अनुभवको अभिव्यक्ति
प्रधानमन्त्री पुष्पकमल दाहाल भर्खरै युएईबाट फर्कनुभएको छ । उहाँ अस्ति अचानकै जानुभयो । कार्यक्रम त एक दिनको थियो । तर पूरा चार दिन बस्नुभयो । युएईमा कार्यरत नेपाली समुदायसँग पनि कुराकानी गर्नुभयो । त्यस्तै एउटा कुराकानीमा भन्नुभयो, ‘नेपालको विकासको लागि विदेशको अनुभव र पुँजी अत्यन्त आवश्यक छ ।’
उहाँको कुरालाई कति जना नेपालीले गहनतापूर्वक लिए त्यो त थाहा हुन सकेन । तर, उहाँले जे भन्नुभयो, त्यो भने सतप्रतिशत सही कुरा हो । नेपालको विकासमा विदेशको के–के कुरा आवश्यक छ । उहाँभन्दा बढी अरू कसलाई थाहा होला ? नेपालमा बाटो बनाउन, पुल बनाउन मात्र होइन सरकार बनाउनसमेत विदेशको सहयोग नलिई हुँदैन । यो कुरा उहाँलाई अत्यन्तै राम्ररी थाहा छ ।
विदेशको सहयोग भएको सरकार र विदेशको सहयोग नभएको सरकारबीच कस्तो भिन्नता हुँदो रहेछ, त्यो त उहाँले भोगिरहनुभएको छ । नेपालमा सरकार बनाउन, सरकार टिकाउन र अरूको सरकार भए भत्काउन पनि विदेशकै सहयोग चाहिन्छ । त्यसैले युएईमा उहाँले विदेशी सहयोगबारे जे बोल्नुभयो त्यो पूरापूर अनुभवमा आधारित अभिव्यक्ति हो । यसलाई ख्यालठट्टा नठानौं है !
टिप्पणीहरू