म डुबे पनि ती नउम्किउन्
जसरी कान्तिपुरमा काम गर्दा उर्जामामिलाका तिख्खर पत्रकार विकास थापालाई त्यहीँका सहकर्मीले सिध्याउन खोजे, अहिले इमेज टेलिभिजनमा कार्यरत म (सुरज आचार्य) लाई त्यस्तै–त्यस्तै फन्दामा पार्न खोजिएको छ ।
चाबहिल नजिकै छ, भत्केको पुल । त्यहाँ गुणबहादुर थापामगरको अटो वर्कसप छ । काठमाडौं महानगरपालिका– वडा नं. ७, कित्ता नं. १७० र १७४ स्थित गुठीको जग्गामा पहिला गलैँचा बुन्ने तानहरु राखिएको थियो । एक वर्षदेखि बाहिर गेटमा ‘प्रेम एण्ड प्रताप वर्क सप’ नाम राखेर दिपक थापाले चलाउन थाले । गाडी बनाउने नाममा बिहानदेखि मध्यरातिसम्म हथौडा प्रयोग गरी चर्काे आवाज निकालिन्थ्यो । स्वास्थलाई प्रतिकुल हुनेगरी इनामेल प्रयोग गर्दा वरपरको वातावरण नै दुर्गन्धित बनेको थियो । नेपाल सरकार औद्योगिक प्रबद्र्धन बोर्डको निर्णयले रिङरोडभित्र वर्कसप चलाउन नपाइने नियम कानुन मिच्दै गुणबहादुर, सुनिल प्रजापति, प्रेमबहादुर सुनारहरुले भत्केको पुलमा मोटर ग्यारेज चलाएका हुन् । स्थानीयवासीले पटक–पटक ग्यारेज हटाउन आग्रह गरेकै हुन् ।
यो प्रकरण महानगरपालिका हुँदै पुनरावेदन अदालत पाटनसम्म पुग्यो । रुद्रमानसिंह तामाङ प्रमुख कार्यकारी अधिकृत हुँदा उनको इजलाशले मोटर ग्यारेज चलाउँदा निर्मित टहरा कानुनबमोजिम नक्सा पाससमेत नभएको ठहरसहित तीन महिनाभित्र हटाउन आदेश दियो । केही नलागेपछि स्थानीयहरु इमेज च्यानल पुगे प्रमाणसहित ।
०५३ मा एसएलसी पास गरेर आएपछि पाटन क्याम्पसमा भर्ना भएँ । पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारितामै स्नातककोत्तर उत्तीर्ण गरेको हुँ । कान्तिपुर दैनिकमा इन्टर्नपछि पत्रकारिता यात्रा हालको इमेज, अर्थात् त्यो समयको केएटिएच एफएमबाट शुरु गरेँ । बीचमा केही कार्यक्रम आफैँले चलाएँ । त्यसमा पनि चर्चित कार्यक्रम रह्यो ‘आजको सन्दर्भ’ । अहिलेका कांग्रेस नेता गगन थापा पनि त्यसबेला त्यही संस्थामा काम गर्थे । सो कार्यक्रम पछाडि लामो समय बद्री पाण्डेसँग मिलेर चलाएँ ।
बीचमा माधवकुमार नेपाल प्रधानमन्त्री भए । नेपाल टेलिजिनमा कार्यक्रम गर्न संगठनले खटायो । इमेज छोडेर ‘समय संवाद’ नामक कार्यक्रम चलाएँ । डेढ वर्ष सगरमाथा टेलिभिजनमा काम गरेँ । दाङको मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । बुबा तथ्यांक अधिकृतको रुपमा रुकुमबाट रिटायर्ड, आमा महिला विकास निमित्त अधिकृतको रुपमा अर्घाखाँचीबाट अवकाश । भाइ–बुहारी दुबै नेदरल्याण्डमा ।
दाङबाट काठमाडौं आउँदा अखिलको जिल्ला कमिटी सदस्य थिएँ । ०५४ मा पाटन क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्ष भएँ । विद्यार्थी राजनीतिबाट २०५८ सालमा पत्रकारिता शुरु गरेँ । नेपाल पत्रकार महासंघको अघिल्लो महाधिवेशनमा प्रतिष्ठानतर्फ सम्मानजनक मत ल्याएर केन्द्रीय सदस्य जितेँ । फेरि पनि महासंघको नेतृत्वमा रहने आकांक्षा थियो । साथीहरुसँग हार्दिकतापूर्ण सम्बन्ध थियो ।
न्यूज डेस्कमा थिएँ । गुणबहादुरका अवगुणबारे खबर आए । जसको बारेमा समाचार लेख्ने हो, उसैको भनाइ राख्नुपर्दछ भन्ने पत्रकारिताको न्यूनतम शर्त हो । त्यही कारण पटक–पटक उनको भनाइ लिने प्रयास गरेँ । टार्दै गए । गत सोमबार कार्यालयमा बोलाए । त्यहाँ पुगेपछि उनैले प्रश्न गरे । एक पछाडि अर्काे प्रश्न । उनैले भने, कतिपय ठाउँमा एक लाख दिएर पनि कुरा मिलेको छ । मेरो मुद्दामामिला चलिरहेको छ, तपाईंलाई दश दिनभित्र भेट्छु भने ।
२० मिनेटजस्तो उनीसँग बसेँ । अघिल्लो दिन उनलाई भेटेको । भोलिपल्टै त्यो मिडियामा आयो । अडियो–भिडियोमा देखिएजस्तो संवाद केही भएको होइन । सबैकुरा एडिट गरिएको छ । नैतिक प्रश्न उठेपछि महासंघ, इमेज, नेपाल टेलिभिजनबाट हटिसकेको छु ।
यो बीचमा ठूलो मानसिक प्रताडना व्यहोरेको छु । एकदमै तनावमा दिन गुजार्दैछु । जसले मप्रति यो जाल बिछ्याउनुभयो, उहाँहरुप्रति केही गुनासो छैन । तर, जो व्यक्तिका कारण सर्वसाधारण, स्थानीयबासी प्रताडित छन्, राज्यको नियम कानुनलाई मिचेर ग्यारेज चलाइरहेछन्, उनीमाथि कारबाही हुनैपर्छ । तर, मलाई सिध्याउने नाममा गलत धन्दामा लागेका व्यक्तिको पक्षपोषण हुने गरी समाचार आइरहेका छन् । को–को लागेर, कसरी यस्तो काम गरे ? अहिल्यै नखोलौँ । किनभने, म यतिबेला छानबिनमा छु । छानबिन गरिरहेका निकाय, छानवीनकर्तालाई कुनै तवरले पनि मेरो पक्षमा प्रभावित पार्न चाहन्न । किनभने, पिउँदै नपिएको विषले मलाई ढाल्दैन, गाल्दैन । समयक्रमसँगै सबै खुल्दै जाला ।
ममात्र होइन, म सम्बद्ध सञ्चारसंस्था, संगठन र मेरा तमाम शुभचिन्तक यतिबेला यस्तो षड्यन्त्रबाट मर्माहत हुनु स्वाभाविक हो । म सबैमा धैर्यताका साथ केही समय कुर्न अनुरोध गर्दछु । विश्वास छ, झुठो टिक्दैन, सत्य डग्दैन ।
– सुरज आचार्य
टिप्पणीहरू