​हिउँ चपाउन हिँडेको हो यो हुल ?

उसै त काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्दा सर्वसाधारणको बेहाल छ । त्यसमाथि बेला न कुबेला एक हुल मान्छे माइनस १० डिग्री तापक्रम रहेको मुलुकतर्फ जान विमानस्थलतर्फ ओइरो लाग्छन् भने स्वाभाविकै प्रश्न जन्मिन्छ– कतै केही गड्बडी त छैन ? प्रसंग रसिया जाने क्रममा मंसिर २४ गते रोकिएका ४४ जना नेपालीको हो ।

सोलुखुम्बु, भोजपुर, संखुवासभा, म्याग्दी, रसुवा, दोलखा, लमजुङजस्ता जिल्लाको विकट भूभागबाट राजधानी थुप्रिएका ती यात्रुले अन्ततः सिआईबी र अध्यागमनलगायत सबैतिरको सेटिङ मिलाएर अस्ति सोमबार राति विदेश जाने अनुमति फुत्काएका छन् । पहिले कहीं कतै यात्रा नगरेका, पारिवारिक पृष्ठभूमि नाजुक रहेका, पढाइलेखाइमा सामान्य ती व्यक्तिहरु एउटै गाडीमा हुरुरु विमानस्थल पुगेपछि तिनलाई कूटनीतिक, सरकारी र विदेशी विमानसेवाका कर्मचारीहरुले प्रयोग गर्ने अध्यागमन डेस्कबाट ससम्मान एयर अरेबियाको जहाज जी–९ ५३८ मार्फत् सारजहाँ हुँदै मस्को जान अनुमति प्रदान गरिएको हो ।

यसरी जानेहरु प्रायः मंगोल मूलका छन् । एक्लाएक्लै बस्दैनन्, कोहीसँग छुट्टै बोल्दैनन्,  केटाहरुले समेत झ्यापझ्यापी कपाल पालेका छन् । पहिलो गन्तव्य नै रसिया बनाएका उनीहरु त्यहाँबाट अन्य मुलुकतर्फ प्रस्थान गर्ने योजनामा रहेको बुझ्न  कठिन छैन । भिजिट भिसामा खाडी या अन्य राष्ट्र जाँदा कडाई गर्दै आएको अध्यागमनले यस मामिलामा किन आँखा चिम्लियो बुझ्न सकिएको छैन । अहिले रसियामा पर्यटकीय सिजन होइन र यी यात्रुहरु त्यहीं घुमेर फर्कने सम्भावना त झन् छँदै छैन । त्यतैबाट अनेक दुःख हण्डर खाई अन्य युरोपेली मुलुकतिर छिर्ने तिर लागे भने भोलि आइपर्ने समस्याको सामना कसले गर्ने हो ? सोको पनि यकिन छैन । 

टिप्पणीहरू