हे राम, किन ग¥यौ यस्तो काम

विदेशी अभियुक्तलाई अदालतमा हाजिर गराउन विदेशी भाषामै सूचना छापिन्छ, तर त्यही एउटा सूचनामा पनि ५० भन्दा बढी हिज्जे लाजलाग्दो शैलीमा गडबड । कुनै शिकारु विद्यार्थीले हैन, अदालतले तयार पारेको सरकारी उर्दी हो यो, तर हेर्दै दिक्कलाग्दो ।

२९ माघ ०७३ मा प्रहरीले नेपालसँग सीमाना जोडिएको भारत, बिहारको मधुवनी जिल्ला लदनियाँका २५ वर्षीय पुजनराम मोचीलाई सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलबाट ३७ लाख  ९८ हजार नेपाली नोटसहित नियन्त्रणमा लिएको थियो । कपडाको थैलोमा पोको पारी शरीरमा बेरेर राखेको अवस्थामा हजार र पाँच सय दरको नोट सशस्त्र प्रहरी बेस क्याम्प गोलजारले बरामद गरेको हो । तर पक्राउ परेका मोचीले आफूलाई मधुवनीका किराना पसले शंकर सहनीले गोलबजारका एक व्यवसायीलाई बुझाउन रकम पठाएको बताए । मोचीमाथि सम्पत्ति शुद्धिकरण ऐनमा मुद्धा चल्यो । सहनी फरार रहे । मोचीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश ग¥यो, तर धरौटी तिर्न नसकेर उनी जेलमै छन् । मुद्धा जिल्ला हुँदै विशेष अदालतमा पुग्यो ।

यसरी अदालतले मुख्य आरोपीका नाममा तामेल गरेको म्याद कसैले नबुझेपछि पत्रिकामा छापेको सूचना काण्ड हो यो । त्यसबेला जिप्रका सिरहा र हाल पाल्पामा मुद्धा अभियोजन शाखा सम्हालेका डिएसपी डिल्लीराज पन्त यो घटनाका अनुसन्धान अधिकृत थिए । उनको प्रतिवेदनका आधारमा दायर भएको मुद्धाअनुसार मुख्य आरोपी शंकर सहनी हाजिर हुनुपर्ने भनी अखबारमा छापिएको सूचनाको शीर्षकदेखि पुछारसम्म १२ वटा गल्ती भेटिन्छ । ‘अ नोटिस इस्युड बाई दी स्पेशल कोर्ट’ हुनुपर्नेमा ‘नोटिस’ को ‘आई’ हराएर ‘नोट्सी’ बन्न पुग्यो भने ‘स्पेशल’ को ‘ई र आई’ गायव हुँदा ‘इपिकाल’ बन्न पुगेको छ । ‘इयर’ लेख्दा ‘ए’ हराएर ‘इसर’ बनेको छ । अरु त अरु, उपस्थित गराउनुपर्ने आरोपीको जिल्ला मधुवनीको स्पेलिङ बिग्रिएर ‘मधुभाइ’ हुन पुगेको छ । यीसहित हिज्जे नमिलेका थुप्रै वाक्यांश गत बुधबार प्रकाशित उक्त सूचनामा देखिन्छ । यो संयोग होइन । नेपालमा आर्थिक अपचलनसँग सम्बन्धित यस्ता थुप्रै मुद्धामा मुख्य कसुरदार भगाइने र तिनका भरिया, पियनहरुले जेल कुर्नुपर्ने बाध्यता छ । खोज्ने हो भने यस्ता थुप्रै बेकसुर मानिस सजायँ भुक्तान गरिरहेका छन् । सहनी अदालतमा उपस्थित भइदिए मोची छुट्ने र कानुनी कारवाही सहनीतर्फ आकर्षित हुने स्थितिछ तर सूचनै अन्टेसन्टे छापिएपछि के पढेर, को हाजिर हुन आउने ?

टिप्पणीहरू