बूढाखाडा कमरेडहरूको बाटो बन्द
प्रधानमन्त्री केपी शर्मा ओलीको मनले चिताएको कुरो पुग्यो भने एमालेको मंसिरमा हुने भनिएको दशौँ महाधिवेशनबाट बिना प्रतिद्वन्द्वी उहाँ ताली बजाएरै अध्यक्ष बन्नलाई मार्गप्रशस्त भएको छ ।
परिस्थितिले तत्काल चुनाव हुने लक्षण त देखिँदैन तर भैहालेमा र अँकगणितले साथ दिएमा पुनः प्रधानमन्त्री पनि बन्नुहुनेछ । यद्यपि त्यो चुनावमा एमाले एक्लैको बहुमत आउने सम्भावना भने पातलो देखिन्छ । विश्लेषकहरू भन्छन्, ‘अब कुनै पनि हालतमा एउटा पार्टीको बहुमत आउँदैन ।’ उनीहरूको जिकिर छ, ‘हिजो दुईवटा पार्टी मिलेर उठ्दा त बल्लतल्ल १७४ सिट जितेको अवस्थामा अब छ थरि भएर उठ्दा एउटाको मनचिन्ते झोली भरिन गाह्रो छ ।’
एमालेभित्र बढ्दै गएको तिक्तताका कारण आगामी चुनावबाट केपी ओलीबाहेक पहिलो पुस्ताका सबैले विश्राम लिनुपर्ने अवस्था सिर्जना हुने खतरा छ । ओलीले परिस्थिति आफूबाहेक कोही पनि नजित्नेतर्फ केन्द्रित गराइराख्नुभएको छ । यस्तोमा माधव, झलनाथ, वामदेव, ईश्वर, सुवास, प्रदीप, शंकर, पृथ्वीसुब्बा, किरणको पुस्ता नै बढारिने एक थरीको दाबी छ । हिजोझैँ मिलेर गएको भए केही वर्ष अहिलेकै पुस्ताले शासन सत्ता चलाउनेमा कुनै द्विविधा थिएन तर आगामी चुनावदेखि त्यो सम्भावना टर्न सक्छ ।
बरु नेपाली काँग्रेसको तर्फबाट रामचन्द्र, शेखर, सशांक, अर्जुननर्सिङ, रामशरण, कृष्ण सिटौला,गोपालमानसहितको अलि पुरानो पुस्ताले जित्न मुस्किल नहुने राजनीतिक विश्लेषकहरूको दाबी छ । विगतमा गिरिजाप्रसाद कोइरालाजस्तै कमाण्डिङ नेतृत्व अहिले काँग्रेसमा भैदिएको भए कम्युनिष्टहरू फुटेको यो बेला चुनावअगावै सबैले हावाकावा खाइसक्थे । तर, सभापति शेरबहादुर देउवाको पानीमरुवा पाराले काँग्रेस झन् अप्ठेरोमा परेको बताइन्छ ।
एमालेभित्रको झगडाले पार्टीभित्र ‘बा’ को गुड बुकमा नपर्ने दोस्रो पुस्ता पनि प्यानलमै नपरी अधिवेशनबाट बिदा हुने खतरा छ । त्यसो त ओलीले बिधान सँशोधन गरिवरी भएभरका आफ्ना लाइक माइण्डेडहरूलाई केन्द्रीय कमिटीमा समेट्न पनि सक्नुहुन्छ । कम्युनिष्ट आन्दोलनमा दशकौंदेखि लागेकामध्ये केही जुझारु र सिर्जनशीललाई अहिलेको अवस्थाले राजनीतिमा नसोचेको पतन र पुनरुत्थानको गैह्रकम्युनिस्ट कल्चर पनि सिकाउने पक्का छ । त्यसपछि मुलुक, जनता र पार्टीप्रतिको इमान्दारिता, बफादारिता र योगदानको नयाँ परिभाषा शुरु हुनेछ ।
तुलनात्मक रूपमा पुरानो पुस्ताले मनग्गे खर्च र दौडधुप गर्न नसकेपछि चुनावमा स्वतः बढारिनुको विकल्प हुँदैन । अहिलेको परिस्थिति र माहौलले निर्वाचनमा एमालेका नेता तथा कार्यकर्ताबीच आफैँमा काटाकाट निम्त्याउने छ । पहिलो त टिकट लिन महाभारत, त्यसमाथि बियर, मासु र तेलबिना पाइलो नसार्ने युवा पंक्ति परिचालननिम्ति पैसो जुटाउन संकट । त्यसले पनि धेरैलाई एकै खेपमा सिध्याउनेछ । त्यस्तो अवस्थामा आउने नयाँ नेतृत्व सिद्धान्त, वामपन्थी भावना, संस्कार र विचारले लैस पुस्ता हुनेछैन । विगतमा जस्तो कम्युुनिष्ट सिद्धान्तले लैस र फलामे अनुशासन पालना गरेको पुस्ताको पनि अब पार्टीमा खडेरी पर्नेछ ।
आगामी दिनको राजनीतिमा सिद्धान्तको कुनै अर्थ नहुने देखिन थालिसकेको छ । जे गरेपनि चुनावी राजनीतिमा पकड राख्नेको मात्रै बोलवाला हुनेछ । एमालेभित्र समेत कमरेडलाई विस्थापन गरेर बा, आमा, दिदी, भिनाजु शब्दले महत्व पाउने छ ।
पेशामा ढुंगा, गिटी, बालुवा र क्रसर उद्योगले नै पहिलो स्थान लिनेछ भने सिद्धान्तले ओतप्रोत साथीभाइ र कार्यकर्ताको घेरोमा अब नेता आउनासाथ एस्कर्टिङ्गमा दौडने मुन्द्रे र चुल्ठेहरू हावी हुनेछन् ।
टिप्पणीहरू