सञ्चारमा भर्नुपर्ने सबै ठाउँ सकिए
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहतका निकायमा भर्तिको काम लगभग सकाएको छ । यसबीच कुनै पद खाली नभएपछि सरकार भर्तिको नयाँ ठाउँ खोज्दै हिँडेको बताइन्छ ।
हालैमात्र विज्ञापन बोर्डको अध्यक्षमा पत्रकार लक्ष्मण हुमागाईंलाई नियुक्त गरिएको छ । सञ्चार मन्त्रालयअन्तर्गतका सबै कार्यालय र निकायमा करारमा कार्यालय सहयोगीदेखि हल्कारा र चालकसम्म राख्ने प्रवन्ध मिलाइएको स्रोतको दाबी छ ।
हुलाक सेवा विभागअन्तर्गत ७७ वटै जिल्ला हुलाकमा रिक्त हल्कारा र हुलाकीमा भर्ना गर्न केन्द्रबाट व्यापक दबाब परेको हुलाक सेवा विभागको उच्च स्रोतले बताएको छ । स्रोत भन्छ ‘दरबन्दी रहेको तर कर्मचारी भर्ना नभएका सबै रिक्त ठाउँमा अस्थायी र करारमा पूर्ति गर्न व्यापक दबाब दिइएको छ ।’
यता,न्यूनतम पारिश्रमिक निर्धारण समिति,एनटीभी,रासस, गोरखापत्र,विज्ञापन बोर्ड सबैमा खाली ठाउँ भरिएको छ ।
सेक्युरिटी प्रिण्टिङ प्रेसमा पनि एकजना नयाँ सञ्चालक नियुक्त गरेको बताइएको छ । झापाकी राधा ज्ञवालीको कार्यकाल सकिएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । नियुक्त भएकाको विवरण सार्वजनिक गरिएको छैन ।
यसबीच सञ्चार मन्त्रालयमा केही सहसचिव सरुवा भएर आएका छन् । त्यसमध्ये शोभाकान्त पौडेल पनि हुन् । उनी अर्थ मन्त्रालय, आन्तरिक राजश्वबाट सरुवा भई आएका हुन् ।
त्यसैगरी गोगनबहादुर हमाललाई यातायातको डिजीबाट सूचना विभागको डिजीमा सरुवा गरिएको छ ।
टिप्पणीहरू