​राजमार्गमा अब फौज रित्तै

सुरक्षा, त्यसमा पनि सीमा सुरक्षा प्रत्येक राष्ट्रका लागि अति महŒवपूर्ण र संवेदनशील मानिन्छ । तर, हामीकहाँ सीमावर्ती क्षेत्रमा बढाइनुपर्ने सुरक्षा तैनाथी बेपर्वाहसँग भटाभट कटौतीमा परेका छन् । 

भारतले नेपालसँगको खुला सिमानामा हुने अन्तर्देशीय अपराधलाई दृष्टिगत गर्दै प्रत्येक एक–एक किलोमिटरको दूरीमा एसएसबी फोर्स तैनाथ गरेको छ । तर, यसैबीच नेपालको सीमा सुरक्षामा तैनाथ गरिएको सशस्त्र प्रहरी बलको तैनाथीमा भने व्यापक कटौती भएको छ । ८७ वटा बिओपी (बोर्डर अब्जर्भेसन पोष्ट) र २२ वटा सीसुका (सीमा सुरक्षा कार्यालय) थिए । तर, २७ जेठको मन्त्रिपरिषद् बैठकबाट ती तैनाथीको नामोनिशान मेटेर अस्थायीमा परिणत गरिएको छ । यससँगै पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा तैनाथ गणहरू पनि सारिनेमा परेका छन् ।

दुई वर्षअघि राजविराजमा एमालेको मेची–महाकाली अभियानअन्तर्गतको सभामा हिंसात्मक घटना हुँदा सशस्त्रको त्यही राजमार्गमा तैनाथ टुकडीले थप मद्दत गरेको थियो । सरकारले बिनाअध्ययन अकस्मात सीमा सुरक्षामाथि यस्तो लापरवाही गर्नुअघि कुनै कार्यदल वा छानबिन समिति गठन गरेको थिएन । जबकि, संवेदनशील विषय फेरबदल गर्दा त्यसबाट उत्पन्न हुने प्रतिक्रिया अध्ययन गरिन्छ, विज्ञहरूको राय लिइन्छ र त्यसका चौतर्फी असरको मूल्यांकन गरिन्छ । यी कुनै काम यस सन्दर्भमा भएका छैनन् । भनिएको के छ भने, अब सशस्त्र प्रहरीको तैनाथीलाई देशका ७७ वटै जिल्ला सदरमुकाममा पु¥याइने छ । तर, ७७ जिल्लामा उपस्थिति देखाउने नाममा राजमार्गको गस्ती कटौती गर्दा भोलि कुनै ठूलो घटना भई नेपाल प्रहरीको जनशक्तिले धान्ने अवस्था नआउँदा गर्ने के ? पहाडबाट सशस्त्र बोलाएर मद्दतमा खटाउने ? सशस्त्र प्रहरीसँग अहिले प्राविधिकसमेत गरी ३७ हजार एक सय १९ जनशक्ति छ । अचम्म के छ भने, सीमा सुरक्षा र राजमार्ग गस्तीका तैनाथी, जो फाइटिङ फोर्सको रूपमा छन्, तिनको कटौती गरेर खेलकुद गण र साँस्कृतिक गुल्म खडा गरिएको छ । जबकि सशस्त्र प्रहरीको परिभाषित जिम्मेवारीभित्र खेलकुद र संस्कृतिभन्दा पहिला अर्धसैन्य सुरक्षा फौजका रूपमा निर्वाह गर्नुपर्ने दायित्व पर्दछन् । अतिआवश्यक तैनाथीलाई फिर्ता गरेर कम आवश्यक क्षेत्रमा फौज खटाउने कुराले राष्ट्रिय सुरक्षामा गम्भीर असर गर्ने सुरक्षाविद्हरू बताउँछन् ।

यससम्बन्धमा सशस्त्र प्रवक्ता (डिआइजी) बाबुराम पाण्डेले दरबन्दी कटौती नभएर कमाण्ड मात्र परिवर्तन भएको बताए । खारेजीको हल्ला निराधार भएको भन्दै उनले कमाण्ड नफेरिने दाबी गरे । सीमामा खटिने सशस्त्र प्रहरीको अह्रनखटन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित क्षेत्रका गणमातहत लगिएको उनले बताए । जनसम्पर्कका डिएसपी अजय छत्कुलीका अनुसार, अब सीमा सुरक्षा कार्यालयमा खटिने इन्स्पेक्टरहरूको सरुवा त्यहीँको गणले गर्न पाउने व्यवस्था भएको छ ।

टिप्पणीहरू