पूरै समय नटिकेको ठाउँमा
दक्षिण अफ्रिकाको राजदूतबाट सहसचिव अमृत राई कार्यकाल चार वर्ष पुग्न एक महिना बाँकी हुँदै हतार हतार फिर्ता बोलाइएका छन् । नेकपामा कुरा उठेको छ कि, ‘कार्यकाल सकेर बोलाएको भए के बित्थ्यो !’ अहिले उनी काम नपाएर, घाममात्रै तापी बसिरहेका छन् । न न्यूयोर्कको नयाँ पोष्टिङ, न मन्त्रालयमा कुनै जिम्मेवारी ।
अमेरिकामा चार वर्षलाई राजदूत बनाएर पठाइएका अर्जुन कार्की आउने वैशाखमा फर्किने बेला भइसक्यो । राजदूत भएर जाँदा ‘कर–बल गरेर पठाए, म दुई वर्षका लागि मात्र आएको हुँ, त्योभन्दा बढी बस्न मन छैन’ भनेका उनी यतिबेलाचाहिँ म्याद थपाउन दौडिएका छन् । भन्दैछन्, ‘मेरो मिशन सकिएको छैन ।’
०४६ सालको परिवर्तनपछि वासिङटन डिसी गएका राजदूतमध्ये ढुक्कले चार वर्षे कार्यकाल खाने शंकर शर्माबाहेक कोही भएनन् । कोही कालगतिले गए, कोही सरकार ढलेसँगै फिर्ता भए । जयप्रताप राणालाई कालगतिले लग्यो । ०४७ का गृहमन्त्री योगप्रसाद उपाध्यायलाई गिरिजाले फिर्ता बोलाए, किताब उठाएको काण्डमा परेर विश्व प्रधानको जागिर नै गयो । ०५१ को नौ महिने सरकार छँदा एमालेबाट पठाइएका बासुदेव ढुंगाना आठ महिनामै फिर्ता भए । मुख्यसचिवबाट राजदूत हुन गएका दामोदर गौतमलाई गिरिजाले नै फर्काए ।
डा. सुरेशराज चालिसेलाई कम्युनिष्ट पार्टीको सरकारले तान्यो । अहिलेकाचाहिँ चार वर्ष सकिएर फेरि थपाउन कुदिरहेका छन् । यसबीच एउटा उपलब्धी थपिएको छ । सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेल काठमाडौं आएदेखि अमेरिकासँग परराष्ट्रमन्त्रीस्तरीय भ्रमण आदानप्रदान भएको थिएन । उनी इराक युद्ध हाँक्ने पूर्वप्रधानसेनापति पनि हुन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई १६ वर्षपछि उता लगी समकक्षीसँग भेटाउनमा सफलता पाएबापत अर्जुनको नम्बर बढेको हुनुपर्छ ।
टिप्पणीहरू