​त्यस्तालाई सेक्ने के छ तरिका ?

हामी कानुन त बनाउँछाँै । तर, पढ्दैनौँ र त्यसमा नराम्रा–नराम्रा आशंका झिकेर होहल्ला मात्र गर्छौं । पहिला व्यक्ति हत्याका गम्भीर कसुरमा बीस वर्ष कैद र त्यसमा झण्डै आधी छूट हुन्यो भने अब प्राण नजाउञ्जेल चार दिवारबाहिरको संसार हेर्न नपाइने अवस्था छ । यद्यपि, यो सजायँ राष्ट्र लुट्नेहरूको हकमा भने आकर्षित हुने छैन । 

भदौ १ गतेदेखि जारी भएको फौजदारी अपराध संहिताअनुसार कास्की जिल्ला अदालतले पहिलोपटक फैसला गरेको छ, जीवत रहुञ्जेलसम्मका लागि कैद सजायँको । कास्की, पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेललाई बाँचुञ्जेल कैदको सजायँ भएको हो । यस्ता कसुरमा माफी, मिनाहा र मुल्तवीजस्ता सुविधा हुँदैनन् । मान्छेलाई क्रुरतापूर्वक कुटेर मारे पनि आजन्म कैदको सजायँ हुन्छ, बीचमा कुनै दिवशको बहाना बनाएर छाड्न पाइन्न ।

सामुहिक बलात्कारका दोषीले उन्मुक्ति पाउने गरी कुनै किसिमको कानुनी सुविधा उपलब्ध छैन । त्यसअघि प्रचलित कानुनअनुसार जति सजायँ हुन्थ्यो, त्यसमा बरु पाँच वर्ष थप भएको छ । मुलुकी अपराध संहिता ०७४ को व्यवस्थाअनुसार सजायँका सात क्षेत्र छन् । एउटा जन्मकैदमात्र । अर्को जन्मकैद र जरिवाना । त्यस्तै, क्षतिपूर्ति भराउने । यदि क्षतिपूर्ति तिर्न नसकेमा थप कैद हुने व्यवस्था छ । कलेजकी छात्रा ख्याति श्रेष्ठलाई टाउको, हातखुट्टा छुट्याएर क्रुरतापूर्वक मार्ने वीरेन्द्र श्रेष्ठले पहिलाको कानुनअनुसार सजायँ करिव–करिव आधा भुक्तान गर्न लागिसके । तर, अबका त्यस्ता कसुरमा यस्तो सुविधा प्राप्त हुँदैन, बाँचुञ्जेल जेल बस्नुपर्छ । यस्तै, बायुयान अपहरण, शरिर बन्धकको अवस्थामा ज्यान लिने काम भयो, सार्वजनिक खपतका खाद्य र पेय पदार्थमा विषाक्त पदार्थ मिसाइयो, जाति हत्या (एकजनालाई मात्र मारे पनि) जस्ता कसुर गरियो भने जन्मकैदको सजाय तोकिएको छ । पहिला–पहिला २० वर्षको दिन र रात गन्दा आधा हुन्थ्यो, अब २५ को आधा हुने व्यवस्था छ । 

तर, फेरि पनि सबभन्दा हाइसञ्चो हुनेछ भ्रष्टाचारीलाई । भ्रष्टाचारका मुद्दामा चार वर्षभन्दा बढी थुन्न नपाइने कानुन छ । जतिसुकै मूल्यको घोटाला गरे पनि, देशै लुट्ने गरी कसुर गरेको भए पनि चार वर्षमा भ्रष्टाचारी सर्लक्क निस्कने व्यवस्था छ । किष्ट बैंक घोटाला प्रकरणपछि फरार भएका तत्कालिन सिइओ कमल ज्ञवाली पनि यही सुविधाअन्तर्गत साढे तीन वर्षमा मुक्त हुँदैछन् । एकातिर लुकाएको सम्पत्ति पत्ता नलाग्ने † त्यसमाथि जेल पनि धेरै बस्नुनपर्ने भएपछि नियत खराब भएका मान्छेहरू हौसिने नै भए ।

टिप्पणीहरू