​यसपालि झन् भव्य

अघिल्लो वर्षका नियमित कार्यक्रमभन्दा भव्यताका साथ नेपाली सेनाले यसपालिको तयारी थालेको छ । सैनिक संस्था स्थापनाको २५० वर्ष पूरा भएको अवसरमा यसपटक केही महŒवपूर्ण अतिथि आउँदैछन् ।

स्मरणीय छ, ०५१ सालमा शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादी जंगल पसेकै दिन फागुन १ गते यसपालि सेना दिवस परेको छ भने माओवादीले पनि सँगै जनयुद्धको २३औं वार्षिकोत्सव मनाउँदैछ । 

जंगी अड्डाले निम्तो गरेबमोजिम सेना दिवसमा भाग लिन बेलायती सैन्य मामिला हेर्ने राज्यमन्त्री, अमेरिकी सेनाको प्यासिफिक कमाण्ड हेर्ने जर्नेल, नेपाली सेनाका मानार्थ जर्नेलको उपाधि पाएका भारतीय स्थल सेना प्रमुखहरु त्यसैको सेरोफेरोमा आउँदैछन् । पोहोरको सेना दिवशमा वरिष्ठ टेलिभिजन पत्रकार भूषण दाहालद्वारा निर्देशित डकुमेन्ट्री सार्वजनिक गरिएको थियो । यसपालि २५० वर्ष पुगेको उपलक्ष्यमा सेनाले आफ्नो आधिकारिक गीत घोषणा गर्दैछ, ‘रातो र चन्द्र–सूर्य, जंगी निशान हाम्रो, जिउँदो रगत सरी यो, बल्दो यो शान हाम्रो !’ ४५ वर्षअघि गोपालप्रसाद रिमालको शब्द, अम्बर गुरुङको संगीत र फत्तेमान राजभण्डारीको स्वरमा तयार भएको यो गीतलाई एलिस कार्कीले नयाँ शैलीमा संगीत संयोजन गरेर तयार पारेका छन्, जसमा राजेशपायल राई र प्रताप दासको स्वर छ । र, यसको म्युजिक भिडियो सेना दिवशमा सार्वजनिक हुँदै छ । त्यसलाई तयार पारेका हुन्, कलाकार दिनेश डिसी र उनकी कान्छी छोरी शिवानी दाहालले ।

यसरी २५० वर्ष पुगेको सेनामा अप्ठेरो पनि छ, राम्रा भनिएका केही अफिसरहरुलाई । यसचोटि स्टाफ कलेजको इन्ट्रान्समै कस्ता–कस्ता मैँ हुँ भन्नेहरु अनुत्तिर्ण भएका छन् । बेलायतको ‘स्याण्ड हस्र्ट’ भनेको प्रतिष्ठित सैनिक तालिम लिने ठाउँ हो । त्यहाँबाट खरो उत्रिएका ४४ बेसिकका शिखर भण्डारी, ४८ बेसिकका चन्द त फेल भए–भए,  ४१ बेसिकका खुकुरी होल्डर दिवाकर खड्का, ४४ बेसिकका रोशन थापा, ४२ बेसिकका शशि कार्कीहरु पनि पार लाग्न सकेनन् । उनीहरु आ–आफ्नो ब्याचका टपर हुन् । यसबाट पनि बुझिन्छ कि, सेनामा कति टप कम्पिटिशन हुन्छ । करिब ३८० अफिसर इन्ट्रान्सका लागि भिडेकोमा ४९ ले मात्र उत्तीर्ण हुने मौका पाएका छन् ।

उता, उपरथी पूर्ण सिलवालले अवकास पाएपछि रिक्त ठाउँमा सहायक रथी काजीबहादुर खत्रीलाई दुईतारे जर्नेल बनाउने प्रक्रिया शुरु भएको छ । सरल, इमान्दार र भलाद्मी स्वभावका खत्री ओखलढुंगाको साधारण परिवारमा जन्मिएका हुन् । उनको बुबा जेलमा परिचरको काम गर्थे । 

टिप्पणीहरू