गुट्खा र सुर्ती, मालपानीको फूर्ति

गुट्खा र सुर्ती, मालपानीको फूर्ति
सुन्नुहोस्

बुटवलको मैनाबगरस्थित श्रीराम टोबाको उद्योगको मुख्य उत्पादन भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीले अन्तःशुल्क छल्दै आएको बताइन्छ । सुर्ती, गुट्खा उत्पादन गर्ने देशकै सबैभन्दा ठूलो सो उद्योगमा कमलकिशोर मालपानी, चुन्नु पौडेल, तानबहादुर पाण्डेलगायतको लगानी छ । 

भोला ब्राण्डको गुट्खा देशैभर खपत हुन्छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भए पनि श्रीराम उद्योगका उत्पादनको सितिमिति चेकजाँच हुँदैन । प्रहरीले छुनै हिम्मत गर्दैन भने राजश्वका अधिकारीहरूले पूर्व सूचना दिएर मात्र निरीक्षण गर्छन् भनिन्छ । त्यसमाथि एकपटक प्रयोग भएको स्टिकर दोहोर्‍याई तेहेर्‍याई प्रयोग गर्ने गरेको आरोप पनि छ । अन्तःशुल्कको स्टिकर एकपटक प्रयोग भएपछि फेरि चलाउन पाइँदैन । उद्योगले प्रत्येक पोकामा अन्तःशुल्कको स्टिकर लगाउनुपर्छ ।

सरकारले सुर्तीमा प्रति केजी ८८० र गुट्खामा ९४० रूपैयाँ र भ्याट १३ प्रतिशत जोडेर राजस्व लिन्छ । त्यसमा प्रतिकिलो ६० रूपैयाँ स्वास्थ्य जोखिम कर लाग्छ । जीत सुर्ती ४०० ग्राम र गुट्खाको १५० ग्रामका पोका बन्छन्, तिनै पोकामा अन्तःशुल्कको स्टिकर टाँस्नुपर्ने हो । खुद्रा विक्रेताकहाँ पोकामा टाँसिएका स्टिकर संकलन गर्न उद्योगले कर्मचारी राख्ने गरेको छ । पसलेले प्रति स्टिकर तीनदेखि पाँच रूपैयाँ पाउँछन् । ३० हजार तलब दिएर स्टिकर जम्मा गर्न ड्राइभर, सेल्स ब्वाई खटाइन्छ । ‘अन्यत्र काम गर्दा १५ देखि १८ हजार पाइन्छ, यहाँ ३० हजार नाघ्छ’– स्टिकर जम्मा गर्ने एक कर्मचारी भन्छन् – ‘सुविधा राम्रो भएपछि अलि अलि जोखिम त मोल्नैपर्‍यो नि !’ 

उद्योगको नामबाट सुपारी आयात निर्यात गर्ने बहानामा तस्करीसमेत गर्दै आएको श्रीराम टोबाकोका साहुले आन्तरिक राजस्व कार्यालयका हाकिम नै फेर्ने हैसियत राख्छन् । उक्त कार्यालयका एक कर्मचारी भन्छन्– ‘उद्योगीलाई हाम्रा हाकिमले राजा नै मान्छन्, नुनको सोझो त गर्नै पर्‍यो !’

श्रीराम गुट्खा उद्योगले बजारमा पठाइसकिएको अन्तःशुल्क स्टिकर उप्काएर संकलन गरेका व्यापारीलाई मोरङको धनपालथानबाट गत मंसिरमा प्रहरीले पक्राउ गरेको थियो । धनपालथान– ४ कर्सियाबाट प्रहरीले केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई पक्राउ गरी आन्तरिक राजस्व कार्यालयमा बुझायो । भोला, करेन्ट गुट्खालगायत सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरूपयोग भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरे पनि राजस्व अधिकारीहरूको सेटिङका कारण मुद्दा भने प्रभावकारी भएन ।

राजवंशीले कर्सिया बजारदेखि पूर्वी शहरसम्मका सुर्तीजन्य पदार्थमा लगाएको अन्तःशुल्कको स्टिकर भण्डारण गरेका थिए । उक्त अन्तःशुल्कको स्टिकर अन्य पसलसँग ३ देखि ४ रूपैयाँमा खरिद गरी श्रीराम उद्योगले उत्पादन गर्ने ‘करेन्ट’ गुट्खामा पुनः प्रयोगको लागि पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तत्कालीन डिएसपी रञ्जन दाहालले राजवंशीको पसलबाट ‘रेडिमेड टोबाको’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद गरेका थिए । प्रहरीले आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएकोमा सो को नाम मात्रको अनुसन्धान र मुद्दा चलिरहेको छ । 

डिएसपी दाहालको अनुसन्धानमा गुट्खा, मदिरालगायतका वस्तु अन्तःशुल्क स्टिकर लगाएर बजारमा पठाइने भए पनि प्रयोग भइसकेको स्टिकर उप्काएर पुनः प्रयोगका लागि जम्मा गर्ने गरेको उल्लेख छ । गुट्खा, सुर्ती, सुपारीसँगै चाऊचाऊ, मसलालगायतका उद्योगमा साम्राज्य फैलाएका कमलकिशोर मालपानीलगायतको समूहले लजिष्टिक अधिकृतमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षबाट बजेट आउने दिन करका दर हेरफेर गराउन सफल पूर्व नासु रघुनाथ घिमिरेलाई नियुक्त गरेको छ ।

उनै घिमिरेले नीति निर्माण तह मात्र होइन राजस्व र प्रहरी अधिकारीलाई मिलाउने कामसमेत गरेकाले श्रीराम उद्योग र त्यसका सञ्चालकहरूविरुद्ध अहिले आन्तरिक राजस्व विभाग र अदालतमा गरी राजस्व ठगीका दर्जनौं मुद्दा चलिरहेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू