दुई बर्ष सम्म तलब नपाएका पत्रकार भन्छन्, ‘बोल बोल माछा मुखभरी पानी’ भयो
नेपालका पत्रकारहरुलाई अहिले चुनावी चटारो छ । आफू आबद्ध संघ, संगठन र सञ्चार माध्यामको चर्चा सहित श्रमजीवी पत्रकारको हक, हितको पक्षमा लडाई गर्ने सबैजसोको चर्को चुनावी नारा छ । तर, रुकुम पश्चिमको एउटा सामुदायीक रेडियोमा कार्यरत १० जना कर्मचारीहरुले करिब २ बर्ष देखि तलब पाएका छैनन् ।
बिभिन्न निकायमा तलब दिलाई पाउँ भन्दै अनुनय विनय गरिरहेका उनिहरुको पक्षमा न पत्रकार महासंघ बोलेको छ नत बिभिन्न संघ संगठन नै । बरु सबै जसोले रेडियो छोडेर निस्किएका छन्, पत्रकारिताबाट पलायन हुने तरखरमा छन् ।
जनचेतनाका लागि ठुलिभेरी संचार केन्द्रद्वारा आठबिसकोट नगरपालिका वडा नम्वर ९ रुकुम पश्चिममा सञ्चालित रेडियो नयाँ नेपाल ९८.२ मेघाहर्जका १० जना कर्मचारीहरुले हालसम्म तलब बापतको लाखौ रकम पाएका छैनन् । सबै कर्मचारीको हातमा नियुक्ति पत्र छ, दैनिक हाजिरी विवरण छ, तर तलब पाएका छैनन् ।
रेडियो संचालक समितिसँग पटक पटक माग गर्दा पनि उल्टै वचन र धम्कि खेप्नु परेको उनिहरुको गुनासो छ । उनिहरुले आफुहरुलाई जालमा पारेर ठगिएको बताएका छन् । सामाजिक सञ्जालमा समेत कामको ज्याला नपाएको भन्दै उनिहरुले रेडियो सञ्चालक समिति प्रति आक्रोश व्यक्त गर्न थालेका छन् ।
प्राप्त जानकारी अनुसार, रेडियोको प्रबन्ध निर्देशक पदमा रहेर काम गरेका गणेश कुमार सिर्पालीले ६ लाख ६३ हजार ५ सय रकम पाँउन बाँकि रहेको छ भने कार्यक्रम संयोजकको जिम्मेवारीमा काम गरेका डिल्लीराज विश्कर्माले १ लाख ६२ हजार ६ सय रकम पाएका छैनन् । त्यसैगरी समाचार वाचिक हिरा परियारले २ लाख ९ हजार रकम पाँउन बाँकि रहेको छ भने प्राविधिक मोहन बुढाथोकिले २८ हजार रकम पाउन बाँकि छ ।
रेडियोको बजार व्यबस्थापक पदमा रहेर काम गरेका सत्य बटालाले १ लाख ४५ हजार रकम पाउन बाँकि छ भने प्राविधिक प्रमुख प्रकाश गौतमले १ लाख ४२ हजार ३ सय ६०, प्राविधिक सुनिल बिकले १ लाख ६ हजार, समाचार वाचिक कल्पना विकले ६० हजार ८ सय ५० रकम पाउन बाँकि छ । त्यसैगरी कार्यालय सहयोगी सीता शाहीले ८८ हजार ७ सय ४० र सुरक्षा गार्ड दलबहादुर बुढाले ५० हजार पारिश्रमिक पाएका छैनन् ।
बर्षौ सम्म तलबको लागि धाएका उनिहरु सबैले अहिले रेडियो छोडिसकेका छन् । तलबको लागि आवश्यक समन्वय गरिपाउँ भनेर नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौमा हालेको निवेदन उपर कोहि कसैले नबोलिदिएको गुनासो उनीहरुको रहेको छ ।
गत मंसिर १२ गते पाउनुपर्ने रकम खुलाएर पत्रकार महासंघमा निवेदन हालेको बुझिएको छ ।
त्यति मात्रै नभएर तलब पाईने आशामा आठबिसकोट नगरपालिकाको न्यायीक समितिमा मिति २०७७ मंसिर २३ गतेका दिन सयुक्त रुपमा निवेदन समेत पेश गरेको बुझिएको छ ।
न्यायीक समितिले रेडियो सञ्चालक समितिलाई छलफलका लागि बोलाउँदा पनि कसैलाई वास्ता नगरेको पीडित पत्रकाहरुको गुनासो रहेको छ । न्यायीक समितिमा उजुरी गर्दा समेत सुनुवाई उन्मुख नभएपछि उनीहरु अहिले ‘बोल बोल माछा मुखभरी पानी’को अवस्थामा रहेका छन् ।
पत्रकारहरुको हक, हित र श्रमजीवी पत्रकारहरुको पक्षमा नारा लगाएर मत माग्दै हिडेका पत्रकारका नेताहरु प्रति पनि उनीहरुको विश्वास घटेको छ । भन्छन्, ‘चुनावका नारा जस्ता बोके नि भयो, हाम्रो पक्षमा कोहिले बोलेनन् ।’
पत्रकारहरुकै संगठन पत्रकार महासंघ, बिभिन्न दल निकट संघ संगठनहरुले समेत आफूहरु यसरी ठगिदा पनि साथ नदिएको उहाँहरुको गुनासो रहेको छ ।
टिप्पणीहरू