जनता फेरि जागे,फोहोर फाल्न अवरोध
नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोरमैला बिसर्जनमा अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकालगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरूपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयले बताएका छन् ।
फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय वासिन्दाले चैत १३ गते यता सडकमा बिरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् । उनीहरूले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरवन्दी उपलब्ध गराउने नेपाल सरकारका मुख्यसचिव र स्थानीयसँग भएको सम्झौता र गत कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडी प्रवेश गर्न नदिने बताएका हुन् ।
विरोध प्रदर्शनमा उपस्थित नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंले यसअघिका सम्झौता कार्यान्वयन नभएसम्म फोहोर बिसर्जन गर्न नदिने बताए ।
फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिका अध्यक्ष अनिश शर्मा ढुङ्गानाले आफूहरूको माग एक दुई दिनमा पूरा नभए सबै विद्यालयका विद्यार्थीलाई सडकमै ल्याएर पढाउने चेतावनी दिएका छन् ।
त्यसैगरी फोहोर मैला व्यवस्थापन सरोकार समितिका अध्यक्षलगायत स्थानीयहरूले तीन वर्षको लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौता १५ वर्षसम्म कार्यान्वयन नभएको आरोप लगाएका छन् ।
टिप्पणीहरू