छेऊमै यस्तो बिजोग छ

सुन्दा पनि अचम्म लाग्छ, स्थानीय चुनाव सकिएको डेढ वर्ष भइसक्यो । तर, त्यहीबेला गरिएको एउटा कारोबारका कारण एउटा सिंगो गाउँका युवाहरूको भागाभाग छ ।

प्रसंग राजधानीसँग जोडिएको जिल्ला धादिङको हो । नागार्जुनको जंगलभित्र छिर्दा आर्मी व्यारेक कटेपछि केही पर धुनिबेसी नगरपालिका आउँछ । त्यहाँ ककरे, सानो गाउँ, चिलाउने, गैरीगाउँ, तामाङहरूको बसोबास रहेको भञ्ज्याङ, ठूलोगाउँजस्ता बस्ती छन् । पहिला राप्रपामा रहेर पछि एमालेबाट वडाध्यक्ष जितेकाहरू पनि त्यहीँ छन् । चुनावताका सहकारीबाट मिलाएर पैसा झिकी पहिलो किस्तामा युवा परिचालनका लागि १२ वटा मोटरसाइकल दिइएको थियो । चुनाव सकियो । तर किस्ता तिर्न चासो राखिएन ।

अहिले सहकारीले ताकेता गर्न थालेपछि युवाहरूको भागाभाग छ । न मोटरसाइकल छ, न तिर्ने मान्छे छन् । नेताले ‘मैले फलानो फलानोलाई मोटरसाइकल दिएको हुँ, तिनीहरू फरार छन्’ भन्दै आफू पन्छिने गरेका छन् । सेनाको क्याम्प छिचोल्दै त्यहाँ जानुपर्छ । त्यहाँ सिंखडाका २५ घर, बलामी ४२ घर, तामाङहरूको गैरीगाउँमा ४० घर छन् । सेनाको क्याम्पबाट छिर्नुपर्ने, बिहान ४ बजेदेखि बेलुकी ७ बजेभित्र आवतजावत गर्न पाइन्छ । सेनाले भन्छ, ‘कि परिचयपत्र बनाऊ, कि टिकट काट !’ निकुञ्जले यस्तो भनेपछि छोरी ज्वाइँ गाउँ जाँदा पनि टिकट काट्नुको सास्ती हुन्छ । यस्तो स्थितिले विकास निर्माणदेखि सबै काम अवरुद्ध छ । 

यसले देखाउँछ, अब वडाको चुनाव जित्न पनि मनमात्रै भएर नहुने भयो, धन पनि चाहियो । वडामा त यस्तो बिजोग छ, संसदको चुनाव उठ्नेले कसरी धान्दो हो त्यत्रो खर्च ? 

टिप्पणीहरू