म प्रधानमन्त्री हुँदा

भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि पुस्तक निस्कियो । नाम हो– म प्रधानमन्त्री हुँदा । अर्थात् उहाँ प्रधानमन्त्री हुँदा । आफू प्रधानमन्त्री हुँदाको समयलाई चिरस्मरणीय बनाउने उद्देश्यले पनि यो पुस्तक आएको हुनुपर्छ ।

किनभने उहाँ प्रधानमन्त्री बन्नुभएको समय वास्तवमै स्मरणीय छ । अझ चिरस्मरणीय भन्दा पनि फरक नपर्ला । उहाँ प्रधानमन्त्री बन्नुभएको त्यो क्षण सायद उहाँलाई पनि सम्झना छैन होला, मलाई पूरा सम्झना छ । उहाँले बिर्से पनि म बिर्सिन सक्दिनँ । किनभने उहाँ प्रधानमन्त्री भएकै बेला मैले ग्यासको सट्टा चुलो बालेर भात पकाउनुपरेको थियो । त्यस्तो क्षणलाई कसरी बिर्सिने ? उहाँ प्रधानमन्त्री भएकै बेला गाडीको सट्टा हिँडेर अफिस जानुपर्ने अवस्था आएको थियो । उहाँ प्रधानमन्त्री भएकै बेला हो, मैले प्रतिलिटर हजारमा पेट्रोल किन्नुपरेको । हप्ताको तीन लिटर तेल लिन बिहान तीनै बजेदेखि उठेर लाइन बस्नुपरेको ।

यस्तो प्रधानमन्त्रीकाल कसले बिर्सन सक्छ ? उहाँ आफंैले बिर्से पनि म बिर्सन सक्दिनँ । सायद यस्तै कुरा लेखिएको होला भनेर एक थान ‘म प्रधानमन्त्री हुँदा’ लिएर आएँ । पढ्दै गएँ । पहिलो लेखमा उहाँले गरेको कामभन्दा पनि उहाँले बोलेको कुरा रहेछ ।

दोस्रो लेखमा पनि उहाँले गरेको काम होइन, उहाँले बोलेको कुरा रहेछ । तेस्रो लेखमा पनि उहाँले गरेको काम छैन, बोलेको कुरा मात्र छ । चौथोमा पनि काम छैन, कुरा मात्रै छ । पाँचांै, छैटांै, सातौं, आठौं….अन्त्यमा अन्तिम लेख पुगिसक्दा पनि उहाँले गरेको काम केही देखिनँ, खालि बोलेको कुरा मात्रै देखियो ।

पुस्तक आद्योपान्त पढेपछि थाहा भयो, उहाँ प्रधानमन्त्री हुँदा बोली मात्रै रहेछ । कामचाहिँ केही भएको रहेनछ । धन्य नेपाल, यहाँ बोलेरै मात्र पनि प्रधानमन्त्री बन्न सकिने रहेछ ! साक्षी कमरेड केपी ओलीको पुस्तक छ– म प्रधानमन्त्री हुँदा !

टिप्पणीहरू