यही बेला उनी दिल्लीतिर

यसपालि २६ जनवरीको ६८आंै गणतन्त्र दिवसमा भारतीय राजदूत रञ्जित रेले उभिएर पाहुनाको स्वागत गरेनन् न त बिदाइ नै गरे । अनि ‘र’ का प्रमुख विवेक जोहरी पनि समारोहमा देखा परेनन् । किन यस्तो भयो भने एक जना ३ हप्तापछि बिदाइको मुडमा छन् भने अर्काचाहिँ रिपोर्टिङको लागि दिल्ली पुगेका छन् । अनि नयाँ राजदूतमा प्रस्तावित छन्, अझै दक्षिणतिरका मान्छे । यस्ता मान्छेको दृष्टिकोण बिहार र उत्तर प्रदेशको भन्दा अलि फरक हुन्छ । नेपालसँग यी दुई प्रदेशका मान्छेको रोटी–बेटीको सम्बन्ध छ ।

मधेसी दललाई यही कुराको पिरलो छ– अब आउनेले हामीलाई कसरी बुझ्ने हुन् । कस्तो व्यवहार गर्ने हुन् ! तर विदेशसचिव एस. जयशंकरको कार्यकाल एक वर्ष थपिएको र राजदूत फेरिँदैमा नीतिगत भिन्नता नहुने भनेर तिनलाई थामथुम पार्ने काम यसबीच भएको छ । मधेसी मोर्चा एकमतसाथ संविधान संशोधनको मामिलामा प्रस्तुत हुन नसक्नुको चुरो कुरा पनि अर्कै छ । उपेन्द्र यादव विशुद्ध मधेसी माग उठाउनुभन्दा जातीय मुद्दामा आफ्नो भविष्य सुरक्षित देख्दैछन् । सितिमिति उनी अहिलेको संशोधन प्रस्तावप्रति सहमत हुने छाँट छैन ।

तमलोपाका महन्थ ठाकुर र हृदयेश त्रिपाठी पनि अतिरञ्जित नबनौं । यथास्थितिमा भए पनि जाऊँ, नत्र संशोधन पास हुन असम्भव हुने भो भन्ने निश्कर्षमा पुगेका छन् । सद्भावनावाला राजेन्द्र महतो कम्तीमा ५ वटा जिल्लाको समस्यालाई संबोधन गरेर वैवाहिक अंगीकृत महिलालाई ठूलो पदमा जाने ढोका खुलोस् भन्ने पक्षमा देखिन्छन् । उता, भारतचाहिँ मधेसी दलको अर्घेल्याइँका कारण तीन ठूला दल चुनाव घोषणामा लागे भने अप्ठ्यारोमा परिन्छ कि भन्नेमा चिन्तित छ । उसले विषयवस्तुभन्दा परिणाम खोजेको बुझ्न सकिन्छ । उसलाई अहिलेकै अवस्थामा संविधान संशोधन भए पुग्छ ।
 

टिप्पणीहरू