सेनामा उजुरी र छानबीन कसरी हुन्छ ?

सेनामा उजुरी र छानबीन कसरी हुन्छ ?

नेपाली सेनामा पछिल्लो समय एउटाले अर्कोलाई पोलेर र बेनामे उजुरी हाल्ने क्रम ह्वात्तै बढेको छ । यसबीच धेरै जनामाथि कारबाही पनि भएको छ । पछिल्लो पटक थुप्रै जर्नेलको जागिर गएको छ । अमेरिकाबाट (एनडिसी) नेशनल डिफेन्स कलेज कोर्स गरेका जर्नेल पंकज कार्की सेनाभित्रैका दुई जना महिला अधिकृतसँगको यौनकाण्डमा संलग्न भएको आरोपमा सेना दिवस आसपास बर्खास्त भएका हुन् ।

सेनामा पर्न थालेको उजुरीको चाङ्ग र हुन थालेको कारबाहीको उल्लेख्य संख्याले त्यसको प्रक्रिया र अवधिको बारेमा जिज्ञासा उत्पन्न हुन थालेको छ । सैन्य स्रोत भन्छ ‘धेरै समय लाग्दैन, औपचारिक प्रक्रिया शुरु भएको एकाध महिनामा काम सकिन्छ ।’

सेनामा सबैभन्दा पहिले उजुरी कुन दर्जा र हैसियतमा रहेकाले गरेको हो भन्ने आधिकारिकता हेरिन्छ । अनि त्यसको विश्वसनीयतालाई जाँचिन्छ । जाँच गरेपछि प्रारम्भिक छानबिन हुने बताइएको छ । सेनाका एकजना भूतपूर्व उच्च अधिकृत भन्छन् ‘अहिलेको परिप्रेक्ष्यमा एकले अर्कालाई आक्षेप लगाउने चलन बढेको छ । त्यसलाई पनि ध्यान दिइन्छ । पहिले उजुरीको वास्तविकता यकीन गर्न नै धेरै समय लाग्छ । त्यसबाट सार तत्व पत्ता लगाइन्छ । त्यसपछि मात्र कोर्ट अफ इन्क्वायरीको औपचारिक गठन हुन्छ ।’

सामान्यतयाः सेनामा कोर्ट अफ इन्क्वायरीले दुई महिनाभन्दा बढी लगाउँदैन । विशेष अवस्था र जटिल विषयमा बढी समय लाग्ने गरेको छ । स्रोत भन्छ ‘कुनै उजुरी पर्यो भने छानबिन,कोर्ट अफ इन्क्वायरी,पक्राउ,बयान अनि कोर्ट मार्शलको प्रक्रिया पूरा गरिन्छ ।’

जब सेनामा कोर्ट मार्शलको लागि सिफारिश हुन्छ त्यस्तो इन्क्वयारी र मार्शल विषय र तह हेरेर युनिट तहमै पनि गठन हुन्छ । कुनै गणमा केही घटना भएमा मेजरको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी र प्रमुख सेनानी तथा गणपतिको अध्यक्षतामा कोर्ट मार्शल गठन गरेर एकाध हप्तामा काम सकाउने गरिएको छ ।

तर,धेरै अनुसन्धान र सम्बन्धित मान्छेहरू झिकाएर बयान लिन परेको अवस्थामा भने समय बढी लाग्ने गरेको अनुभव एकजना सैनिक अधिकृतले व्यक्त गरेका छन् । उनका अनुसार सोधपुछ गर्नुपर्ने मान्छे विदेशमा छ भने पनि धेरै समय लाग्छ । अर्कोतर्फ सरुवा भएर अन्यत्र गएको छ भनेपनि तोकिएको समय भन्दा बढी लाग्छ । उपत्यकामा बोलाएर बयान लिन वा कोर्ट मार्शलमा उपस्थित गराउन नसकिएको अवस्थामा खामबन्दीबाट जवाफ वा भर्चुअल समेत लिने गरेको बताइन्छ ।

पहिले नेपाली सेनामा उजुरीको संख्या ह्वात्तै बढेको थियो । अहिले केही कमी देखिएको छ । त्यसले गर्दा उजुरी छानबिन गर्नैको लागि पर्याप्त समय लाग्ने गरेको छ । सकेसम्म छिटो टुंग्याउने भन्ने नीति छ ।

मानिसमा आएको चेतना, सेनाले अपनाएको सकारात्मक छानबिन पद्धतिले पनि अहिले सामान्य विषयमा उजुरी हाल्ने चलन घटेको सैनिक स्रोतको दाबी छ । स्रोत भन्छ ‘सच्चा गुनासोको सम्बोधन भएकाले उजुरीको संख्या घटेको हो । छिटो टुंग्याउने भन्ने नीति बनाइएको छ ।’

त्यसैअनुसार पंकज कार्कीको मुद्दा एक महिनामा टुंगिएको बताइन्छ । तर, उजुरीपछिको अनुसन्धान सिलसिला,उजुरीको विश्वसनीयता र छानबिनमा निकै समय लागेको थियो । कार्की विरुद्धको आधिकारिक प्रक्रिया भने एक महिनामा सकिएको हो ।

त्यसैगरी प्रयोग राणाको पनि तीन महिनामा सकिएको थियो । उनको केसमा पनि औपचारिक समय त्यत्ति नै लागेको बताइन्छ ।

टिप्पणीहरू