प्रमको डायरीमा
झुलाउने र झारा टार्ने भारतीय चलन नबुझेका प्रधानमन्त्री हैनन् केपी ओली । त्यसैले भारत भ्रमणका दौरान भारतीय पक्षको व्यवहार र प्रधानमन्त्रीको प्रस्तुति जनआस्थाले फेला पारेको छ, प्रमकै डायरीमा । अत्यन्तै महŒवसाथ भारतीय पक्षबाट कुरा आयो, ‘अरुण तेस्रोमा सही गरौँ, शुभारम्भ गरौँ’ भन्ने । ओलीले भने, ‘मैले कसरी गर्न सक्छु । पीपीएमा भारतले सही गरेको छैन । नेपालको आफ्नो कानुन छ । फर्म अफ पेमेन्ट, अर्थात् भुक्तानी प्रक्रियाबारे केही पनि स्पष्ट भएको छैन । ती कुरा टुंगो नलागी म सही गर्दिनँ ।’ भारतीयले मुख हेराहेर गरे, इशारा–इशारामै केही सल्लाहजस्तो भयो क्यार, त्यसपछि केही बोलेनन् ।
अर्को बहुचर्चित विषय हो, रेलमार्गको । भारतीय पक्षबाट लामो समयदेखि रेलमार्गबारे जतिसुकै हल्ला चलाइए पनि आखिरमा नियत रहेछ, सर्भे गर्ने, छाडिदिने ! यसबारे प्रमसँग कर्मचारी कुरा गर्न पुगे । उनीहरूले रिपोर्टिङ गरे । भने, ‘रेलमार्ग त बनाउने तर कसको खर्चमा ? यो कुराको टुंगो लागेन !’ यत्ति भनेपछि प्रधानमन्त्रीलाई काम पुग्यो । अनुहारमै आक्रोश फैलियो । भने, ‘हामीसँग पैसा भएको भए, सबै व्यवस्था भएको भए, हामी आफ्नै खर्चमा सिमानासम्म रेल बनाइहाल्थ्यौँ नि ! सक्छन् भने बनाउन्, सक्दैनन् भने हल्ला गरेर नहिँडुन् !’ ओलीले थपे, ‘यसो भन्दा संयुक्त विज्ञप्तिमा साइन गर्दैनन् भने नगरौँ । पहिला पनि संयुक्त वक्तव्य जारी नगर्दा भएको थियो भने अहिले पनि त्यही हुन्छ ।’ त्यहाँ पुगेका कर्मचारीले खबर लगे भारतीय अधिकारीकहाँ ।
फेरि अर्को उल्झन आयो, पहिल्यै सहमति भइसकेको बनेपा, पनौतीमा प्रहरी प्रतिष्ठान बनाउने । त्यसका लागि दिइने भनिएको जमिनको कुरा पनि उल्लेख गरेर संयुक्त विज्ञप्ति जारी गर्ने कुरा आएपछि प्रम ओली फेरि पड्किए, ‘हिजो भइसकेका सहमति, सम्झौताका कुरा फेरि फेरि संयुक्त विज्ञप्तिका नाममा राख्दै, विज्ञप्तिको चाङ बढाएर मात्र केही हुन्न † हिजो पनि विज्ञप्ति जारी नगर्दा भएकै थियो, अहिले पनि नगरौँला । केही फरक पर्दैन !’
टिप्पणीहरू