कहाँ कमल, कहाँ अहिलेका नेता

कहाँ कमल, कहाँ अहिलेका नेता

कमल कोइराला र मेरो करिब ७० वर्षदेखिको मित्रता हो । जेल पनि सँगै पर्‍यौँँ २०१२ सालमा । लामो समयसम्म हाम्रो मित्रतामा कुनै समस्या आएन । कमलका बुबा प्रधानमन्त्री र मेरो बुवा गृहमन्त्री हुनुहुन्थ्यो । त्योबेला हामी जनअधिकार फोरमबाट विरोधमा थियौँ । सरकारले जारी गरेको निषेधाज्ञा तोड्ने क्रममा पक्राउ परेका हौं । ऊ विराटनगर र म उपत्यकाबाट राजनीतिमा होमिएका थियौँ ।

ऊ बाहिर गयो २०१७ सालपछि । कमल बनारसमा रहँदा–बस्दा पनि म भेट्ने गर्थें । त्यहाँबाट फर्केर आएपछि यहाँ नियमित भेट भइराख्थ्यो । घटना हुनुभन्दा ६ दिनअगाडि मेरोमा आएको थियो । मैले बाटोसम्म पुर्‍याएँ । एक्लै यसरी नआऊ । फोन गर, त्यसैमा बोलौँला, तिमी पनि बूढो भयौ, रोग छ, गाह्रो हुन्छ भनेँ मैले । ऊ किशोरको जन्म दिनमा जनआस्था कार्यालय गएर आएको रहेछ । उसलाई रोगले च्याप्दै लगेको थियो । हेरविचारमा पनि कमि भयो होला । समयमा खाना र औषधि खानुपर्ने मान्छे तर हिँड्न र लेख्न नछोड्ने । 

उसको एक मात्र छोरा र बुहारी अमेरिकामै डाक्टरी गर्ने । यहाँ छोरी–ज्वाइँसँग थियो । श्रीमती धेरै वर्ष पहिला बिते पनि अर्को बिहे गरेन । ऊ नियमित पत्रिकामा लेखेरै बाँचेको मान्छे । मान्छे साथीमा पनि असल साथी । इमान्दार र देशभक्त । पार्टी एकै नभए पनि धेरै कुरा मिल्थ्यो हामीबीच । पार्टीभित्र पनि स्वभाव बेग्लै थियो । अन्य राजनीतिज्ञजस्तो पद र पैसाको लोभी कहिल्यै भएन ।

मनमोहनको नेतृत्व हुँदा पोलिटब्युरोसम्म पुगेको हो । पछि एमालेको सेन्ट्रल कमिटीमा ल्याए । तर, पार्टीभित्र उसले कहिल्यै हानथाप गरेर पद लिएन । यसकै कारण ऊ जहिले पनि पछाडि परेको हो । पछि उसलाई दक्षिण कोरियाको राजदूतसम्म बनाएर पठाए । तर, उसलाई मन्त्री हुने, पद खाने वा के हुने भन्ने कुनै पनि महत्वाकांक्षा थिएन । उसको इमान्दारी र देशभक्ति सुहाउने खालको पार्टी भएन । पछि पार्टीमा निश्क्रिय पनि रह्यो । राम्रो ठाउँमा टिकट पनि दिएनन् । 

हामी नख्खु जेलमा करिब ६ महिना सँगै थियौँ । जहाँ डा. राजेन्द्र, रूपचन्द्र बिष्ट, रामनरेशलगायत अरु धेरै कम्युनिष्टहरू थिए । हामीलाई पैसा दिन्थ्यो जेलमा दिनको तीन मोहर । दुई मुठा दाउरा । चिनी ल्याउन पैसा पाइन्थ्यो । राममणि दाइ मेसमा हुनुहुन्थ्यो । हामीले त्यो पैसा मेसमा दिएर त्यसले बिहान नुनचिया र दिउँसो नास्ता टथ्र्यो ।

नख्खु जेलमा बसेका बेलाको आइजिपी कमलको बाउको मित रहेछ । उसलाई छोडाउन आयो । उसले आइजिपीलाई नख्खुको पुलमा भेट्यो । हामी दुवै जना जाऊँ भनेर म पनि गएको थिएँ । उसले आइजिपीलाई म अरु सबैलाई छोडेर एक्लै जान्नँ । कि सबैलाई छोडिदेऊ नत्र म साथीहरुसँगै बस्छु भन्यो । यसैबाट पनि ऊ कति इमान्दार र निश्वार्थ थियो भन्ने बुझिन्छ । चाहेको भए ऊ निस्कन सक्थ्यो ।

मसँग धेरै मिल्ने साथीमध्ये ऊ र राजेन्द्र हो । राजेन्द्र अमेरिकामै सेटल भयो । त्यतिखेर जेल पर्नेमध्ये कमल र म मात्रै जुनियर थियौँ । त्यो बेला कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध थियो । त्यसकारण जनअधिकार फोरमबाट निषेधाज्ञा तोडेपछि जेल पुगेका हौँ । साउथ कोरिया जाने विषयमा पनि उसले भन्थ्यो– मैले केही मागिनँ, पार्टीले जाऊ भनी कर गरेकाले मात्रै गएको हो ।

एउटा कोठाबाट अर्को कोठामा जान पाइला सार्न गाह्रो हुन्थ्यो तर ऊ नहिँडी बस्न नसक्ने । केही दिनअघि मेरो आउँदा आज पनि हिँडेर आयौ ? भनें । उसले होइन, आर्टिकलको हजार रूपैयाँ आएको थियो, पठाओ गरेर आएँ भन्थ्यो । यसरी ऊ अहिलेसम्म पनि लेखिरहन्थ्यो । 

ऊ एकदमै सम्झनयोग्य मान्छे । यस्तो मान्छे कुनै पार्टीमा छैन । उसको उद्देश्य त थियो होला नि केही परिवर्तन गरीदेखाउने । तर, खराब कुरा स्विकारेर ऊ पार्टीमा बसिरहन चाहेन । उसको स्वभावसँग मिल्न सक्ने मान्छे पनि पार्टीमा कोही भएन । कसैलाई केही नभन्ने, पीर नमान्ने गर्दा उसलाई सबैले मन पराउँथे । तर, उसले राजनीतिक रूपमा जुन योगदान गरेको छ त्योअनुसार उसलाई स्थान दिइएन । देशका लागि केही गर्ने अवसर नै दिइएन । 

बहुदल आएपछि कमल नेपाल फर्किएर पत्रकारितामा आएको हो । दृष्टिमा सम्पादक भएर किशोर, शम्भु, प्रदीपसँग काम गरिरह्यो । अहिले पनि उसका लेख पढ्यौँ भने देशका विषय नै हुन्छन् । उसले किशोरलाई सबैभन्दा धेरै विश्वास गर्ने । किशोरले पनि उसलाई उस्तै माया गर्ने । म त कमललाई किशोरले जति माया सायद कसैले गर्दैनथ्यो कि भन्छु । यो कुरा अस्ति बित्नुभन्दा पहिले उसले छोरीलाई आफूले लेखी तयार भएकोे आत्मकथा किशोरलाई दिनु भनेबाट पनि पुष्टि हुन्छ । यहाँ त देशभक्ति पनि ठूलो रिसको कुरा हुन्छ । कमलले विदेशी गतिविधिका कुरा पनि खुलेर लेख्थ्यो । मैले यस्तो नलेख रिक्स हुन्छ भन्दा देशको विषयमा त लेख्ने हो भन्थ्यो, जसरी नि मरेरै जाने हो । देखेको कुरा लेख्ने हो भन्थ्यो । यस्तो मान्छेले दुःखमा बाँच्नुपर्छ । न पैसाको लोभ, न पदको लोभ । त्यसैले उसले अभाव पनि झेलेर बाँच्यो । 

टिप्पणीहरू