उठबस गर्न श्रीमानको आदेश

‘तपाईंहरु कान समातेर उठ्बस गर्नुस्, उहाँ प्रतिष्ठित व्यक्ति हो । रेडियोवालाले पनि बुझ्नुस् है त, नभए मुद्दा हेर्ने मैले नै हो !’ झट्ट अनुमान गरौँ त, यस्ता भाषा कसले बोल्छन् ? जनतालाई न्याय निसाफ दिने माननीय श्रीमान्का मुखबाट माघ २१ गते यस्ता शब्द आउँछ भनेर कल्पनासम्म गर्न सकिँदैन । तर, भयो त्यस्तै ।
 
अछामको ढकारी गाउँपालिकामा भएको अनियमितताबारे सर्वसाधारणले अख्तियारमा उजुर गरेपछि जनआस्थामा पाठकपत्र प्रकाशित भयो । त्यसका कारण विभिन्न योजनाका नाममा छुट्याइएको रकम फिर्ता गर्ने लहर नै चल्यो । स्थानीय रेडियो रामारोशनले आफ्नो समाचारमा निरन्तर समाचार प्रशारण गरिरह्यो । हरेक बेलुका र बिहान ८ बजे अछामी भाषाको समाचारमा पनि ती कुरा आए । केही दिनपछि रेडियो समाचारदाता ललित बूढा स्थलगत रिपोर्टिङमा पुग्दा गाउँपालिका अध्यक्ष धनबहादुर बूढाको नेतृत्वमा ललित कुटिए । यसविरुद्ध पत्रकार महासंघको जिल्ला, प्रदेश र रेडियो रामारोशनले विज्ञप्ति निकाले ।

स्थानीय प्रहरीको सहयोगमा पत्रकारको उद्धार त भयो, तर त्यतिञ्जेलमा उनीमाथि भौतिक आक्रमण भइसकेको थियो । प्रहरी चौकी पुगेर ललित रेडियोको सम्पर्कमा पुगे, आफ्नाबारेमा सबै कुरा बताए । तर, तीनवटी पत्नीका धनी अध्यक्ष धनबहादुरले रेडियोमा सुनाएका कुराले मानहानी दावी गर्दै रेडियोसहित चौरपाटी साप्ताहिक, कैलाशपोष्ट अनलाईन र जनआस्थाविरुद्ध अदालतमा मुद्दा हाले भने पत्रकार ललितको तर्फबाट कुटपिट मुद्दा दायर भयो ।

यही सिलसिलामा हो, न्यायाधीशले धनबहादुरसँग माफी माग्न पत्रकारलाई आदेश दिएको । यो मुद्दा न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा छ । पत्रिकावालाले छापिएको समाचार गलत भन्दै गाउँपालिका अध्यक्षको जीवनी छाप्नु पर्ने र रेडियोमा समाचारअघि धनबहादुरको चरित्र हत्या भएको भन्दै सूचना बजाउने, थप समाचारमार्फत् उनको व्यक्तित्वमाथि प्रकाश पार्ने मौखिक आदेश श्रीमानबाट आएको हो । ‘नत्र मुद्दा हेर्ने मैले नै हो कुरा बुझ्नु भो नि’ भन्दै श्रीमान्ले घुमाउरोपारामा धम्क्याएको पीडित पत्रकारहरुले महसूस गरेका छन् । पत्रकारहरुले ललित बूढामाथि कुटपिट भएको र त्यससम्बन्धी मुद्दाको कुरा उठाउँदा न्यायाधीशले त्यसबारे थाहा नभएको सुनाए । 

टिप्पणीहरू