बाईपासमा सूचना केन्द्र
काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब १ करोड ६ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न सूचना केन्द्र निर्माण हुन लागेको हो ।
बुधबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा केन्द्रको शिलान्यास गरेका छन् । सूचना केन्द्रले उत्तर–पश्चिम क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्ने मन्त्री मानन्धरले बताउनुभयो ।
काठमाडौँबाट बालाजु नाकाहुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।
महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहोरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । यस्तै केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने छ । जसबाट महानगरवासी र पर्यटक समेतले फाइदा लिनसक्ने शाक्यले जानकारी दिनुभयो ।
सूचना केन्द्रको निर्माण उपभोक्ता समितिमार्फत् भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोर्ने गरी कूल १ करोड ६ लाख २० हजार रुपैयाँ लागतमा निर्माण हुने बताइएको छ ।
टिप्पणीहरू