नेता–कार्यकर्ताबाटै म्याग्दीका सहकारी गर्ल्यामगुर्लुम
क्यान्सरपीडित अदालतकी कर्मचारीकै कन्तबिजोग

मुलुकभरका सहकारीमा व्यापक आर्थिक समस्या देखिएको छ । एकपछि अर्को सहकारी समस्याग्रस्त बन्दै धमाधम बन्द हुँदै छ । सञ्चालनमा रहेकाले पनि बचत फिर्ता गर्न सकिरहेका छैनन् । नाम चलेका र ठूलो पूँजी भएकै सहकारीको समेत हाल बेहाल छ । दर्जनौं सञ्चालक रकम अपचलनको आरोपमा जेल चलान भएका छन् । देशैभरि ३५ हजारभन्दा बढी सहकारी दर्ता छन् । जथाभावी लगानी र नियमनको अभावले ती संस्था डुबेको प्रष्टै छ । दलगत रूपमा सञ्चालन हुँदा पनि बचतकर्ताको पैसा जोखिममा छ ।
सहकारीको रकम हिनामिना आरोपमा रास्वपाकै सभापति रवि लामिछाने अदालतको चक्कर काटिरहेका छन् । पूर्वसांसद इच्छाराज तामाङ जेल बसेको वर्षाैं भयो । कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता तथा प्रतिनिधि सभाको सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेललगायत पनि सहकारी काण्डमा जोडिएका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली जेल सजायँँ काटिरहेका छन् ।
यसबीच, म्याग्दीको अधिकांश सहकारी डुबाउने खेलमा पनि दलकै नेता–कार्यकर्ताको हात देखिएको छ । यतिसम्म कि, राजनीतिक पहुँच देखाउँदै बचतकर्ताको पासबुकसमेत खोसेर लगेका छन् । प्रहरीमा उजुरी दिन पनि रोक छ ।
बेनी नगरपालिका–८, संगमचोकस्थित सिद्धिविनायक सहकारी संस्था लिमिटेडले पासबुक खोसेर लगेको पाइएको छ । उक्त सहकारीमा करोडौं अपचलन भएको छ । सहकारीका अध्यक्ष भरत रकाल कांग्रेसको जिल्ला सचिव हुन् । बचतकर्ता मधु सुवेदीका अनुसार उनले ‘पैसा फिर्ता गर्ने’ आश्वासन दिँदै श्रीमान्बाट पासबुक लगेका हुन् । मधुले पटकपटक पासबुक फिर्ता मागिसकेकी छन् । तर, ‘तिमीहरूको प्रमाण मसँग छ, जेसुकै गर’ भनेर धम्क्याउने गरिएको उनी बताउँछिन् । स्तनको क्यान्सरबाट पीडित मधु म्याग्दी जिल्ला अदालतमा कार्यरत छिन् । उनी उपचारका लागि अस्पताल भर्ना भएको मौका छोपेर सहकारीको टोलीले श्रीमान्बाट पासबुक लिएर गएको हो । पासबुक लगेको थाहा पाएपछि झसंग हुँदै फिर्ता मागिन् । तर, उल्टै थर्काएपछि मधु जिल्ला प्रहरी कार्यालय, म्याग्दी पुगेकी छन् ।
भन्छिन्, ‘मलाई स्तन क्यान्सर छ । जँचाउन भारत गइरहनुपर्छ । ठूलो खर्च लाग्छ । एकदमै धेरै गाह्रो छ, पैसा दिए केही राहत हुनेथियो ।’ उनका अनुसार सो सहकारी पुरानो छोडेर नयाँ भवनमा सरेको छ । हाल एउटा कोठामा सामान थुपारेर सहकारी चलाइरहेको उनले जानकारी दिइन् । सहकारीले अन्यको पनि पासबुक लगेको बुझिएको छ । सचिव रकालले भने पासबुक लगेको आरोप निराधार भएको बताए । आफूहरूले किस्ताबन्दीमा रकम फिर्ता गरिरहेको उनको भनाइ छ । अब ७०–८० लाख मात्र फस्र्याेट हुन बाँकी रहेको उनले बताए ।
अस्ति मात्र सहकारी रजिष्ट्रारको कार्यालयबाट प्रतिनिधिहरू अनुगमन गरेर जानुभएको छ । प्रहरीले बोलाउनुहुन्छ, हामी गएर जवाफ दिन्छौं । तीन–चार करोड तिर्नुपर्नेमा अब ७०–८० लाख मात्र फस्र्याेट हुन बाँकी छ ।’
बेनीकै अर्काे सहकारी कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष यामबहादुर रोका फरार छन् । मंगला गाउँपालिका–३ को वडाध्यक्षसमेत रहेका उनी सहकारी ठगीको आरोपमा उजुरी दर्ता भएपछि भागेका हुन् । म्याग्दी जिल्ला अदालतले फरार सूचीमा राखेको छ । यता, जिल्ला समन्वय समिति (जिसस) का अध्यक्ष राजकुमार थापासहित पाँच जना सोही सहकारी ठगी गरेबापत थुनामा छन् ।
थापा एमालेबाट जिसस प्रमुखमा निर्वाचित भएका हुन् । उक्त सहकारीका १९ जना फरार छन् । सो सहकारीलाई प्रहरीले सिल गरेको छ । सहकारीको डेढ अर्ब रूपैयाँ हिनामिना भएको छ । सञ्चालकहरूले सहकारीबाट शून्य ब्याजदरमा बिना धितो रकम निकालेर विद्यालय, जग्गामा लगानी गरेको सरोकारवाला निकायको भनाइ छ ।
चार हजार ३८६ बचतकर्ता रहेको सहकारीमा चार सय १८ जना सेयर सदस्य मात्रै छन् । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उनी बेपत्ता भएको डेढ महिना भइसकेको बताए । भन्छन्, ‘सहकारी ठगीको आरोपमा उजुरी दर्ता भएपछि उहाँ फरार हुनुभएको छ । वडासदस्य भेषकुमारी पुनलाई कार्यवाहकको जिम्मेवारी दिएका छौं ।’
बेनीको न्युरोडमा केन्द्रीय कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि ठूलै चलखेल भएको पाइएको छ । सहकारीमा ६ हजारभन्दा बढी सदस्य छन् । बचतकर्ताको पैसाले निर्माण भएको भवन केही सञ्चालकले कब्जामा लिएको स्रोत बताउँछ । सञ्चालकहरूले कम्पनी खडा गरेर त्यसैका नाममा भवन राखेको स्रोतको भनाइ छ ।
सञ्चालक तथा अडिटर रामजीप्रसाद सुवेदीले सहकारीको भवन नै नभएको दाबी गरे । भाडाको भवनमा सञ्चालन भइरहेको उनको ठोकुवा छ । सहकारीको भनिएको भवन ट्राभल्सको भएको उनी बताउँछन् । ‘तपाईंले भन्नुभएको ट्राभल्सको भवन होला । त्यसमा केही सहकारी सञ्चालक र बाहिरका व्यक्तिको लगानी छ । तर, त्यो सहकारीको चाहिँ होइन’, सुवेदीले जनआस्थासँग भने । बचतकर्ताको बिचल्ली बनाउने अर्को सहकारी हो, कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । यो पनि बेनीमै छ । परिवारजनले मिलेर बचतकर्ताको बचत अपचलन गरेको खुलेको छ । नक्कली कागजात बनाएर सहकारीका अध्यक्ष राजेश शाक्यले श्रीमती, दाजु, दुई जना दिदी, भतिजका नाममा ४७ करोड ९९ लाख २९ हजार ३८ रूपैयाँ ऋण लगेको देखिएको छ ।
सहकारीबाट कर्जा लिनका लागि अनिवार्य धितो राख्नुपर्छ । तर, आफू अध्यक्ष भएको फाइदा उठाउँदै शाक्यले बिना धितो सारा परिवारजनको नाममा ऋण निकालेका हुन् । त्यो फिर्ता तिर्न आनाकानी गर्दा एक हजार बढी बचतकर्ताको बिल्लीबाठ भएको छ । यता, बचत अपचलन गर्नेमाथि छानबिन गर्न उदासिनता देखाइएको छ । न रकम फिर्ता दिलाउन सरोकारवालाले पहल नै गरेको छ । सहकारीले ऋण उठाउन पनि चासो देखाएको छैन । माइन्युट गर्ने सचिव विनय श्रेष्ठले ऋण लगेका छन् तर चुक्ता गरेका छैनन् । सचिव श्रेष्ठले थोरै रकम मात्र चुक्ता गर्न बाँकी रहेको बताए । सबै सञ्चालक सहकारीको समस्या समाधानतर्फ उन्मुख रहेको उनको जिकिर छ ।
भन्छन्, ‘मैले धितो राखेर ऋण लिएको हुँ । धेरै चुक्ता गरिसकें, अब केही मात्र बाँकी छ । हामीले सानालाई रकम फिर्ता गरिरहेका छौं । ठूलाको हकमा विस्तारै दिने योजना छ । सबै सञ्चालक मिलेर सहकारीको समस्या समाधानतर्फ कस्सिएका छौं । अध्यक्षज्यूले पनि मिलाइरहनुभएको छ ।’ यता, उद्योग वाणिज्य संघ, म्याग्दीको अध्यक्षसमेत रहेका सहकारी सहसचिव सुविन श्रेष्ठले एकाध दिनमा साधारण सभा गरिने जानकारी दिए । अहिले तिर्नुपर्ने रकममा धेरै फस्र्याेट भइसकेको उनको भनाइ छ । आफ्नै पैसा पनि सहकारीमा फसेको उनले बताए ।
‘हामी पछि आएको सञ्चालक पर्यौँ । सहकारीको अवस्था के थियो, थाहा भएन । आफ्नो पनि पैसा परेको छ । सञ्चालक भएकाले तत्काल त आउँदैन । एकाध दिनमा साधारण सभा हुन्छ । केही रकम घटिसकेको छ, अरूपनि घटाउने क्रममा छौं’, उनले भने ।
टिप्पणीहरू