ष तथा तत्कालीन सिइओ राजनसिंह भण्डारीकी दिदी कार्कीलाई राष्ट्र बैंकको निर्देशन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विपरीत हुनेगरी सदस्य बनाउँदा राष्ट्र बैंकले मौनता साँधेको थियो ।

आफ्नो अवैध हैसियतलाई छोप्न अस्पतालले विभिन्न अन्तर्राष्ट्रिय अस्पतालसँग सम्बन्धन रहेको प्रचार गर्दै आएको छ । अधिकांश कागजातमा प्राइभेट अस्पताल उल्लेख गरिएको अस्पतालको साइनबोर्डमा भने पब्लिक लिमिटेड कम्पनी लेखिएको छ । अस्पतालले आफूलाई नेपाल मेडिकल काउन्सिलका साथै श्रीलंका, बेलायत र भारतको मेडिकल काउन्सिलले समेत मान्यता दिएको बताउने गरेको छ ।

साथै, केएमसीले आफू विश्व स्वास्थ्य संगठनको सूचीमा सन् २००२ देखि नै सूचीकृत रहेको दाबी गर्दै आएको छ । त्यतिले पनि नपुगेर उसले आफूलाई बेल्जियममा कार्यालय रहेको टीयुएफएचको सदस्य र आईएमईडीको सूचीमा सूचीकृत संस्था भनेर चिनाउँदै आएको छ । तर, त्यहि अस्पतालको मुख्य प्रमाणको रूपमा हुनुपर्ने कम्पनी दर्ता र स्वास्थ्य मन्त्रालयको स्वीकृति कहीँ–कतै देखिँदैन ।

टिप्पणीहरू