झिल्टुङे जालीझेली र विद्रोह
– नारायण नेपाल
विश्वप्रसिद्ध रुसी साहित्यकार मेक्सिम गोर्कीले आफ्नो कथामा बूढी पात्रमार्फत भनेका थिए, ‘बितेका जुग–जमानाको खोजतलासी गरे तिमीहरूले जिन्दगीका सार–समस्याका समाधान फेला पार्न सक्छौ । तर, खोजतलासी गर्दैनौ, त्यहीँ त तिमीहरू मूर्ख छौ ।’ तर गोर्कीले भनेजस्तो मूर्ख होइन कि, बितेका कथा उतार्न अलि मूर्ख भएरै लाग्दैछु ।
जानु छ पिपलघारी
स्वर्गको सानो फूलबारी
कुञ्जिनी खण्डकाव्य (२००२)को यो हरफ पढ्दा र झिल्टुङ गाउँ नियाल्दा कहिलेकाहीँ देवकोटाले मामा–ससुरालीको मानमा कालोमार्सीको भात, काली भैँसीको दूध, घ्यु र पिपलको हावा खाँदै त्यो चौतारोमा पल्टिएर अनुभूत गरेको स्वर्गको फूलबारी मात्रै नहोलाजस्तो लाग्छ यो गाउँका कथाहरू । देवकोटा गाउँको ससुराली आएका थिए । उनका लागि सुसारे राखे मामा–ससुरालीले, त्यही सुसारे छत्र भुजेललाई मूलपात्र बनाएर कुञ्जिनी लेखे । लाहुरे सपना र अमर प्रेमको हत्याको कथामा कुञ्जिनीको विरह बोले । नेपालमा जहाँनियाँ राणाशासनविरुद्ध विद्रोहको चेत पलाउँदै गर्दा प्रजातन्त्र आएको थियो । काजी ललितजंग भण्डारी प्रजातन्त्रको झण्डा बोकेर खडा भएका थिए । गाउँलेले प्रजातन्त्रको भेउ उति पाएका थिएनन् र पनि दंग थिए । हाम्रा गाउँलेहरूले बोलाउने उनको नाम थियो– ‘०१७ साले’ । झिल्टुङ गाउँकोमाथि चिलाउने खर्क भन्ने गाउँमा बस्थे । गाउँमा नाम कमाएका झाँक्री थिए । उनी अरु काँग्रेसलाई हप्काउँदा बाँचुन्जेल म ०१७ साले हुँ भन्ने रवाफ राख्थे । उनको त्यो शान खनायोबास किसान विद्रोहले जन्माएको थियो । विद्रोहपछि कब्जा भएका सुनजति ललितमान घलेले लिए । तामाजति अमृतमानको घरमा थुप्रो लगाइए, अनि यी र यस्तै योद्धाहरूचाहिँ सामल बोकेर घर फर्किए । आज अयोग्य बिल्ला भिरेका माओवादी लडाकु छापामार जस्तो खाली हात ।
पञ्चायती अँध्यारोमा प्रजातन्त्रको उज्यालो किरण खोज्ने एक पात्रको लेखिएको इतिहास भेटेको थिएँ । पुस्तकको नाम ‘मेरो समय’ रहेछ । लेखक थिए किशोर नेपाल । उनी मेरो बा पुस्ताका थिए । एकै दौँतर भएपनि उनीचाहिँ गाउँका नम्बरी पण्डित गाइने पण्डितका सन्तान परे, संगत, साइनो, सम्बन्ध आदिले अक्षर चिन्ने अवसर पाए । दुःख, कष्ट झेलेर दाम त के–कसो छ कुन्नी ? तर आज देश–विदेश नाम कमाएका छन् । उनले भोगेको त्यो महाभारतमय जिन्दगीमा एक मार्मिक अनुभूति थियो त्यो लेखाई । ‘एक दिन म जेलरको अफिसमा बसिरहेको बेला ढोकामा बसेको चपटेले चिठी ल्याएर दियो । जेलरले खाम हेर्यो र बिना सेन्सर दिँदै भने, ल पढनुहोस् तपाईंको मामाको चिठ्ठी, शायद खाममा लेखिएको ७४ अंकलाई हेरेर नै उनले चिठ्ठीको व्यहोरा बुझिसकेका थिए । मैले चिठ्ठी खोलेर हेरेँ । लेखिएको थियो, भाञ्जाबाबु राजाको र देउताको विरोधमा लाग्ने मान्छे कहिल्यै उँभो लाग्दैन । तपाईंको यो दुष्कृत्यले तपाईंतर्फका सात पुस्ता र मेरातर्फका सातपुस्ता पितृलाई नरकमा धकेल्ने काम गरेको छ । तपाईंले पढेका सबै विद्या कुकुर्नीको कण्डामा गएछ । तपाईंकी आमा पनि कुलको कुनै मर्यादाको परवाह नगरी अर्काको कमारो लाग्न गएकी छन् । यस्ता मानिसहरूसँगको संसर्गले मात्र पनि नरकको बास हुन्छ । – उही कंश मामा कृष्ण ।’
राजनीतिमा लाग्दा, समकालीन समाज व्यवस्थाविरुद्ध विद्रोहीचेत बोक्दा आफन्तहरूबाट भावनात्मक सम्बन्धविच्छेद र शासकको नजरमा देशद्रोही बन्दा कस्ता–कस्ता अपमानहरू सहनुपर्छ भन्ने एक चित्र नियाल्ने सानो किस्सा मात्रै थियो उनले पोखेका शब्दका अंशहरूमा । गाइने पण्डितबाले धुलौटो कोरेर ज्योतिषशास्त्र हेरी घडी, पला तोकेर गाउँमा जन्माउनपर्छ भन्दै गर्भवती श्रीमती बोकेर गाउँ लगेका थिए । गाउँबाट बसाईं सर्नेहरूको आँशुको कथा र पीडाको व्यथा सुन्न तराई मधेश चितवनसम्म झर्नुपर्छ र चौतारीमा सुस्ताउँदै दुःखको पोका फुकाउन ती बाहरूको मन बहकाउनुपर्छ । पञ्चायतमा रूपचन्द्रको विद्रोही आह्वानको जगजगी थियो । पञ्चायत उदाएपछि पनि नअस्ताएको त्यो विद्रोही चेतको भूत लाग्ने मान्छे पनि थिए यो गाउँमा । यो पाखोमा छ, एक बरपानी धारो । त्यो डबलीको उत्तरतर्फको गाउँमा हो । त्यही धाराछेउ थिए विद्रोही चेत बोक्ने मान्छेहरू । रूपचन्द्रको विद्रोही चेत थियो देशमा तर यहाँ गाउँले उपमा दिँदै उसलाई न्वारन गरे गाउँलेहरूले– ऊ भयो सानो रूपचन्द्र । ऊ थाहा लेख्दै चेतनाको बिउ रोप्दै थियो, यही बस्तीमा । के भयो ? किन भयो ? कसले गर्यो ? थाहा पाउनुपर्छ भन्दै थियो । जालीहरूले गरेको जाल, गरिबले थाहा पाए, झेलीले गरेको झेल निमुखाले थाहा पाए, गाउँमा ठालुहरूको हैकम कहाँ चल्छ र ? त्यही भएर होला यो गाउँबाट सानु रूपचन्द्र पलायन भयो । तर, किन भएँ म पलायन यो गाउँबाट ? भनेर आजसम्म उसलेचाहिँ थाहा पायो कि छैन होला ? जिज्ञासा अझै छ ।
वास्तविक नाम थियो उनको छविलाल अगस्ती । नामीको लेखनदास । बूढाले एकपटक जाली तमसुक लेखेछन् । दुई तमसुक एकैपटक एकै मितिको लेखेर दिएपछि गाउँलेले सास्ती पाउने र अड्डा धाउने नै भए । त्यसपछि अड्डाले एकदिन लेखनदासलाई पनि बोलाएछ । उनी अड्डामा गएपछि, के हो एकै मितिमा दुईथरी तमसुक ? तिम्रो हात कलम गर्दिऊँ ? भनेर हाकिमले हप्काउँदा टाप ठोकेका थिए रे !
एकदिन गाउँमा पुलिस एकजना मान्छे खोज्दै आएको रहेछ, उनले त्यही मान्छेलाई ल ल बाबु त्यही मान्छे बोलाएर ल्याऊ त भन्दै उसैलाई पठाएछन् र पुलिसलाई प्रतिक्षामा राखेछन् । न बोलाउन जाने आयो, न बोलाउन पर्ने नै । अनि त पुलिस जिल्लै । उनले पुलिस झुक्याएका मान्छे, पुलिसकै आँखा अघिबाट भगाए । यो त उनले सुनाएका जालझेलका किस्सा न थिए, नसुनाएका कथा कति होलान् ! उनको जाली तमसुकले हैरानी र सास्ती खेप्नेका कथाहरू त कति चितामा जले होलान् यो बेलासम्म । कति ओछ्यानमा थला परे होलान् ? कतिका विस्मृतिहरू मेटिँदै गए होलान् ? पहल गरे एक दुई किस्सा भेटिएला कि जिउँदो प्रमाण ! न्यायको लागि गरे कि सत्यको लागि गरे तर मरेको गरिबको न्यायको तराजु उनले बुढेसकालमा तौलिन्छन् होला कि नाईं ? यही गाउँको माटोमा हो बाहुनले हलो जोतेर विद्रोह थालेको । तिनै बाहुनहरूको भात पानी बहिष्कारको राजनीतिले समाज थलथलियो । राजनीतिको अस्त्र बनाए सबैले ती हलो जोत्ने किसानहरूलाई । तर यी अगस्ती बा भने किरा परेको माटोमा फलेका फसल खानेहरूको बुद्धिमा पनि किरा परेको हुन्छ भन्दै बसाईं हानिएछन् गाउँबाटै । यो बेला हेटौँडा बजारमा गुजारा गरेर बसेका छन् । झिल्टुङे जालीझेली र विद्रोहको बाँकी श्रृंखला अर्को बसाइमा ।
टिप्पणीहरू