देउवाको औंठी

कांग्रेस सभापति शेरबहादुर देउवा कुनै बेला औंलाभरि औंठी लगाउने नेताको रुपमा चिनिनुहुन्थ्यो । यसपटक के भएछ कुन्नि, उहाँका औंलाहरूमा त्यतिविधि औंठी देखिए । देखिन्न के, एउटै पनि औंठी लगाएको पाइएन । देउवाको हातमा औंठी नदेखेपछि आश्चर्य लाग्यो ।

अब उहाँले औँठी किन लगाउनु भएन ? कुनचाहिँ ज्योतिषले भनेका कारण लगाउनु भएन ? कांग्रेस सरकारबाट हटेको कारण औंठी नलगाउनु भएको हो कि औंठी नलगाएको कारण कांग्रेस सरकारबाट हट्नु परेको हो ? 

उहाँले औंठी नलगाउनु र कांग्रेस सरकारमा नहुनु बीचमा के तालमेल छ ? कुनै तालमेल त होला नि । नभए उहाँको हातमा औंठी नहुनु र कांग्रेस सरकारमा पनि नहुनु एकैचोटी कसरी सम्भव छ ? 

अस्ति महासमिति बैठकमा आफ्नै कार्यकर्ताले उहाँको साह्रै अपमान गरे । हलमै हुटिङ गरे । हाहु मच्चाए । शायद हातमा औंठी नभएकै मौका पारेर त्यस्तो गरेको हो कि ? उहाँको हातको औंठी नभएको देखेर कार्यकर्ताले पनि हेप्ने आँट गरेको हो कि ? 

उहाँको औंठीमा ठूलो शक्ति हुन्छ भनिन्थ्यो । उहाँ जनता र कार्यकर्ताको शक्तिमा भन्दा पनि औंठीको शक्तिमा बढी विश्वास गर्नुहुन्थ्यो । त्यसैले कार्यकर्ताको बलमा भन्दा पनि औंठीको बलमा सत्तामा पुग्न सकिन्छ भन्ने विश्वास थियो । 
तर अहिले औंठी छैन, शक्ति पनि छैन । अब कहिले आउँछ होला उहाँको हातमा औंठी ?     

टिप्पणीहरू