आईसीयु र भेण्टिलेटर : सुगममा अभाव, दुर्गममा बिजोग
कोरोनोको दोस्रो लहरले आक्रान्त पार्न थालेपछि सर्वत्र अक्सिजन, आईसीयु र भेण्टिलेटरको माग बढेको छ । शहरी क्षेत्रका अधिकांश अस्पताल संक्रमितले भरिएका छन् । कतिपय त्यसैको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् ।
तर, बझाङ जिल्ला अस्पतालमा कोभिडलाई लक्षित गरि गत वर्ष जडान गरिएका आईसियु र भेण्टिलेटर दक्ष जनशक्तिको अभावमा ठप्प छन् ।
अस्पतालमा रहेको तर सञ्चालनमा ल्याउन नसकिएको आईसीयु तथा भेण्टिलेटरका कारण संक्रमितको अस्पतालमै ज्यान जान थालेको डा. योगेन्द्र खातीले बताउनुभएको छ । खातीका अनुसार सामान्य अवस्थाका संक्रमितहरूलाई उपचार गरिए पनि जटिल अवस्थाका संक्रमितको संख्या बढ्न थालेपछि अवस्था गम्भिर बन्दै गएको छ ।
बिहीबार मात्रै अस्पतालमा उपचार गराइरहेका एक जना संक्रमितको अवस्था गम्भिर बनेपछि धनगढी पठाउन खोजिएको थियो । तर, धनगढी पठाउन नसकिने भएपछि ती बिरामीलाई दक्ष जनशक्तिको अभावमा आईसीयु र भेण्टिलेटर सेवा प्रदान गर्न नसकिएको बताइएको छ । डा खातीले आईसीयु र भेण्टिलेटर व्यवस्थापनको निम्ति अनुरोध गरेपनि हालसम्म त्यसतर्फ कुनै प्रगति नभएको गुनासो समेत पोख्नुभएको छ । आईसियु र भेण्टिलेटर सेवा नहुँदा यसबीचमा दुई जनाले ज्यान गुमाइसकेका छन् ।
अस्पतालमा ८ जना जटिल अवस्थाका संक्रमित उपचारार्थ भर्ना भएका छन् । तर, जिल्ला बाहिरका अस्पतालमा रिफर गर्न खोज्दा सबै बिरामीले भरिएका हुँदा त्यता समेत लैजानसक्ने अवस्था नरहेको बताइन्छ । आईसीयु र भेण्टिेलटर सञ्चालनको निम्ति जनशक्ति पूर्ति गर्न विज्ञापन गरिए पनि दुर्गम जिल्ला भन्दै कसैले आवेदन नगरेको दुःखेसो डा. खातीले गर्नुभएको छ ।
यसबारे प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा बिहीबारबाट स्थानीय निकायको सहयोगमा पीसीआर परीक्षण हुन थालेको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफूहरूले कैयौँ पहल गरे पनि सरकारले जनशक्ति नखटाएको बताउँदै दुर्गम क्षेत्र भनेर डाक्टरहरू समेत धेरै समय नबस्ने उहाँको गुनासो छ । आईसीयु र भेण्टिेलटर सञ्चालनबारे उहाँले खासै प्रतिक्रिय दिनुभएन ।
टिप्पणीहरू