मधेसबाट एमालेले यसरी तान्दैछ मत
‘तपाईंहरु काठमाडौंमा गुच्चा खेलेर बस्ने होइन, दुई नम्बर प्रदेशतिर केन्द्रित हुनुहोस्’ भनेर पार्टी अध्यक्ष केपी ओली कैलाश पर्वततिर लागेपछि एमाले नेतृत्व मधेसको मन र मत कसरी जित्ने ? कहाँ, कस्तो अवस्था छ ? भन्दै लेखाजोखामा लागेको छ ।
ओलीले २ नम्बर प्रदेशबाट कम्तीमा ५० सिट जित्नैपर्ने निर्देशन दिएसँगै सोहीअनुसारको रणनीति निर्माणमा एमाले पंक्ति लागेको स्रोतको भनाई छ । अहिले एमाले नेताहरु तराई झरेर नाफा–नोक्सानको हिसाव निकाल्न थालेका छन् । ०४६ सालको भदौ १४ देखि २० सम्म पञ्चायतकालमै मालेको चौथो भूमिगत सम्मेलन भएको सिराहाको धनगढी–महेन्द्रनगर नगरपालिकामा अलिकति विवाद देखिएको छ । त्यहाँ जम्मा १७ वटा इलाका छन् जसमध्ये १६ वटामा उम्मेदवारीबारे सहमति भइससक्यो तर एक ठाउँमा समस्या सल्टिइसकेको छैन । धनुषाको चाहिँ १७ वटा ठाउँमा उम्मेदवार टुंगो लगाउन बाँकी नै छ ।
महोत्तरी राजपुत र भूमिहारहरुको जिल्ला हो । त्यहाँ पनि केही विवाद र समस्या देखिएको छ । सर्लाहीमा पुनर्विचारको दबाव छ जहाँ केही ठाउँमा मात्र उम्मेदवार निश्चित भएको छ । रौतहटको १४ ठाउँमा कुरा मिल्दैछ, समस्या कडा छैन । स्रोतकाअनुसार दुई चरणमा प्राप्त परिणामको प्रभाव मधेसमा कस्तो प¥यो भन्ने कुराको पनि आँकलन शुरु भएको छ । अब त्यहाँ पनि प्रमुख प्रतिस्पर्धा काँग्रेससँग नै हुने निश्कर्षमा एमाले पुगेको बताइन्छ । राजपाले भाग लिए वा नलिए पनि उनीहरुका मान्छे स्वतन्त्र उम्मेदवारको रुपमा उठि नै हाल्छन् । दक्षिणी क्षेत्रका कतिपय कमजोर ठाउँमा ‘गिभ एण्ड टेक’ गर्न परे पनि पछि नहट्ने सोच बनेको छ ।
राजमार्ग क्षेत्रअन्तर्गत सर्लाहीको लालबन्दी, हरिवन, बागमती, इश्वरपुर जित्न केही समस्या छैन । राजमार्गभित्रकै बरहथवामा समेत जित्ने सम्भावना प्रबल छ । तर त्यहाँको उपमेयरमा भने समस्या देखिएको बताइन्छ । जिल्ला इञ्चार्जसमेत रहेकी कमला महतो जो पार्टी केन्द्रीय सदस्य पनि हुन्, ले रोजेको मान्छे र स्थानीय जनता, पार्टी कार्यकर्ताले छानेको उम्मेदवार एकैजना होइनन् । उनले आफ्नै थरको एकजनालाई सिफारिश गरिन् तर लोकप्रिय भने साह थरका अर्कै व्यक्ति रहेको रिपोर्ट छ । उत्तरतिर माओवादीको धेरथोर सम्भावना भएकाले काँग्रेसतर्फ लाग्छ कि आफूसँग तालमेलमा आउने सम्भावना छ भन्ने विषयमा अध्ययन भइरहेको एमाले नेताहरु बताउँछन् ।
सिरहाको ५ नम्बर क्षेत्र जहाँ जनमोर्चाको पकड थियो र पछि प्रचण्डले जिते त्यहाँ, धनुषामा मातृका यादव फर्किएपछि एउटा ठाउँ, महोत्तरीमा गिरिराजमणि पोखरेलले जितेको बर्दिवास क्षेत्र, सर्लाहीको उत्तरी भेग र रौतहटमा दोहोरिएका मन्त्री प्रभु साहको एरियामा माओवादीको राम्रो रहेको देखिएको छ । त्यसैले एमालेले कतिपय ठाउँमा माओवादीसँगको तालमेललाई पनि प्राथमिकतामा राखेको स्रोतको खबर छ । उपेन्द्र यादवको केही जातीय भोट मधेसमा रहेको एमालेले स्वीकार गरेको छ । तर यसबीचमा एकोहोरो एमालेविरुद्ध खनिएको मधेसमा पछिल्ला दिन नकारात्मक प्रचारवाजी केही मत्थर भएको र वास्तवमा कसको कारण मधेसका माग पूरा नभएका रहेछन् भन्ने कुरा उनीहरुले बुझ्न थालेको ठहर एमालेले निकालेको छ ।
मधेस आन्दोलनको कारणले कसैलाई क्षति हुन्छ भने त्यो काँग्रेसलाई हुन्छ भन्ने पनि विश्लेषकहरुको भनाई छ । कसरी भने काँग्रेस आन्दोलनमा गएन र मधेसप्रति कुनै स्पष्ट धारणा पनि बनाएन । यस्तो बेला मधेसका कार्यकर्ताहरु आन्दोलनको पक्षमा लागे र मधेसवादी दलका सहयोगीको रुपमा प्रस्तुत भए । अहिले काँग्रेसबाट उठ्ने कि मधेसवादी दललाई सघाउने भन्ने दोधारमा छन् । त्यसमाथि काँग्रेस कसैसँग तालमेल नगरी चुनाव लड्दैछ । यसले पनि काँग्रेस कमजोर देखिने र एमालेलाई लाभ पुग्ने अवस्था आउन सक्ने बताइन्छ ।
स्रोतका अनुसार एमालेले के सचेतता पनि अपनाउँदैछ भने चुनावको बेला राज्यपक्षले जस्तोसुकै हथकण्डा अपनाउन सक्छ ।
जस्तो कि भरतपुरमा मतपत्र च्यात्ने काम सत्तारुढ दलबाटै भयो । सिराहामा पनि प्रचण्डले जित्ने गरी मतगणना हुँदा २ मिनेट बत्ती गएको थियो । हजारौं भोटले लिड गरिरहेका लीला श्रेष्ठ दुई मीनेटको अन्धकारपछि लगातार तल झरेर हार्न पुगेका थिए । त्यसकारण अदालत, निर्वाचन आयोग र प्रहरी प्रशासनको प्रयोग गरेर चुनावी परिणाम राज्यपक्षले हात पार्न सक्छ । दोलखामा मान्छे नै मार्दासमेत कोहीमाथि कारबाही नहुनुलाई राज्यको दुरुपयोग सरकारले गरेको रुपमा चित्रित गरिएको छ । यस्ता सम्भावनालाई सूक्ष्म रुपमा व्यवस्थापन गर्नुपर्छ र चनाखो रहनुपर्छ भन्दै एमाले नेताहरु लगातारको बैठकमा रहेको बताइन्छ । स्रोतका अनुसार २ नम्बर प्रदेशका आठ वटा जिल्लामा मेयर र उपमेयरका ९० प्रतिशत उम्मेदवारहरुको टुंगो लगाएर एमाले बसेको छ ।
जस्तैः सप्तरीको डाकेश्वरीमा ५ जना आकांक्षीमध्ये धेरैलाई वडामा उठाएर कुरा मिलाइएको छ । बाराको कलैया, सिमरा, जितपुर भेगमा सम्भावना राम्रो भए पनि ‘म जित्छु, उसले हार्छ’ भन्नेहरु धेरै देखिँदा समस्या छ । पर्सामा पार्टी छाडेर जाने र प्रवेश गर्नेको संख्या बराबर रहेको छ । माओवादीले ४५ सय जनाको केन्द्रीय कमिटी बनाएपछि त्यसले एमालेलाई पिरोलेको देखिएको छ । अहिले मधेसी दलका कार्यकर्ताले ‘म माओवादीमा गएँ भने केन्द्रीय सदस्य पाउँछु तर तिम्रो पार्टीमा कुन पद मिल्छ ?’ भन्दै बार्गेनिङ गर्ने चलन बढेको छ । एमालेमा जम्मा २ सय जनाको केन्द्र छ, विधानले त्योभन्दा धेरै बनाउन नै मिल्दैन । उता, सप्तरीमा केही क्षेत्र माओवादीले जित्ने तर धनुषाको केन्द्रीय सदस्य बलराम सुवेदी, सिराहाको लहानमा पूर्व मेयर मुनि साह, पर्सामा पनि ७० सालमा माओवादीबाट चुनाव लडेका बसरुद्दिन अन्सारीहरु एमालेमा प्रवेश गरेका छन् । यसले गर्दा हिसाव बराबर भएको एमाले नेताहरू बताउँछन् ।
– राजेन्द्र स्थापित
टिप्पणीहरू