के पी ओलीको वितण्डा
प्रधानमन्त्री केपी शर्मा ओली आफूसँग असहमत हुनेहरूलाई पार्टीबाट लखेटेर आफूसँग पूर्ण बफादारहरूको मात्र पार्टी बनाउनेतर्फ लगातार अघि बढिरहेका छन् । पहिलेदेखि नै असहत रहँदै आएका तलदेखि माथिसम्मका हजारौं नेता तथा कार्यकर्ताहरूलाई उनले व्यवहारमै लगातार यही सन्देश दिइरहेका छन् । यसले गर्दा एमाले पार्टी निर्माणमा जीवन बिताएकाहरूलाई केपीसँग एमालेमै रहन गाह्रो भईरहेको छ भने एमालेको नाम, जबज र सूर्य चिन्हप्रतिको मोह त्याग्न पनि उनीहरूलाई कम्ति गाह्रो भइरहेको छैन ।
यसमा एकाध बाहेक एमालेका सम्पूर्ण धरोहर नेता कार्यकर्ता केपीको खिलाफमा देखिन्छन् । त्यसैले पनि उनिहरूलाई एमाले, जबज, र सूर्य चिन्हबाट विमुख हुनु भनेको झण्डै कल्पना बाहिरको विषय भएको छ । तर, एमालेको नाममा हदैसम्म अपमान सहेर केपीको सामुन्ने आत्मसमर्पण गर्न पनि उनीहरू तयार छैनन् । यसले गर्दा केपी इतर पक्षमा एमाले त्यागेर छुट्टै पार्टी बनाउने वा जे जस्तो भए पनि उनीसँगै एमालेमा रहेर अन्तरपार्टी संघर्ष गर्ने भन्ने विषयमा बहस चल्न थालेको छ । केही दिनभित्र यसले यी दुईमध्ये एउटा दिशा समात्ने पक्का छ ।
अर्कोतिर केपी बेग्लै किसिमका र असामान्य मान्छे रहेछन् भन्ने पनि प्रमाणित हुँदै गएको छ । सर्वप्रथमतः संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अर्थात वर्तमान संविधानप्रति उनको प्रतिबद्धतामा पर्याप्त शंका उब्जिएको छ । उनका पछिल्ला क्रियाकलापहरूबाट त्यो शंका झन् बढ्दै र प्रमाणित उन्मुख हुँदै गइरहेको छ । उनी पार्टीभित्र महत्वपूर्ण विषयमा छलफल र बहस गरी निश्कर्ष निकाल्ने र त्यस्तो निश्कर्षअनुसार काम गर्ने परम्पराको सख्त खिलाफ रहेछन् ।
उनको आफु एक्लै चल्ने र निर्णय गर्ने स्वभाव रहेछ । उनमा लचकता र सहकार्य भन्ने कुरा रत्तिभर पनि रहेन छ । बरु उल्टै हेपाहा र मिचाहा प्रवृत्ति भने उत्तिकै रहेछ । उनी आफू समानका सहकर्मीहरूलाई समेत निरन्तरको प्रतिस्पर्धी ठान्दा रहेछन् । त्यसैले उनले त्यस्ता सहकर्मीहरूलाई हरबखत हेप्ने, घोचपेच गर्ने, अपमान र मानमर्दन गरी पीडा दिने गर्दा रहेछन् भन्ने देखिएको छ ।
प्रधानमन्त्री ओली संविधान, नियम, कानुन र विधि विधानको पनि खासै मतलब नगर्दा रहेछन् । उनी व्यक्तिको क्षमताको मुख्यमापदण्ड आफूप्रतिको बफादारी र भक्तिभावलाई मान्दा रहेछन् । त्यसैले सुशासन उनको भन्ने थेगो मात्र रहेछ । आफूले जे गरिन्छ त्यही नै सुशासन हुन्छ भन्ने उनको मान्यता रहेछ । उनलाई झुट बोल्न, अरुलाई झुक्याउन र धोखा दिन कुनै अचम्म वा अप्ठेरो लाग्दो रहेनछ । लोकतान्त्रिक पार्टी यसरी चल्दैन भन्ने कुरा बुझेको मान्छेले त्यस्तो प्रवृत्ति छोड्दैन भने उनलाई कसरी लोकतान्त्रिक नेता मान्न सकिन्छ ? ती सबै निरंकुश शासकका चरित्र हुन् । त्यसैले सही अर्थमा केपी ओली निरंकुश नेता हुन् भन्नुमा कुनै अत्युक्ति नहोला ।
प्रधानमन्त्री ओलीको अर्को अलोकतान्त्रिक प्रवृत्ति राज्य सञ्चालन प्रक्रियामा महत्वपूर्ण भूमिका भएका संवैधानिक निकायहरूको स्वतन्त्रताहरण पनि हो । यतिखेर विशेषगरी निर्वाचन आयोग र न्यायपालिकाका पछिल्ला गतिबिधिप्रति आमनागरिक आश्वस्त हुन सकिरहेका छैनन् । उनले आफूप्रति अनुग्रहित व्यक्तिहरूलाई त्यस्ता निकायमा जालझेल गरी नियुक्त गर्दछन् र तीनै मार्फत् आफू अनुकूलका निर्णय गराउँछन्, गराइरहेका छन् भन्ने आमधारणा बनेको छ । यस्तो प्रवृत्ति शक्ति पृथकीकरणको सिद्धान्त, सुशासन र स्वस्थ शासन सञ्चालनको बिल्कुल खिलाफमा हुन्छ । यी सबै गतिबिधिले पनि उनी लोकतन्त्रका साश्वत मूल्य मान्यतामा विश्वास गर्दैनन् भन्ने देखाउँछ ।
जनताले पार्टीलाई त्यति ठूलो जनादेश दिएर पाँच वर्षको लागि विपक्षीहरूको मुख बन्द गराई दिएका थिए । त्यसले विपक्षीहरूबाट सरकारलाई कुनै खतरा थिएन । उनले केही व्यवस्थापन गर्नुपर्ने आफ्नै पार्टीभित्र मात्र थियो । पार्टीले पनि मन्त्रीपरिषद गठन गर्दा, राजदूत र अन्य राजनीतिक नियुक्तिमा, नीति तथा कार्यक्रम र बजेट ल्याउँदा समेत उनलाई केही दखल पुर्याएको थिएन ।
तर, उनको पार्टीप्रतिको उपेक्षा, मनोमानी, पार्टीका बैठकहरूप्रतिको अनिक्षा, महत्वपूर्ण विधेयक बनाउँदा पार्टीको सामान्य राय समेत नलिने, राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश ल्याउने जस्ता महत्वपूर्ण र शंकास्पद कामहरू एकपछि अर्को गरी एकलौटी रूपमा अघि बढ्दै गएपछि पार्टीले चासो देखाउन थालेको हो, जुन सर्वथा उचित र स्वभाविक पनि थियो । त्यो समेत उनलाई सह्य भएन ।
आधा आधा अवधि सरकार चलाउने गरी भएको लिखित सहमति प्रचण्डले छोडिदिएकै थिए । २०७७ भदौ २६ गतेको स्थायी कमिटीको बैठकले उनलाई पाँचै वर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टीको अध्यक्षको रूपमा काम गर्न दिने निर्णय गरेकै थियो । यी सबै वापत उनले केवल ठूला निर्णयहरू गर्दा पाटीसँग परामर्श गर्नुपर्ने भन्ने थियो । तर, त्यसो गर्दा पनि उनलाई चित्त बुझेन ।
वास्तवमा उनले आफ्नो पछाडि पार्टी छ र त्यही पार्टीले आफूलाई प्रधानमन्त्री बनाएको हो भन्ने कुरालाई स्वीकार गर्न नचाहे जस्तो देखिँदै गयो । यहाँसम्म कि चलिरहेको संसद बैठक कसैलाई सुईंकोसम्म नदिई हठात् अन्त्य गर्ने र आफ्नो पार्टीको त्यति ठूलो बहुमत भएको संसदलाई संविधान विपरित कसैसँग परामर्श नगरी दुई वर्ष म्याद छँदै एकाएक भङ् गरी मध्यावधि निर्वाचन घोषणा गर्ने काम उनले गरे । तर संवैधानिक ईजलासले उनको त्यो कर्तुतलाई असंवैधानिक करार गरिदियो । यस्तो स्थितिमा नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा गर्नुपर्छ र गर्दछन् भन्ने आमअपेक्षा विपरित उनले राजिनामा नगरी सत्तामा टिकेर प्रतिनिनिधिसभालाई कुनै काम नदिई निकम्मा सावित गरी पुनः विघटन गर्ने तानाबाना बुनिरहेका छन् ।
यदि केपी ओली स्वस्थ र सकारात्मक मानसिकताका मानिस थिए भने र लोकतन्त्र, पार्टी र देशमा राजनीतिक स्थिरताका पक्षपाती हुन् भने पार्टीलाई सन्तुलनमा राखेर देश र जनताको उत्थानमा अर्जुनदृष्टि लगाएर काम गर्न उनलाई कसैले बाधा पुर्याउने थिएन । तर त्यसो नगरी उनले मुलुकको संविधान, राजनीति, पार्टी तथा संसदलाई नराम्रोसँग खल्बल्याए, छिन्नभिन्न पारी सबैतिर तिक्तता, ध्रुवीकृत र गतिरोधको स्थितिमा पुर्याए । राजनीतिक अस्थिरताको ढोका खोल्नेतिर लागे । यी सबै कुराको आधारमा प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक सोच र व्यवहार भएका, सम्हाल्नेभन्दा भत्काउने नेपाली राजनीतिमा खलनायकको रूपमा प्रमाणित भएका छन् भन्दा अत्युक्ति हुने देखिँदैन ।
टिप्पणीहरू