७५ करोडको जागिर छाडेर दम्पत्ति नै सन्यासी

७५ करोडको जागिर छाडेर दम्पत्ति नै सन्यासी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको भाषामा भन्ने हो भने धन,सम्पत्ति सबै हातका मैला हुन् । भारतका एकजना धनाढ्यले उनै देवकोटाको उक्तिलाई पछ्याएका छन् ।

रिलायन्स इन्डष्ट्रिजका मालिक तथा विश्वकै डलर अर्बपतिमध्येका एक मुकेश अम्बानीको दाहिने हात भनेर चिनिएका प्रकाश साहले सबै सुख सयलको मोह त्यागेर सन्यासी जीवन बिताउन थालेका छन् । अम्बानी रिलायन्सका अध्यक्ष हुन् भने साह उपाध्यक्ष थिए ।

तर आइतबार महावीर जयन्तीको अवसरमा उनै साह र उनकी श्रीमती नैना साहले जैन धर्म अंगाल्दै गुरुबाट सन्यासीको दीक्षा लिएका छन् । दीक्षा लिएपछि व्यवहारतः उनीहरूले सन्यासी जीवन बिताउन थालेका छन् ।

४० वर्षअघि केमिकल इन्जिनियरिङमा स्नातक गरेपछि प्रकाशले आईआईटी मुम्बईबाट स्नातकोत्तर गरेका थिए । लामो समय रिलायन्समा करियर बनाएका उनी गत वर्षदेखि त्यहिँको उपाध्यक्ष बनेका थिए । उनको वार्षिक तलब,भत्ता र सुविधा भारु.७५ करोड थियो ।

श्रीमती नैना पनि वाणिज्यमा स्नातक छन् । स्रोतका अनुसार साह दम्पत्तिले एक वर्षअगावै दीक्षा ग्रहण गरेर सन्यासी बन्ने चाहना राखेका थिए । कोरोना महामारीको कारण गत वर्ष सम्भव नभएपछि एक वर्ष पछाडि धकेलिएको हो ।

दीक्षा लिएपछि,जैन भिक्षुहरूले सबै सांसारिक सुख,सयलहरू छाड्ने गरेका छन् । उनीहरू एकसरो लुगा र नाङ्गो गोडामा यात्रा गर्छन् । उनीहरूले भिक्षामा प्राप्त हुने खानेकुरा मात्र खान्छन् ।

यद्यपि साह परिवारमा पारिवारिक सुखसयललाई चटक्कै छाड्ने प्रकाश र नैना पहिलो व्यक्ति होइनन् । ती दम्पत्तिका दुई छोरामध्ये एकले लगभग सात वर्षअघि नै त्यस्तै सन्यासीको दीक्षा लिइसकेका छन् । उनी पनि आईआईटी मुम्बईबाट इन्जिनियरिङमा स्नातक थिए ।

टिप्पणीहरू