पाउरोटी उद्योगीका अनेक प्रपन्च

नियम,कानुनको पालना गर्न भनेपछि प्रायःलाई टाउको दुख्छ । अझ केही केही उद्योगी,व्यापारी त नाफाखोर भइहाले,सितिमिति के टेर्थे ? चितवनको भरतपुर–४, स्थित आर.के. फुड प्रोडक्टमा खाद्य ऐन पालना नभएको पाइएको छ । जस्तो गुनासो, त्यस्तै भेटियो पनि । गुराँस ब्राण्डका पाउरोटी,दुनोट,पफ, क्रिमरोल,बिस्कुटहरु उक्त उद्योगका उत्पादन हुन् ।
लेबल नभएको खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गरिरहेको उजुरी जिल्ला प्रशासन कार्यालयमा परेपछि हिजो उद्योगमा अनुगमन भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट अनुगमन टोली पुग्दा उद्योगको गेटमा एउटा ठेला फेला परेको थियो । त्यसमा लेबल विवरण (उत्पादन मिति,ब्याच नं.) नलेखिएको गुराँस ब्राण्डका पाउरोटी, दुनोट, पफ, बर्गरवनहरु बिक्रीका लागि लैजान राखिएको अवस्थामा फेला परेको हो ।
सोसम्बन्धमा ‘डेट हाल्न नपाउँदै ठेलावालाले बिहान आफैं उठाएर लगेको’ भनी उद्योगीको तर्फबाट चोखिने प्रयास गरिएपछि अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि श्यामसुन्दर ढकालले भने, ‘उसले तपाईंको सामान थुतेर लगेको हो ? चोरेर लगेको हो ? त्यसो भनेर तपाईंहरु उम्किन पाउनुहुन्न ।’त्यसमाथि खाद्य निरीक्षक प्रदीप काफ्लेले थपे, ‘डेट हाल्ने काम उत्पादकको हो कि भेन्डर (ठेलावाला) को ?’ उक्त ठेलामा भरतपुर–६ स्थित शिव पाउरोटी उद्योगको क्रिमरोलको प्याकेटमा पनि लेबल विवरण नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख घननाथ अधिकारी प्याकेटमा लेबल विवरण उल्लेख नभएका खाद्यवस्तुहरु ‘एक्स्पायर’ सरह हुने बताउनुहुन्छ ।
उद्योगको ढोका नजिकै लेवल विवरण नटाँसी प्याकिङ गरिएका दुनोटहरु दुईवटा क्रेटमा राखिएका थिए । हेर्दा बेच्न लैजान राखिएको जस्तो देखिए पनि उद्योगी विश्वनाथ साहले राम्ररी नफुलेर फाल्न लागिएको बताए । भित्र बेलनामा भने पेलिएको मैदा पनि बाँकी थियो । त्यो पनि राम्रो नभएर फाल्न ठिक्क पारिएको उद्योगीको भनाइ थियो ।
प्याकिङ गरिएका र नगरिएका पाउरोटीलगायतका उत्पादनहरु उद्योगभित्र अरु पनि तयारी अवस्थामा थिए । २१ सेप्टेम्बरमा फेला परेको प्याकिङ सामग्रीहरुमा २२ सेप्टेम्बरको डेट टाँसिएको देखेर खाद्य निरीक्षक प्रदीप काफ्ले ‘यो डेलिभरी डेट हो कि उत्पादन मिति ?’ भन्दै कराएको पनि सुनिएको थियो ।
अनुगमन टोलीले उद्योगमा प्रयोग हुने तेल र मैदाको समेत निरीक्षण गरेको छ । खाद्य अनुसन्धान प्रमुख घननाथले खरिद बिल माग्दा विश्वनाथले भरतपुरबाटै मैदा खरिद गरेको भन्दै भ्याट,प्यान– दुबै नभएको अर्डरस्लिप मात्र देखाएका थिए । आरके फुड प्रोडक्टकै हेर्दा पनि भ्याट र प्यान नभएको नाममात्रकै बिल देखिन्थ्यो ।
यही उद्योगमा ५/६ महिनाअघि अनुगमन टोली आएर सम्झाई, बुझाई गएको बताइन्छ । श्यामसुन्दर भन्दै थिए, ‘आउँछन्, सम्झाउँछन्, जान्छन् भन्ने जस्तो भयो ।’ अहिले उद्योगको सरसफाइ र संरचनामा केही सुधार देखिए पनि उत्पादित वस्तु खाद्य ऐन विपरीत नै लेबल नराखी बजारमा पठाउन लागेको भेटिएपछि अनुगमन टोलीले त्यसलाई जफत गरेर तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
हाललाई उद्योगको उत्पादन तथा बिक्री–वितरण बन्द गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको खाद्य निरीक्षकले जानकारी दिनुभएको छ । अनुसन्धान प्रमुख घननाथले ‘भोलि बिल र उद्योगका अन्य कागजातसहित अफिसमा आउनु’ भनी डाकेपछि उद्योगी विश्वनाथले ‘अब उद्योग नै बन्द गरिदिन्छु’ भनी घुर्क्याएका थिए ।
पाउरोटी उद्योगीहरुले आफ्नो उत्पादनको प्याकेटमा जो कसैले उप्काउन सक्ने कागजको लेबल (उत्पादन मिति) टाँस्छन् । त्यो व्यापारीहरुले पनि सजिलै उप्काएर बेच्न सक्ने देखिन्छ । बिक्री नभएर उद्योगमा फिर्ता भएका सामानमा दुई–तीन दिनपछि स्वयं उद्योगीले नै उप्काएर नयाँ डेटको अर्को स्टिकर टाँस्ने सम्भावनासमेत रहेको हुँदा सरोकारवालाहरुले यसतर्फ पनि ध्यान दिनुपर्ने हो कि !
– अजय गोर्खाली
टिप्पणीहरू