​राज्यका अड्डा सब रसातलतिर

एकपछि अर्काे सरकारी संस्था कसरी ध्वस्त हुँदै छन्– उदाहरण हेर्न टाढा जानै पर्दैन, सुन्धारातिर पसे पुग्छ । त्यहाँ पसेर सरकारी कार्यालयलाई तन्नम बनाउने र व्यक्ति मोटाउने धन्दा चलिरहेछ । १ सय ३९ वर्ष पुरानो अड्डा हुलाक सेवा विभाग खोक्रो हुने तर निजी कुरियर सञ्चालकहरू मोटाउने काम यहीं हुन्छ । हुलाक सेवा लोप हुँदै गएको अवस्थामा निजी स्तरका कुरियर भने मौलाउँदै गएका छन् ।

नेपाल कुरियर सेवा संघका अनुसार यो मातहत ५५ वटा कम्पनी छन् । दर्ता नभई चलेका कुरियर त कति कति ! ठमेल, न्युरोडआसपास पुग्ने हो भने त्यहाँ सानो काउन्टर राखेर कम्प्युटरको कामसँगै कुरियरको व्यापारसमेत गर्दै आएको देख्न सकिन्छ । यिनै कुरियरका मान्छेहरू दिनभर कार्यालय चहारेर सरकारी हुलाक सेवाले भन्दा पाँच गुणासम्म बढी शुल्क असुली पार्सलहरू बटुल्ने तर पठाउने काम भने हुलाक सेवालाई लगाउने गर्दै आएका छन् । यसो हुँदा हजार ग्राम पार्सल मात्र बटुलेर बाहिर पठाउँदा मनग्ये आर्जन गर्न पाइयो । त्यो कसरी भने, हुलाक सेवा विभागले एक हजार ग्रामको सामान जापान पठाउँदा १४ सय रुपैयाँ सेवाग्राहीसँग लिँदै आएको छ तर निजी कुरियर डिएचएल, टिएनटीलगायतले यसका लागि ६ हजार ५ सयसम्म असुल्छन् ।

उताबाट सेवाग्राहीसँग तेब्बर असुलेर सरकारी शुल्कअनुसार नै विदेश पठाउन पाउँदा हजार ग्राम पार्सलबाट झण्डै ५ हजार १ सय आम्दानी हुने देखियो । एक हजार ग्रामको पार्सल हुलाक सेवाले भुटान पठाउँदा सेवाग्राहीसँग १४ सय मात्र लिन्छ भने यति नै सामान त्यहाँ पठाउन निजी कुरियरले ४ हजार ५ सयसम्म लिने गर्छन् । हुलाक सेवाले १८ सयमा फिलिपिन्स पठाउने सामानका लागि कुरियरले ६ हजारसम्म लिएका छन् । विदेश पठाउँदा मात्र होइन, स्वदेशमा पार्सल गर्दा समेत कुरियरले चर्काे रकम लिने गर्छन् । सडकमार्ग हुँदै काठमाडौंबाट विराटनगरका लागि सामान पठाउँदा प्रतिकेजी ६० रुपैयाँ, काठमाडौंदेखि बुटवल र भैरहवासम्म प्रतिकेजी ५० रुपैयाँ, नेपालगञ्जसम्म डेलिभरी गर्दा ८० रुपैयाँसम्म असुल्ने गरेको पाइन्छ । निजीले त कुरियरलाई पत्याए भनौं । सरकारी कार्यालय तथा कर्मचारी नै हुलाक सेवाप्रति विश्वस्त छैनन् ।

त्यही कारण अधिकांश सरकारी कार्यालय केही सामान पार्सल गर्नुपरेको खण्डमा हुलाक सेवा नपुग्ने बरु कुरियर चहार्ने गरेको तीतो पोख्छन् निमित्त महानिर्देशक राजन पौडेल । सरकारी कार्यालयका पार्सल हुलाक सेवाबाट मात्र गर्न भनेरै हुलाक सेवा विभागले घुम्ती सेवा सञ्चालन गरेको, यद्यपि यो परिपाटीलाई शून्यमा झार्न नसकिएको पौडेलको अनुभव छ । कतिसम्म हेपिएको संस्था छ भने हुलाक सेवा विभाग ५ महिनादेखि निमित्तको भरमा चलिरहेको छ । जहाँ २० हजार कर्मचारी कार्यरत छन् । अतिरिक्त हुलाक कार्यालयमा मात्र ८ हजार ८ सय १३ कर्मचारीको दरबन्दी छ । हाल ७१ जिल्लामा हुलाक कार्यालय, ८४२ वटा इलाका हुलाक कार्यालय र तीन हजार ७४ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।

अर्काे रमाइलो तथ्य के पनि छ भने हाल स्वैच्छिक अवकाश रोज्ने ४ हजार कर्मचारीमध्ये १५ सय हाराहारीमा हुलाक सेवाकै कर्मचारी छन् । यसरी सरकारी निकायलाई तन्नम बनाइएको र निजी कुरियर मोटाउँदै गएको विषयमा निमित्त महानिर्देशक पौडेलले ‘कुरियर सेवा सञ्चालनको निर्देशिका बनाई नियामक निकाय तोक्ने विषय धेरै पहिला उठाइए पनि अहिलेसम्म निर्देशिका बन्न नसक्दा समस्या आएको’ सुनाए । कुरियर सेवाहरू हुलाकसेवामा नभई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने गरेको कारणले समेत समस्या आएको उनको कथन छ ।

टिप्पणीहरू