सिट एक, पार्टी दुई
बहुदलीय व्यवस्थामा दल टुक्रिनु र जोड्नु कुनै नयाँ कुरा होइन । यो त भइरहन्छ । एक दल टुक्रिएर दुई, दुई दल टुक्रिएर चार भएर न बहुदल हुन्छ । नभए कसरी बहुदल हुन्छ ? सायद त्यही बहुदलको इज्जत राख्न होला, अहिले संसद्मा भएका सियोजस्ता साना दलसमेत फुटेर दुइटा भइरहेका छन् । अरू त अरू जाबो एउटा सांसद भएको दलसमेत टुक्रिएर दुइटा भएका छन् । सांसद एउटा, दल भने दुइटा !
प्यारमा जाति, धर्म, उमेर हेरिँदैन भनिएझैँ दल टुक्र्याउन पनि त्यस्तो केही नहेरिने रहेछ । स्थिति यस्तोसम्म भइसकेको छ कि उमेरले ८० कटिसकेका वृद्ध सांसदसमेत पार्टी टुक्र्याएर नयाँ पार्टी गठन गरिरहेका छन् । त्यस्ता वृद्धलाई सरकारले वृद्ध भत्ताको व्यवस्था गरेकै छ । तर, मानिसलाई वृद्ध भत्ताभन्दा पनि संसद् भत्ता प्यारो भएपछि कसको के लाग्छ ? पदको लोभ कति डरलाग्दो हुन्छ यसैबाट थाहा हुन्छ । संसार छाड्ने वेला भइसक्दा पनि मानिस पद छाड्न तयार हुँदैनन् । के गर्ने, मानिसलाई देश र जनताको चिन्ताले यति बेस्कन च्याप्न थाल्छ कि ब्रह्मनालमा पुगिसक्दा पनि ‘एक पटक कुर्सीमा बसेर राष्ट्र बचाउन पाए हुन्थ्यो’ भन्ने अन्तिम इच्छा व्यक्त गरिरहेका हुन्छन् । धन्य धन्य कुर्सी !
टिप्पणीहरू