यता पनि सत्ता ढलाउने खेल शुरु

लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि हस्ताक्षर संकलन सुरु भएको छ । एमालेबाहेकका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका हुन् ।

स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरिसकेका छन् । जसपाका तीन जनाको मात्र बाँकी रहेको बताइएको छ । यसअघि गणितमा मात्र सीमित रहेको खेल सोमबारको प्रदेशसभा बैठककै बीचमा अविश्वास प्रस्ताव दर्ता गर्ने प्रक्रिया सुरु भएको हो ।

६जना प्रदेशसभा सदस्य रहेको जसपाको केन्द्रमा देखिएको विवादले प्रदेशमा पनि असर गरेको छ । स्रोतका अनुसार जसपाका ६ मध्ये बाँकी तीन जनाको पनि हस्ताक्षर गराउने प्रयास भइरहेको जसपाकै प्रदेशसभा सदस्यले बताए । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् ।

मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ । एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन् । माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थील ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् ।

एमालेकै माधव नेपाल समुहका प्रदेश सांसद बिष्णु पन्थी सँग यसबारे जिज्ञासा राख्दा पार्टिमा अन्तर संघर्ष चलेपनि अहिले हामि एमालेनै भएकाले संसदिय मुल्य मान्यता र पार्टिको निती बिपरित गएर काम नगर्ने बताएका छन् ।

 

टिप्पणीहरू