महामारीको चुनौती र लाचार शासक

महामारीको चुनौती र लाचार शासक

एक वर्षभन्दा बढी समय थलिएर बल्ल पाइला सार्न मात्र खोजिएको थियो,एकाएक पाइला फेरि पछाडि धकेलिएको छ । मानिस पोकापन्तरा तथा झिटिझ्याम्टासहित लावालस्कार लागेर आ–आफ्नो गन्तव्यतिर फर्कन विवश छन् । जताततै डरत्रास फैलिएको छ । गाउँ,शहर सुनसान हुन थालेको छ । मान्छेसँग मान्छे त्रसित बन्दैछ । हिजो हात मिलाउँदै अंकमाल गर्नेहरू टाढैबाट नमस्कार गर्न बाध्य छन् । आफन्त,साथीभाइ भेट्दा पनि तर्किएर हिंड्नुपर्ने अवस्था आइलागेको छ । यो कुनै काल्पनिक कहानी नभएर कोरोना महामारीको दोश्रो लहरका कारण आममानिसले भोग्नुपरेको वास्तविक पीडा हो ।

वैज्ञानिकले आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको समूहलाई कोरोनाभाइरस नामकरण गरेका छन् । यसको बाहिरी रुप श्रीपेचको जस्तो हुन्छ । सन् २०१९ को अन्त्यतिर छिमेकी राष्ट्र चीनको वुहान प्रान्तनजिकै पशुपंक्षी बजारमा यसको पहिलो लक्षण देखा परेको थियो । हाल यो भाइरस विश्वलाई चुनौती दिँदै संसारभर महामारीको रुपमा फैलिरहेको छ । दैनिक हजारौँको ज्यान लिइरहेको छ । सानो ठूलो, धनी,गरिब कसैलाई नछोड्ने यो भाइरसबाट बच्नका लागि मानिसलाई धौ–धौ परेको छ । लाखौं लाख मानिस प्रतिदिन संक्रमित बनिरहेका छन् । धेरैको घरपरिवारलाई बिचल्ली बनाएको छ । स्वदेशदेखि विदेशसम्म मानिस यस भाइरसबाट आक्रान्त बनेका छन् । व्यापार व्यवसाय ठप्प छ । आम्दानीको श्रोत बन्द हुँदा धेरैलाई जीविकोपार्जन गर्नसमेत समस्या भएको छ ।

“संघीय संसदको सचिवालयमै संसदका आफन्तको लागि भ्याक्सिन अभाव भयो भनेर रडाको मच्चिने देशमा गरिव जनताबारे कसले बोल्ने ?”

नेपालमा २०७६ सालको अन्तिमतिरबाट कोरोना भाइरसको संक्रमण देखा परेको हो । छिमेकी राष्ट्र भारतलगायत अन्य मुलुकमा कोरोनाले तहसनहस बनाउँदासम्म पनि नेपालले कोरोना रोकथाम कसरी गर्न सकिन्छ भनेर खासै चासो देखाएको थिएन । राज्यको सम्बन्धित निकायले समेत भाइरसबारे स्पष्ट धारणा बनाएको होइन । ‘कोरोना केही हैन, साधारण भाइरस हो’ भन्ने शासकहरूको अभिव्यक्ति र आमव्यवहारले क्रमशः नेपालमा संक्रमण फैलिँदै जान थाल्यो । जब फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक युवतीमा कोरोनाको लक्षण देखा पर्यो तब नेपाल सरकार तथा सम्बन्धित निकाय मस्त निद्राबाट ब्युँझिए । त्यसपछि विस्तारै अन्य व्यक्तिमा पनि भाइरसको संक्रमण देखिन थालेपछि २०७७ चैत १० गतेदेखि लागू हुनेगरी निषेधाज्ञाको घोषणा गरियो ।

हतारमा गरिएको निषेधाज्ञाको कारण धेरै मानिसले दुःख झेल्नुपर्यो । शुरुमा एक हप्ताका लागि गरिएको निषेधाज्ञा हप्ता, १५ दिन हुँदै महिनौसम्म निरन्तर थपियो । शुरुको केही समय धैर्य गरे पनि महिनौँ लामो निषेधाज्ञा थपिन थालेपछि मानिस हिडेरै गाउँ फर्किन बाध्य भए । विकल्पबिना अचानक गरिएको निषेधाज्ञाका कारण मानिस बीचैमा अलपत्र परे। महिनौँसम्म उद्योगधन्दा, कलकारखाना,व्यापार व्यवसाय बन्द हुँदा धेरैलाई जीवनयापनका लागि कठिनाइ भएको थियो भने मुलुकको अर्थतन्त्रसमेत धराशायी बनेको थियो । दिनभरि मजदुरी गरेर बिहान–बेलुकी छाक टार्नुपर्नेहरूका लागि राज्यले कुनै ठोस योजना ल्याउन सकेन । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरूलाई रोगभन्दा बढी भोकको चिन्ता हुन पुग्यो । यो त भयो गत वर्षको कोराना भाइरस र निषेधाज्ञाले जनजीवनमा पारेको असर ।

अहिले फेरि कोरोना भाइरसको दोश्रो लहर फैलिएको छ । नयाँ भेरियन्टसहित अहिलेको भाइरस धेरै संक्रामक भएको र लक्षण पहिलाको भन्दा केही फरक रहेको विज्ञहरूको भनाइ छ । ज्वरो आउने,थकाइ लाग्ने,खोकी लागेर सास फेर्न गाह्रो हुने,मांसपेशी दुख्ने यसका मुख्य लक्षण हुन् । यस्तो लक्षण देखा परेमा चिकित्सकको परामर्श लिएर सतर्कता अपनाए यो भाइरसबाट बच्न सकिने पनि विज्ञहरू बताउँछन् । भाइरसविरुद्धको भ्याक्सिन विभिन्न देशले उत्पादन तथा परीक्षण गर्न शुरु गरे पनि यसको निवारणको लागि अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन । मास्क लगाउँदा नाक र मुख छोपिए पनि पूरै अनुहार नछोपिने हुँदा नाक र मुखभन्दा अन्य भागबाट भाइरस शरीरभित्र पस्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले मास्कको प्रयोगसँगै नियमित साबुनपानीले हात धुनु नै यो भाइरसबाट बच्ने भरपर्दो उपाय भएको बताएको छ ।

यो भाइरसको संक्रमणबाट नेपालमा थुप्रै मानिसको मृत्यु भइसकेको छ । गत वर्षको तुलनामा यस वर्ष संक्रमणदर पनि उच्च छ । छिमेकी देश भारतमा कोरोनाको दोश्रो भेरियन्टको प्रकोप बढेको केही समयपछि नेपालमा पनि प्रकोप देखा परेको हो । यसको संक्रमण बढेसँगै मृत्युदर पनि तीव्र रुपमा बढेको छ भने दैनिक सयभन्दा बढी मानिसको संक्रमणका कारण मृत्यु भइरहेको छ । संक्रमण र मृत्युदरलाई ध्यानमा राख्दै भाइरस रोकथाम गर्न वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि जारी छ । एक हप्ताका लागि भनेर शुरु गरिएको निषेधाज्ञा निरन्तर थपिँदै लगिएको छ । यो कहिलेसम्म निरन्तर जाने हो कुनै समयसीमा छैन ।

मनाङ,खोटाङ र तेह्रथुमबाहेक अन्य सबै जिल्लामा निषेधाज्ञा लगाइएको छ । तैपनि संक्रमण दरमा कुनै कमि आएको छैन। संक्रमणदर बृद्धि भएसँगै अस्पतालहरू संक्रमितले भरिभराउ छन् । अस्पतालमा अक्सिजन,भेन्टिलेटर र बेडको अभाव छ । कतिपय अस्पतालले बिरामीलाई भुइँमै राखेर उपचार गरिरहेका छन् । कतै स्वास्थ्य उपकरण नभएर संक्रमितको उपचार हुन सकेको छैन । अस्पतालले स्वस्थ्य उपकरण अभावमा उपचार गर्न नसकिने बताइरहँदा नेपाल सरकार तथा सम्बन्धित निकाय भने संक्रमणको उपचारका लागि कुनै कुराको अभाव नभएको खोक्रो भाषण दिइरहेका छन् ।

राज्य सञ्चालकहरू देश र जनताप्रति जिम्मेवार छैनन् भन्ने आम गुनासो बढेको छ । राजनीतिक दलका नेता देश र जनताप्रति हैन पद सुरक्षाको जोडघटाउमा कम्मर कसेर लागेका छन् । तसर्थ राज्यले संक्रमणबाट बचाउने उपायको खोजी गर्छ कि भन्ने आशामा हैन आफ्नो सुरक्षा आफैँले कसरी गर्न सकिन्छ भन्ने खोजी गर्न आवश्यक छ । उपचारमा संलग्न चिकित्सकसमेत संक्रमित भएर ज्यान गुमाइरहेका बेला स्वास्थ्य सतर्कता अपनाउनुको विकल्प छैन । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडोस एडहासेभ गेहव्रेयससले समेत नेपाल संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् ।

संघीय संसदको सचिवालयमै संसदका आफन्तका लागि भ्याक्सिन अभाव भयो भनेर रडाको मच्चिने देशमा गरिव जनताबारे कसले बोल्ने ? राजनीतिक किचलोमा रत्यौली खेल्ने नेतृत्वकर्तालाई जनताबारे सोच्ने फुर्सद कहिले मिल्छ र ? के जनताबाट निर्वाचित नेतालाई जनताले यस्तै अपेक्षा राखेर भोट दिएका थिए ? अब जनता आफैंले प्रश्न उठाउने बेला भएको छ ।

गत वर्षको संक्रमण,निषेधाज्ञा र जनताले भोगेको पीडाबाट राज्य सन्चालकहरूले किन पाठ सिक्न सकेनन् ? ’बेसार पानी पिउने, हाछ्युँ साछ्युँ गर्ने,कोरोना भगाउने’ प्रधानमन्त्रीको अघिल्लो वर्षको उपचार सूत्र यसपटक “बेलौतीको पात पानीमा उमालेर पिउने,कोरोना चैट’ मा पुगेको छ । ०७२ सालको महामारी भूकम्पमा घरवारविहीन भएका नेपाली जनता भरखरै तंग्रिएर पाइला सार्दै गर्दा महामारी भाइरसको बज्रपात भएको छ । यो बेला राज्यको सबै अस्त्र प्रयोग गरेर जनतालाई बचाउनु राज्यको जिम्मेवारी हुनुपर्छ । यस्तो बेला राज्य जिम्मेवार भएर सम्पूर्ण शक्ति महामारीविरुद्ध लगाउन आवश्यक छ । उपचारका लागि आवश्यक सामग्रीमा कालाबजारी गर्नेमाथि कडा कारबाही गरिनुपर्छ । देश तथा विदेशमा रहेका आफ्ना जनतालाई सहयोगको लागि राज्यले आह्वान गर्नुपर्छ ।

यो सामग्री तयार पार्दासम्म विश्वमा १६ करोड ७० लाख ५४ हजार ३७२ मानिस संक्रमित भएका छन् भने ३४ लाख ६८ हजार ८१८ जनाको मृत्यु भैसकेको छ । उपचारपछि निको हुनेको संख्या १४ करोड ८० लाख २३ हजार ५८५ छ । एक करोड ५५ लाख ६१ हजार ९६९ जना अझै उपचार गराई रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारीअनुसार हालसम्म नेपालमा पाच लाख पाच हजार ६४३ जना संक्रमित भएका छन् । जसमध्ये तीन लाख ३८ हजार ६८४ जना उपचारपछि निको भएर सामान्य जीवनशैलीमा फर्किसकेका छन् । हालसम्म यो भाइरसबाट छ हजार १५३ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकले देखाएको छ । एक लाख १५ हजार ८०६ जना अझै उपचाररत रहेका छन् भने यो भाइरसबाट संक्रमण हुनेको संख्या बढदो छ ।

संक्रमण अझै बढ्दो दरमा फैलिएकाले राज्य,सम्बन्धित निकाय र आम जनता मिलेर महामारीविरुद्ध लड्नुको विकल्प छैन । यस भाइरसबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने,सकेसम्म घर बाहिर ननिस्कने,निस्किनै परे अनिवार्य मास्क लगाउने,नियमित साबुन पानीले हात धुने,संक्रमित व्यक्तिबाट टाढै बस्ने,दुई मीटरको दूरी कायम गर्ने,भीडभाडमा नजाने,खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्यू पेपरले मुख छोप्नेजस्ता विधि अपनाएमा सुरक्षित रहन सकिन्छ । आफू सुरक्षित रहने र अरुलाई सुरक्षित रहन आग्रह गर्नु नै यो भाइरसबाट बच्ने मुख्य उपाय हो । आफू बाँचौ र अरुलाई बचाऊ यसैमा हाम्रो जित हुनेछ । यस भाइरसबाट ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली, संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना !

टिप्पणीहरू