बहिनीले किन त्यसरी बाटो बिराइन् ?

‘अमेरिकाबाट आएकी छोरी सोझै अदालत’ शीर्षकमा गतसाता प्रकाशित समाचारमा उल्लेखित ‘छोरा’ हामी नै हौँ । बुबा पूर्वयातायात सचिव मुक्तिप्रसाद र आमा कृष्णदेवी काफ्लेको निधन भएपछि हाम्री बहिनी आरती अधिकारीले आफ्नो नाममा आउनुपर्ने बैंकमा रहेको रकम र अंशबण्डा हुँदा जिउनी बापतको पाँच लाखमा दावी गरेकी छन् ।

बहिनी पनि हामीजस्तै बुबा–आमाकी सन्तान हुन् । उनले मागे पनि, नमागे पनि हामीले बहिनीका नाताले र बुबा–आमाको छोरीका नाताले दिनुपर्ने कुराहरु, गर्नुपर्ने सबै कर्तव्य गर्नैपर्छ । हामी त्यसो गर्न तत्पर छौँ । तर, उनी एकाएक अदालत गइन् । घरमै सोधखोज गरेर पाइने रकमहरु बैंक–बैंकमा पुगेर सोधखोज गर्न थालिन् । अनि, नितान्तै घरायसी मामिलालाई मिडियाबाजी गराएर समाजमा अनावश्यक चासोको विषय बनाइन् । उनले हक खोज्न पाउने कानुनी अधिकारको हामी सम्मान गर्छौं । नखोसिएको वा हरण नगरिएको अधिकार खोज्न अदालत गइरहनुपर्ने थिएन । तसर्थ, उक्त समाचार पढ्ने पाठकहरुलाई हामी स्पष्ट पार्न चाहन्छौँ कि, मुद्दामा भनिएजस्तो वा समाजमा चर्चामा ल्याइएजस्तो स्थिति होइन ।

हामीले बहिनीलाई बुबाको पैसाबाट २५–३० लाख दिन्छौँ भनेका हौँ । उनी अमेरिकामै बसिन् । त्यसबेला नेपाल आएको भए दिइन्थ्यो । त्यसमाथि २५–३० लाख नभएर समस्यामा पर्ने पनि हैनन्, आफैँमा अर्बपति हुन् । त्यसमाथि उनको मुद्दा नै न्याय, कानुनसंगत छैन । तर, यसो भनेर हामीले आफ्नी चेलीलाई बेवास्ता गर्ने, दिनुपर्ने हक–अधिकार नदिने भन्ने कुरा रहँदैन । उनी हरेक बैंक–बैंकमा गएर म्यानेजरहरुलाई तर्साउने गर्न थालिन् । बैंकहरुले ३५ दिने म्याद निकालेपछि मेरो र भाइको नाममा रहेको खातामा पैसा हालिदियो । फेरि बैंकहरुमा झगडा गर्न गइन् । हाम्रो व्यक्तिगत खाता पनि रोक्का छ । मैले वकिल राखेँ ।

उनले बुबा–आमालाई हेरेँ भनेकी छन् । आफ्ना बुबा–आमालाई कसले हेर्दैन र ? तर, उनी आफैँ हजुरआमा भएर अमेरिकामा बसेकी छन्, ३५ वर्षदेखि । दोहोरो नागरिकता छ । आफैँ अर्बपति छन् । बुबाले दिनुपर्ने जति दिइसक्नुभएको थियो । त्यसमा पनि केही छैन, अझै ६ महिनाको काम बाँकी छ, वर्षान्त बाँकी छ । मैले भनेँ, ‘तिमीहरु पुच्छर हल्लाएर अमेरिका गइहाल्छौ । गर्ने छोरा त मैँ हुँ । भाइ पनि अष्ट्रेलिया गइहाल्छ । सम्पत्ति भनेर ऊ बसेको छैन ।’ तर, उनलाई दिन्छु भन्दा पनि अदालत जाुनपर्ने बाध्यता मीरा ढुंगानासहितका महिला अभियन्ताले सिर्जना गराएको सुन्नमा आएको छ । मीराजीहरुले अपुताली हक स्थापित गर्छु भन्दा हामी पीडित भएका छौँ ।

– क्याप्टेन शेखर काफ्ले (बुद्ध एयर), ताहाचल, काठमाडौं

टिप्पणीहरू