८० तोला सुनको स्रोतबारे गृहमन्त्रीको दाबी : केही किनियो, केही अरुबाट पाइयो

८० तोला सुनको स्रोतबारे गृहमन्त्रीको दाबी : केही किनियो, केही अरुबाट पाइयो
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग सुन र सुनका गहना धेरै देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पति विवरणअनुसार गृहमन्त्रीसँग सुनचाँदी धेरै रहेको देखिन आएको छ ।

विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको बताइएको छ भने गृहमन्त्री लामिछानेसँग ८० तोला । त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग भरतपुरस्थित वडा नम्बर १४ मा घर घडेरी (पैतृक सम्पत्ति) रहेको बताइएको छ । उहासँग भएको पाँच तोला सुन गत असारमा निधन भएकी श्रीमती सीता दाहालको रहेको बताइन्छ । 

विभिन्न बैंक खातामा रहेको २५ लाख नगदको आम्दानीको स्रोत प्रतिनिधि सभा सदस्यको तलबभत्ता उल्लेख गरिएको छ । गृहमन्त्री लामिछानेले बुझाएको सम्पति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठमा पौने चार करोड बराबरको घडेरी देखिन्छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा पनि निकिताको नाममा १० रोपनी जग्गा छ । लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको उल्लेख छ । भएको ८० तोला सुनमध्ये केही खरिद गरिएको, केही आफन्तले उपहार दिएको सम्पत्ति विवरणमा जनाइएको छ । 

पत्नी निकितासँग ४२ लाखको कार, तीन करोडको नारी टिभी र एक करोड बराबरको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको पनि गृहमन्त्रीले जानकारी दिएका छन् ।

टिप्पणीहरू