हालत कस्तो, साह्रै सस्तो

न कसैले बोलायो, न टाउको कन्याउँदै उनी माथि उक्लिए । बरु, तल बसेर भन्दै थिए, ‘भेला होइन, यसलाई तमाशा भनिन्छ !’

कांग्रेसका जिल्ला सभापतिहरूको हेटौंंडामा हालै सम्पन्न भेला कृष्ण सिटौला मञ्चमा नउक्ली सकिएको हो । माथि नबोलाइएको पीडा त थियो नै होला । उनैलाई एकथरि कांग्रेसहरू मुन्तिर बसेर ¥याख¥याख पारिरहेका थिए । ‘अलग समूह निर्माण गर्ने नाममा तपाईंले पनि त तमाशा देखाउनुभयो नि दाइ’, एकजना कार्यकर्ताले यसो भनेपछि सिटौलाले भने, ‘मैले त्यस्तो के गरें र ?’ अर्काले जवाफ फर्काए, ‘शेरबहादुर दाइसँग केन्द्रीय सदस्य माग्नुभयो, मन्त्री माग्नुभयो, महिला संघ र नेविसंघमा आफ्नो भाग खोज्नुभयो । भन्नुस् त, तपाईंले नपाएको के छ ?’

 त्यसो त सिटौलामात्र हैन, सहमहामन्त्री प्रकाशशरण महतलाई पनि मञ्चमा ठाउँ दिइएन । शेरबहादुर, रामचन्द्र, महामन्त्री सशांक कोइराला, विजय गच्छदार, उपसभापति विमलेन्द्र निधीमात्र थिए वक्ता । र, वक्ताबाहेकका कोही पनि मञ्चमा बोलाइएका थिएनन् । त्यसमध्ये सबभन्दा फायर थिए, प्रकाशमान सिंह । पार्टीमा हुकुमी शासन चलाउन खोजियो भन्दै उनी कार्यकर्तामाझ आपत्ति जनाइरहेका थिए । 

बेलाबेलामा मञ्चबाट झरेर कार्यकर्ताबीच पुगेका विजय गच्छदार भन्दै थिए, ‘कम्युनिष्टहरूको हेर्नुस् त, पार्टी एकता भयो, सम्मानजनक सहभागिता भनेर सबलाई केन्द्रीय सदस्य बनाइदिए । म पनि यत्रो पार्टी लिएर आएको छु । केही छैन । उपसभापति दिने भनेको । अहिले यस्तो हालतमा छु, यता न उता !’

टिप्पणीहरू