​दुई तिहाइ कि दुई मात्र ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदको दुई तिहाइप्राप्त छ । त्यसैले उहाँ शक्तिशाली हुनुहुन्छ । तर संसदमा दुई तिहाइ भएको प्रधानमन्त्रीको आफ्नै पार्टीमा भने दुई तिहाइ छ जस्तो लाग्दैन । कहिलेकाहीं त यस्तो लाग्छ कि पार्टीमा उहाँसँग दुई तिहाइ होइन दुई मात्र छ । एक, उहाँ आफै । अर्को, पृष्पकमल दाहाल प्रचण्ड । अलि–अलि भूपू र वर्तमान महासचिव बाँकी सबै अर्कैतिर । पार्टीका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल उहाँसँग हुनुहुन्न । यसपाली थाहा भयो, अर्का वरिष्ठ नेता वामदेव गौतम पनि उहाँसँग हुनुहुन्न । नारायणकाजी हुने त कुरै भएन । इश्वर पोखरेल हुनुहुन्छ तर पूरा हुनुहुन्न । अष्टलक्ष्मी शाक्य त झनु पूरै हुनुहुन्न ।

कूल मिलाएर हिसाब गर्दा उहाँसँग दुई तिहाइ भएको देखिँदैन । गणितले त यही भन्छ । अर्को कुनै शास्त्रले हिसाब गरे भन्न सकिन्न । फलतः के भन्न सकिन्छ भने उहाँ प्रधानमन्त्री दुई तिहाइवाला भए पनि अध्यक्षचाहिँ दुईवाला मात्रै हुनुहुन्छ । यसले गर्दा पार्टीभित्र सरकारको कडा आलोचना हुने अवस्था छ । अहिले सरकारको आलोचना कांग्रेसको बैठकमा होइन नेकपाकै बैठकमा बढी हुने गर्छ । कांग्रेसले त अचेल आलोचना गर्नै छोडिसक्यो भन्दा पनि हुन्छ । के आलोचना गर्नु ! जति गरे नि सुध्रिने होइन क्यारे ! त्यसैले अहिले नेकपाको काँधमा सरकारको बचाउ गर्ने मात्र होइन सरकारको आलोचना गर्ने जिम्मेवारी पनि आइरहेको छ । कठै, नेकपा !

टिप्पणीहरू