दीपाश्री र शिव श्रेष्ठहरूलाई नृत्य सिकाउनेको मरण गुमनाम

दीपाश्री र शिव श्रेष्ठहरूलाई नृत्य सिकाउनेको मरण गुमनाम

लगातार तीन घण्टा ७ मिनेट नृत्य गरेर राष्ट्रिय रेकर्ड बनाएका विराटनगरका नाट्य सम्राट् कामेश्वर झाको मृत्यु पनि गुमनाम भएको छ । नेपाल कला विकास परिषद् संस्थाका चर्चित नाटक निर्देशक उमाकान्त झाका छोरा विराटनगर निवासी कामेश्वर झाले आफ्नो सबै जीवन नृत्यमा अर्पण गरेर पनि कसैले सम्झना नगर्दा उनको मृत्यु गुमनाम बनेको हो ।

तीन वर्षपहिले झापाको दमकमा असाध्य रोगले गर्दा ७४ वर्षको उमेरमा नृत्य सम्राट् कामेश्वर झाको मृत्यु भएको थियो । तर सिंगो जीवन नै नृत्यमा खर्चेका उनको मृत्युबारे धेरैले खबर नै पाएनन् । पाउनेहरूले पनि मलामीसम्म जान चासो दिएनन् । त्यो बेला झापा दमकका प्रसिद्ध लोकगायक एलपी जोशीले उनको गुमनाम मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । दलित समुदायकी कान्छी श्रीमतीको घर (माइत) झापाको दमकमा रोगले थलिएर बस्दै आएका चर्चित नृत्यकार झाको मृत्यु भएको थियो । त्यो बेला उनको दाहसंस्कारमा मलामी जानेहरू माइती पक्षका मात्र थिए ।

०२४ सालमा भानु जयन्तीका अवसरमा लगातार ३ घण्टा ७ मिनेट नाचेर रेकर्ड बनाएका थिए कामेश्वरले । उनले बनाएको त्यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । आफ्नो सबै जीवन नृत्यमा समर्पण गरेका कामेश्वर क्लासिकल नृत्यका चर्चित र दक्ष नृत्य प्रशिक्षक पनि हुन् ।

विराटनगरमा विराटेश्वर नृत्य कलाकेन्द्र सञ्चालन गरेर कामेश्वरले हजारौँलाई नृत्य सिकाएका थिए । उनले नृत्य सिकाएका चेलाचेली राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रियस्तरमा समेत नाम चम्काउन सफल भएका छन् ।

नृत्यकार चतुर्भुज आशावादीका चेला कामेश्वरको मृत्युलाई न कसैले चर्चा गर्ने गरेका छन् न त उनको योगदानबारे कसैले केही स्मरण गराएका छन् । उनका सहकर्मी राष्ट्रिय सभाका पूर्वसांसद खेम नेपाली स्वर्गीय नृत्यकार कामेश्वर झा नृत्य क्षेत्रका सम्राट् नै भएकोले उनलाई समाजले सम्मान दिनु जायज हुने बताउँछन् । मोदनाथ प्रश्रित शिक्षामन्त्री भएको बेला नेपालीकै पहलमा कामेश्वरले २०५४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएका थिए ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाउन सफल कामेश्वरले गायक उदितनारायण झादेखि अभिनेत्री दीपाश्री निरौलासम्मलाई नृत्य सिकाएका थिए । उनका चेला साइमन राजवंशी अझै मुम्बईको फिल्मी क्षेत्रमा व्यस्त छन् । २०२३ सालदेखि कला क्षेत्रमा लागेका उनी मृत्यु नभएसम्म निरन्तर नृत्यको विकासमा लागिरहे । कामेश्वरले विराटनगरमा डान्स सेन्टर चलाइरहेका सागर साह, कलाकार केशव रायमाझी, नायक धीरेन शाक्य, शिव श्रेष्ठ, नायिका मौसमी मल्ल लगायतलाई नृत्य सिकाएका थिए ।

चार जनासँग विवाह, दलित श्रीमतीको घरमा मृत्यु

जीवनकालमा चार जनासँग विवाह गरेका कामेश्वरको मृत्यु भने परियार थरकी कान्छी श्रीमतीको घरमा तीन वर्षअघि झापाको दमकमा भएको थियो । उनले ०२५ सालमा दार्जिलिङकी अनु क्षेत्रीसँग विवाह गरेका थिए । तर, सन्तान नभएपछि सल्लाहमा ०२७ सालमा प्रमिला पोखरेलसँग दोस्रो विवाह गरे । तर, अनुसँग सम्बन्ध राम्रो हुन सकेन । त्यसपछि हेमा झासँग विवाह गरे र जीवन बिताए । तर, श्रीमती भए पनि उनले आफूसँगै नृत्य सिक्ने झापा दमककी छोरी समानकी परियार थरकी युवतीलाई श्रीमती बनाएर माइतमा राखे । दलित भएकाले त्यो सम्बन्ध भने बाहिर ल्याएनन् । तर, आफ्नो पारिवारिक जीवन राम्रो हुन नसकेपछि उनी अन्तिम समयमा तिनै परियार थरकी कान्छी श्रीमतीसँग झापामै गएर बसे । पक्षघातको बिरामीले लामो समय थलिए र झापा, दमकमै मृत्यु भयो ।

टिप्पणीहरू