गाला चड्काउन मान्यज्यू गएपछि…

‘तेरो गाला चड्काइदिऊँ !’
‘संसदमा कुरा उठाउनु नपरोस् है एसपी सा’ब !’

भन्नुस् त, मामुली सई दर्जाको एउटा प्रहरीलाई देशको विधायकले होस–हवासमै ‘गाला पड्काइदिऊँ’ भन्यो भने त्यसले के गर्ला ? अरु भए त त्यो विचरोले औँलाका पाँचै छाप प्रष्ट देखिने गरी उल्टै गाला पड्काइदिन्थ्यो । तर, मन्त्री हुने हैसियतका माननीयज्यूलाई त्यसो गरिहाल्न पनि भएन । अनि, सईले ‘नटेरेपछि’ उनी पुगेछन् एसपीकहाँ । अनुसन्धानको काम भन्नेबित्तिकै मेसिनले गरेझैँ, छिनभरमै हुने कुरा पनि होइन । ‘मेरो काम नगर्ने ? तपाईंका विरुद्ध संसदमा कुरा उठाउँछु †’ यसो भनेर एसपीलाई थर्काएपछि उनी पनि लल्याकलुलुक्क पर्ने नै भए । यसपछि आइजिपी सर्वेन्द्र खनाललाई फोन गरेर समस्या सुनाए । आइजिपी आफैँ अनुसन्धानमा हिँड्ने कुरा भएन । गर्ने त त्यही ठाउँ हो, जहाँ उनले गाला पड्काउनेदेखि संसदमा कुरा उठाउनेसम्मका कुरा गरेका छन् । आइजिपीले उपत्यका अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहलाई फोन गरेर भने, ‘अरुलाई लगाएर हैन, आफैँ लागेर यो मान्यज्यूको हुनेसम्मको काम गरिदेऊ न यार…!’

डोटीका सांसद तथा नेकपाका केन्द्रीय सदस्य प्रेम आले यस्तो तनावमा परेका छन् कि, वास्तवमा प्रहरीले पनि बेलामा काम नगरिदिँदा पीडा थपिएको थपियै छ । भन्न कसैलाई बाँकी राखेनन् । पहिला सञ्चारमन्त्री गोकुल बाँस्कोटाकहाँ गए । त्यहाँबाट प्रहरीमा जान सुझाव पाए । टेकुस्थित अपराध महाशाखामा गए । प्रहरीले सांसद आलेलाई तनाव दिने कसुरका झण्डै १२ सय मानिस फेला पा¥यो । ती मानिस कोही झापा, मोरङतिरका छन्, कोही डोटी, अछाम, डडेल्धुरा, दार्चुलाका । अनुसन्धान गर्ने प्रहरी छ, काठमाडौंमा । ती सबै मान्छे पोको पारेर थुन्नुपर्ने माग छ, सांसदको । प्रहरी सुनाउँछ, आफ्ना केही प्राविधिक र कानुनी समस्या । 

भएको के हो भने, सांसद आलेको आधिकारिक फेसबुक अकाउन्ट कसैले ह्याक गरेर चलायो । ह्याकर पत्ता लगाउने प्रहरीले फेसबुकको सिंगापुरस्थित दक्षिण एशिया हेर्ने कार्यालयलाई पत्राचार गरिसकेको छ । त्यो ह्याकरले गर्दोरहेछ के भने, म्यासेञ्जरमा बढी सम्पर्कमा रहेका व्यक्तिसँग मलाई हजार वा पाँच सयको रिचार्ज कार्ड चाहियो भनेर माग्ने । प्रेम आले पैसाले साह्रै दुःख पाउनुपर्ने, त्यसमाथि रिचार्ज नै माग्नुपर्ने स्थितिका मान्छे त झनै हैनन् । तर, काठमाडौंमा बिचराको खर्च बढ्यो होला भनेर बढीजसो सुदूरपश्चिमका निर्माण व्यवसायीहरुले पाँच हजारसम्मका रिचार्ज नम्बर उनलाई म्यासेजमा पठाए । हजार र पाँचसयका त कति आए कति । कतिसम्म भने उनीसँग सिंहदरबारतिर सधैँजसो, सँगै खाने, हिँड्ने संसदीय मामिला पत्रकार समाजका अध्यक्ष नरेन्द्र साउदले म्यासेञ्जरमा रिचार्ज मागेको म्यासेज हेर्नासाथ थपक्क लाएर पाँच सयको कार्ड किने, त्यसमा रहेको नम्बर म्यासेञ्जरमा हालिदिए । आले राजनीतिसँगै सुदूरपश्चिममा कहलिएका निर्माण व्यवसायी (ठेकेदार) पनि हुन् । बढीजसो निर्माण व्यवसाय क्षेत्रका साथीहरुले रिचार्ज नम्बर हालिदिएका छन् । यसरी आलेको फेसबुक ह्याक गरी मागिएका रिचार्जबाट उनको मोबाइल अहिलेसम्म रिचार्ज भएका छैनन् । नम्बर आउनासाथ अनलाइन सपिङ गर्नेहरुलाई बेचिहाल्ने † जस्तो कि, हजार रुपैयाँको रिचार्ज कार्ड आठ सयमा दिन्छु भन्यो भने कसले नकिन्ला ? सित्तैमा आएको कार्ड ह्याकरले त्यही तरिकाले बेचे । ह्याकर पनि एकजना होइन, दुईजना होइन दर्जनौँ । अनलाइनबाट क–कसले रिचार्ज किन्यो भन्ने कुरा प्रहरीले पत्ता लगाइसकेको छ । देशभरिमा तिनको संख्या छ, १२ सयभन्दा बढी । आलेको माग हो, ती सबैलाई घ¥यापघुरुप ल्याएर थुन्नुपर्ने ! यसरी तनाव भएपछि उनी पहिला सञ्चारमन्त्री, त्यसपछि अपराध महाशाखा, त्यहाँबाट भनेजस्तो भएन भनेर आइजिपीकहाँ पुगे । र, फेरि अपराध महाशाखामै पुगेर थप अनुसन्धान चलिरहेको छ । त्यसक्रममा अपराध महाशाखाको कम्प्युटरमा काम गर्ने एकजना सईलाई ‘गाला पड्काइदिऊँ’ सम्म भन्न भ्याए ।

टिप्पणीहरू