पुस्तान्तरण गर्ने होइन कमरेड ?
– विभूषण (रुकुमबाट)
अस्पतालको बेडमा पुग्दा पनि पद अँठ्याउने, बुढ्यौलीमा ट्याबलेट खाएर देश हाँक्ने, छेपारोले घोचो समाएझँै कुर्सीमा चिप्किरहने ठूलो रोग विद्यमान छ, हाम्रोमा । पुरानै सत्ता, उही विधि र प्रक्रिया, पुरानै अनुहारको नेतृत्व हेरेर नेपाली जनता वाक्क भएका छन् ।
मुलुकको सुन्दर र उज्ज्वल भविष्यका लागि सत्ता, पुस्ता र राजनीतिमा नवीन संस्कारको जरुरत देखा परेको छ । यथास्थितिवादी सोच र व्यवहारका कारण मुलुक विकास, समृद्धि, शान्ति, समानता, आत्मनिर्भर अर्थतन्त्र र स्वाधीनताको मार्गमा अगाडि बढ्ला कि भन्ने आशा गर्न छाडिसके, सपनाहरू देख्न छाडिसके जनताले । यसकै कारण आशालाग्दा, भरोसायोग्य, विश्वासिला युवा पंक्तिले सत्ताको नेत्तृत्व सम्हाल्ने अवसर पाउँदैनन् । उनै पुरानै, असफल, भ्रष्ट, दुर्गन्धित, स्वार्थी, अरबपति र खरबपतिहरू नै बारम्बार सत्ताको मियो समाउँछन् । पुरानो नेतृत्वको पुरानै सोच, चिन्तन, प्रवृत्ति र व्यवहारले वर्तमान आधुनिक र विकसित युगको माग र आवश्यकता, नागरिकको इच्छा र चाहना आवश्यकताअनुसार डेलिभरी दिन नसक्दा उनीहरूकै जुठोपिरो खाएर जीवन निर्वाह गरिरहेका अमुक मिडियाले जतिसुकै सेलिब्रेटी बनाउन खोजे पनि जनताको नजरमा उनीहरूको कारण आशा र उत्साह होइन, आशाविहीन र नैराश्यता प्रष्ट देख्न सकिन्छ ।
उल्लिखित विषय राष्ट्रिय चरित्रकै भए पनि विगतको सिंगो रुकुम हुँदै गर्दा राजतन्त्रदेखि नै क्षेत्र नं. २ र अहिले टुक्रिएको रुकुम (पश्चिम) को प्रतिनिधिसभा सदस्य हाम्रा नेता जनार्दन शर्मा ‘प्रभाकर’ को विषयमा केही बोलौं । हुनतः रुकुममा उहाँहरूविरुद्ध बोल्न प्रतिबन्ध नै छ र पनि एउटा झिनो दुस्साहसमार्फत रुकुमेली समग्र जनता र राजनीतिमा आफ्नो सम्पूर्ण जीवन सुम्पिएर पनि सत्तामा पुग्न नसकेको जनार्दनकै पुस्ता र विशेषतः राजनीतिमा तातेताते गरिरहेको दोस्रो र तेस्रो पुस्ताका सबै विचार र आस्थाका विद्यार्थीबीच तीतो सत्य पस्कने प्रयत्न गरेको छु ?
म यसरी चिन्छु जनार्दनलाई…
रुकुममा कम्युनिष्ट पार्टीका संस्थापकमध्ये स्कन्द शर्मा र नर्मदा शर्माका जेठा छोरा जनार्दनको जन्म २०२० सालमा भयो । उमेरको हिसाबले ५७ वर्ष पुगे । राजनीतिक यात्रा २०३४ सालबाटै शुरु भएको हो । ०४८ को संसदीय निर्वाचनमा रुकुम क्षेत्र नं २ बाट तत्कालीन जनमोर्चाको उम्मेदवार बने र अहिले पटक–पटक उनैले पराजित गरिरहेका नेपाली कांग्रेसका गोपालजीजंग शाहसँग हारे । त्यसपछि माओवादीको १० वर्षे जनयुद्धमा सहभागी बने । जनमुक्ति सेनाको प्लाटुन, बटालियन कमिसार हुँदै डेपुटी कमाण्डरको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरे । पहिलो खारा आक्रमणको पराजयले नैराश्यता छाएको बेला कालिकोटको पिलि आक्रमणको सहज विजय उनकै नेतृत्वमा भयो । त्यसपछि उनको थप उचाइ निर्माण भयो । तत्पश्चात् पहिलो संविधानसभा निर्वाचनमा विजयी भए । ०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री बने । ०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा ऊर्जामन्त्री बनेका शर्माले राम्रै चर्चा बटुले भने ०७४ सालमा देउवा नेतृत्वको सरकारमा गृह मन्त्रालयको समेत अनुभव लिए । त्यसअघि लेखा समितिको सभापति पनि भइसकेका हुन् । अहिले प्रतिनिधिसभा सदस्य र नेकपा स्थायी समितिको भूमिकामा छन् । तथापि, अनौपचारिक रूपमा उक्त पार्टी विभाजित छ ।
किन चाहियो पुस्तान्तरण ?
उनी उमेरले ५७ वर्षका भए । यो कोणबाट मात्रै हेरेर विषय बुझियो भने शर्माले पुस्तान्तरण गर्नुपर्ने भन्ने विषय अनौठो र हाँस्यास्पद लाग्न सक्छ । तर, उनी एक्लैले ३ पुस्ताको नेतृत्व गरिसकेको विषय स्मरण गराँै । ०४८ सालमा हाम्रो हजुरबाबाको पुस्ताले उनलाई मतदान ग¥यो । निरन्तर ०४८, ०६४, ०७० र ०७४ मा बुवाको पुस्ताले पनि मतदान ग¥यो र गरिरहेका छन् । ०७० र ०७४ मा हाम्रो अर्थात् तेस्रो पुस्ताले मतदान ग¥यो । यसरी हाम्रो हजुरबुबा, बुबा र हाम्रै पुस्ता गरी ३ वटा पुस्ताको नेतृत्व गर्नुपर्ने व्यक्ति एउटै हुनुपर्ने कि नेतृत्व हस्तान्तरण गर्नुपर्ने ? अझ यही पाराले उनलाई हाम्रो छोराको पुस्ताले समेत मतदान गर्नुपर्ने हुन्छ होला । दोस्रो विषय, उनले पाएको अवसर अधिक भइसक्यो । उनकै पुस्ताका, उनीसँगै त्याग, समर्पण र लगानी गरेकाहरूको अभाव छैन सायद । तेस्रो, उनको पार्टीभित्र र बाहिर यत्रतत्र दोस्रो–तेस्रो पुस्ताका युवा नेतृत्व सवल र सक्षम उन्मुख छन् । उनीहरूको नेतृत्व विकास, क्षमताको प्रयोग र चक्रीय नेतृत्व प्रणालीको विकासका लागि समेत पुस्तान्तरण आवश्यक छ । उनीनिकटको युवा पुस्ता हाम्रो पालो कहिले आउला र भन्दै समात्दै गरेको यथार्थता जनार्दनले ख्याल गरिदिनुपर्छ । अझ योभन्दा महŒवपूर्ण विषय युवाहरूको जोश, जाँगर, ऊर्जा, विचार र क्षमताको उचित प्रयोगले मात्रै वर्तमान समयमा युग सुहाउँदो विकास र समृद्धि प्राप्त गर्न सकिन्छ । प्रतिभाशाली युवाहरूले राजनीतिक नेतृत्व सम्हाले मात्रै भोलि हुन सक्ने राजनीतिक संकटबाट मुलुक बच्न सक्छ ।
उदाहरणीय हुने मौका
जनार्दन शर्माहरू अहिले पार्टीमा बूढा, पुरानालाई साइड लगाएर आफ्नो पुस्ताले नेतृत्व गर्नुपर्नेमा कतै न कतै सहमत छन् । एउटै व्यक्ति र तरिकाले फरक परिणामको आशा गर्नु मूर्खता हो, पागलपन हो । यो कुरा जनार्दनले राम्रै आकलन गरेका छन् । झण्डै रुकुमको राजनीतिमा ३० वर्ष (शान्ति प्रकियाका करिब १५ वर्ष) मियो बनेर रहेका शर्माले अहिलेसम्म जति गरे त्यसको सम्मान नै गर्नुपर्छ । तर, अहिलेको भन्दा भिन्न, पृथक्, अग्रगमन, न्याय, सच्चाइ र रूपान्तरणको दिशामा अगाडि बढ्ने हो भने युवाहरूले नेतृत्व लिनै पर्छ । मबाहेक अरूको विकल्प छैन भन्ने सोच जनार्दनले पालिरहने हो भने विस्तरामा थला परुन्जेलसम्म गोपालजी जंग शाहले कांग्रेसको नेतृत्व गरेपछि अहिले कार्यकर्ता हुँदा पनि नेतृत्व नभएको रुकुम कांग्रेसजस्तै हालत कम्युनिष्टको हुने पक्का छ । उनको पार्टीभित्र रहेका इमानदार, सक्षम, योग्य र क्षमतावान कार्यकर्ता स्वविवेकले आत्मनिर्णय गर्न सक्ने बन्नुपर्छ । हरकोहीलाई पद, प्रतिष्ठा, पहुँच र पावरमा रहिराख्न मन पर्छ साथै त्यसको ताबेदारी र चाकरी गरे रोजिरोटी मिल्ने लालसा पनि कतिपयलाई हुन्छ । तर, भोलिका सन्तती र राष्ट्रको भविष्यका निम्ति चाकरी, चाप्लुसीभन्दा माथि उठेर स–साना समस्या, स्वार्थहरूमाथि बज्रप्रहार गरेर र अहिले सत्ताको दाउपेच गर्न सक्ने ल्याकत भएकाको वरिपरि भए मात्रै आफ्नो राजनीतिक, आर्थिक भविष्य सुरक्षित ठान्ने परनिर्भर मानसिकतालाई त्यागेर रुकुमेली युवाले इतिहासमा आफ्नो कामलाई दर्ज गराउन आवश्यक छ ।
कुनै बेला गोपालजीजंग शाहको पछाडि लाग्ने भीड पनि कम थिएन । सल्ले एयरपोर्टमा उनी ओर्लंदा फूलमाला र अबिर जात्रा सयौँको लस्कर हुन्थ्यो ? झोला बोक्नेहरूको भीड हुन्थ्यो । अहिले शर्मा रुकुममा आउँदा लाग्ने ताँती पनि सत्ताको वरिपरि रहदाँसम्म, जुठोपिरो पाउने लालसा भएकाहरूकै हो । आजसम्म भएका कुनै पनि शासकले आजीवन आफ्नो अवसान नहुने भ्रममा बाँचिरहेका हुन्छन् । कुनै समय भुरे र टाकुरे राजा हुँदा उनीहरूकै जयजय हुन्थ्यो । कुनै बेला गोपाल र अहिले जनार्दनको हुन्छ । भोलि अरु कसैको होला । सत्ता, शक्ति, पैसा र पावर भन्ने चिज कहिल्यै एउटाको काबुमा रहिरहन सम्भव छैन । पुरानोको अवसान, नयाँको उत्पत्ति र विकास हुने विज्ञानको अकाट्य नियम हो । त्यसैले जनार्दन शर्माजस्तो चतुर, साहसी र नाम चलेको नेताले पार्टीमा र देशमै यो थिति बसाउने पात्र पनि बन्नुपर्छ । ताकि रुकुमले मात्र होइन सारा मुलुकले सवल नेतृत्व, पुस्तान्तरण, असल अभिभावकको उदाहरणमा जुगौँ जनार्दनको स्मरण गरुन् ।
टिप्पणीहरू