घाम र रूख मात्रै कार्यकर्तालाई घोकाएपछि….
तत्कालीन नेकपाको आन्तरिक शक्ति संघर्ष चर्किंदै जाँदा वैचारिक राजनीतिभन्दा चुनाव चिह्नको बहसले बढी प्राथमिकता पाएको थियो । पार्टी विभाजनले कानुनी तथा वैधानिक प्रक्रिया पूरा नगर्दै सूर्य चिह्नमा दुवै पक्षले गरेको दाबीले पनि चुनाव चिह्नप्रति उनीहरूको मोह प्रष्टै देखायो ।
हालै एमाले र जसपामा आएको विभाजनमा पनि त्यसैगरी चिह्नलाई महत्व दिइएको छ । वैचारिक, राजनीतिक र सांगठानिक भन्दा प्राविधिक कुरालाई देखाएर विभाजन ठीक कि बेठीककै बहस भैरहेका छन् । सूर्य चिह्न भएको शक्ति सही र विभाजित पक्षलाई गलत पुष्टि गर्ने प्रयास पनि भैरहेको देखिन्छ । अर्थात् एमाले विभाजनका कारण र असर खोज्ने भन्दा पनि कोसँग सूर्य चिह्न छ र आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने जस्ता सतही बहस भैरहेका छन्।
पार्टीहरूको एकता र विभाजनको मुख्य आधार बिचार, सिद्धान्त र एजेण्डा हो र हुनुपर्छ । त्यसैका आधारमा दलहरू मिल्ने र फुट्ने हो । तर, पछिल्लो समय प्राविधिक कुरा मिलाउन पार्टीहरू मिल्न र टुक्रिन थालेका छन्, जुन मुलुकका लागि दुर्भाग्यपूर्ण कुरा हो । यसो हुनुमा पार्टीका नेता–कार्यकर्ता मात्र होइन, चुनाव चिह्न हेरेर भोट हाल्ने ठूलो संख्यामा रहेका मतदाता पनि दोषी छन् । विचार र राजनीतिक एजेण्डालाई होइन, चुनाव चिह्नलाई भोट दिने ०४८ सालदेखि हुर्कंदै आएको जमात आज पनि राजनीतिमा प्रभावी छ । ‘रूख’ कि ‘सूर्य’ भन्ने राजनीतिक स्कुलिङबाट हुर्केर आएको त्यो जमात आजसम्म आइपुग्दा पनि एजेण्डा केन्द्रित बहस गर्नै चाहँदैन, बरु भाइ पुस्तालाई समेत चिह्नको राजनीतितर्फ प्रेरित गरिरहेको छ ।
सिद्धान्तको राजनीतिलाई दराजमा थन्क्याएर चिह्न र पार्टीको नामलाई ट्रेडमार्क बनाई चुनाव जित्ने रोग २०४८ सालपछि शुरु भएको हो । दोस्रो जनआन्दोलनपछिको पहिलो आमचुनावमा ‘पूर्वबाट उदाउँछ घाम, त्यसलाई भोट हाल्न जाम’ भन्ने नारा घन्कियो । रूखले शीतलता दिने भएकाले भोट हाल्नुपर्छ भन्ने मान्यतामा रमाउने त्यस्ता मतदाता अहिले पनि निर्णायक नै छन् ।
चुनावमा कुन पार्टीले के एजेण्डा उठाएको छ र त्यो एजेण्डा मुलुकको हितमा छ कि छैन भनेर तथ्यपूर्ण विश्लेषण गर्ने चलनै छैन नेपालमा । यूरोप, अमेरिकातिर सामान्य मुद्दाले पनि चुनावी परिणामलाई बेस्सरी प्रभाव पारेको हुन्छ । जस्तो, महिलाका इस्यु, यौनका कुरा, स्वतन्त्रताका सवाल त्यहाँ चुनावी मुद्दा बनेका हुन्छन् । अत्यन्त सामान्य लाग्ने त्यस्ता मुद्दामा सिङ्गै मतदाता विभाजित भएका हुन्छन् र त्यसैले चुनावी परिणाम निर्धारण गर्छ तर हामीकहाँ आज पनि रूख कि सूर्य भन्ने बहस चल्ने गर्छ । बा–आमाले कांग्रेसबाहेक अरुलाई भोट नहालेका कारण कांग्रेस बनेकाहरू धेरै छन् । दाइ अखिलको नेता भएकाले एमालेलाई भोट दिनुपर्ने तर्क गर्नेहरू पनि उत्तिकै छन् ।
यस्तो संस्कृति विकास हुनुमा युवा पुस्ता कसरी राजनीतिमा प्रशिक्षित भएर आयो भन्ने प्रश्न निकै महत्वपूर्ण हुन्छ । नेपालमा प्रजातन्त्र आएको झण्डै ७० वर्ष भैसकेको छ । लोकतन्त्रको इतिहास पनि ३२ वर्ष लामो छ । गणतन्त्र आएकै पनि झण्डै १५ वर्ष बितिसक्यो । शासन व्यवस्था फेरिए पनि हाम्रो चेतना र मतदाताको मनस्थिति फेरिएको छैन । मुद्दामा केन्द्रित भएर चुनावी प्रतिस्पर्धा गर्ने राजनीतिक परिपाटी विकास भएको छैन । त्यसैले राजनीतिक दलको इतिहास, आन्दोलनमा उसले खेलेको भूमिका, राष्ट्रिय राजनीतिमा अघि सारेको बिचार, राजनीतिक कार्यक्रम चुनावी बहसको विषय बन्दैन । सचेत भनिने शहरी मतदाता नै सगौरव भन्ने गर्छन् – ‘मैले त अहिलेसम्म फलानो चिह्नमा बाहेक अन्त भोट हालेकै छैन ।’
त्यसैले त, नेकपा हुँदै एमाले र जसपासम्मको विभाजनमा कसले चुनाव चिह्न पायो भन्नेमा आमरूपमै चासो देखिन्छ । कसले मूल पार्टीमा कब्जा जमायो र चुनाव चिह्न हात पा¥यो भन्ने कुराले बढी महत्व पाएको छ । फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन हुँदा एउटा पंक्ति असाध्यै खुशी हुनुका पछाडि सूर्य चिह्न जोडिएर आयो ।
सूर्य चिह्न आफूसंग भएकै कारण आगामी चुनावमा बहुमत ल्याउने केपी ओली समूहको दाबी छ । पार्टी विभाजित भएका बेला बहुमत ल्याउने दाबी आफैंमा अनौठो लागेपनि चुनाव चिह्न र एमाले नामको ट्रेडमार्कले नतिजा आफू अनुकूल हुनेमा केपीहरू ढुक्कै देखिएका छन् । अघिल्लो चुनावमा सिंगो एमाले र माओवादीसँग तालमेल हुँदासमेत प्रतिष्पर्धामा आएको कांग्रेसलाई पन्छाउन सूर्य चिह्नलाई कति सकस होला !
कस्तो भयो भने केन्द्रीय राजनीतिको यो प्रभाव तल स्थानीय तहहरूमा पनि परेको छ । त्यहाँ पनि चुनाव चिह्न, पैसा, अवसर, बजेटका कुराले चुनावी परिणामलाई निर्धारण गर्ने अवस्था बनेको छ । चल्तीको चुनाव चिह्नवाला पार्टीमा टिकट हात पारेर पाँच वर्ष शासन गर्नुबाहेक गाउँ तहमा अरु बहसै छैन ।
६४ प्रतिशत कम्युनिष्ट मत भनिएको छ तर अधिकांशलाई जबज र २१औं शताव्दीको जनवादबारे थाहै छैन ।
वैचारिक राजनीतिभन्दा मारमुंग्री र प्रतिशोधको राजनीतिले बढावा पाइरहेको छ। त्यसैले त ०५० सालतिरै पाका कम्युनिष्ट नेता मनमोहन अधिकारीले एमालेले कम्युनिष्ट चरित्र गुमाएकोमा चिन्ता गर्दै पार्टी कम्युनिष्टको ट्रेडमार्क मात्रै भयो भन्नुभएको थियो । त्यतिबेला उहाँले भन्नुभएको थियो– हाम्रो पार्टी सामाजिक जनवादी पार्टी हो, कम्युनिष्ट त झण्डा मात्रै भयो । २०४९ सालमा भएको एमालेको पाँचौँ महाधिवेशनमा नेता रघुजी पन्तले सामाजिक जनवादी लाइनको वकालत गर्नुभएको थियो । आफूले शून्य मत पाए पनि ’सामाजिक जनवादी लाइन’ भनेर उहाँले फरक विचार प्रस्तुत गर्नुभएको थियो । भलै त्यतिबेला उहाँको विचारले महत्व पाएन ।
तर आज कम्युनिष्ट पार्टीमा विचार, सिद्धान्त र दर्शनबारे बहस हुँदैन । चुनावदेखि चुनावसम्मको बहस हुन्छ । चुनाव जित्नुलाई नै एकमात्र उद्धेश्य बनाइएको छ । चुनाव जितेपछि के गर्ने भन्नेसम्मको सामान्य योजनासमेत नहुँदा दुई तिहाइको जनमत कसरी ढल्यो आँखै अगाडि छ । त्यसैले त मनमोहन र रघुजीले त्यतिबेला उठाएको मुद्दाको सार्थकता आज देखिन थालेको छ । कम्युनिष्ट पार्टीलाई बिक्रीमा राखिएको वस्तुजस्तै ब्राण्डका रूपमा प्रचार गरेर भोट लिने प्रवृत्तिले कहाँ पु¥याउला ? चिन्तन गर्ने बेला भएन र कमरेड !
टिप्पणीहरू