​बुढ्यौलीमा हतियार र बक्सिङ

एकथरि सुरक्षाकर्मीको दुःख कस्तो भने, जागिर उहिल्यैको । तालुको कपाल झरिसकेका छन् । पाक्कपुक्क भुँडी पनि आउने नै भयो । खुट्टोको चाल बैंशको जस्तो सतर्क हुन्न । तर, तिनलाई अब काँधमा हतियार भिराएर परेड खेल्न, बक्सिङ, कराँते, कुङ्फु हान्न पठाइँदैछ ।

सादा पोशाकमा गुप्तचरी गर्नुपर्ने राष्ट्रिय अनुसन्धान विभागको एसपी र एसएसपी दर्जाका हाकिमहरुलाई आइलागेको ‘आपत’ हो यो । धेरै वर्ष पहिला नेपाल प्रहरीसँगै, उनीहरुलाई जस्तै तालिम दिएर जागिरमा पठाइन्थ्यो । तर, तत्कालीन राष्ट्रिय गुप्तचर विभागको नामबाट ‘गुप्तचर’ हटाई ‘अनुसन्धान’ बनाइएसँगै कठोर तालिमको बाध्यता हट्योे ।

अकस्मात जागिर खाएको २०–२५ वर्ष कटेपछि त्यहाँका हाकिमहरुमा अत्यास चल्ने गरी चिठी पुगेको छ, तालिमको । अस्ति सोमबार (२१ गते) सम्पर्क मिति राखेर गएको चिठीअनुसार उनीहरुले नेपाल प्रहरीको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तीन महिने आवासीय तालिमका लागि सरिक हुनुपर्नेछ । त्यसरी नब्बे दिनसम्म क्याम्पभित्र रहेर पुलिसको मैदानमा परेड खेल्न पुग्नुपर्नेहरुको संख्या ३० जनाको छ ।  अघिपछि सादा पोशाकमा ड्युटी गर्ने हाकिमहरुले प्रहरीले जस्तै कम्ब्याट, चुस्ता लगाएर तालिम गर्नुपर्ने छ ।

अहिले उनीहरु लुगा सिउने दर्जीकहाँ तालिमे पोशाकको नाप दिँदैछन् अनि कुद्नलाई ट्र्याकसुट र जुत्ताको समेत जोहो गर्दैछन् । तर, त्यो लुगा न तालिम अघि, न तालिम पछि– खासै काम लाग्दैन । यस क्रममा उनीहरुलाई साना तथा मझौला हतियार चलाउने तालिम पनि दिइँदैछ । 

उता, राअविबाट एआइजीको एउटा दरबन्दी कटौतीमा परे पनि डिआइजीको भने आवश्यकताभित्रै भएका कारण नकाटिने सम्भावना छ । हाल ११ जना डिआइजी छन् । सात प्रदेशलाई सात जना, सुरक्षा परिषद्मा एक, अपरेशनलाई एक गरी ठिक्क पुग्दो दरबन्दी नकाट्न विभागले मन्त्रालयसँग लबिङ गरिरहेको बताइन्छ ।

टिप्पणीहरू