​प्रधानमन्त्री फेर्ने नै थियो त त्यो प्रस्ताव ?

प्रधानमन्त्री विदेश यात्रामा हुँदा देशमा पाकेको एउटा खिचडीको दृश्य जनआस्थाले फेला पारेको छ । प्रम केपी ओली डाबोस् बैठकबाट १२ गते स्वदेश फर्किनुभयो । त्यसको दुई दिनअघि, १० गते बिहान ललितपुर, झम्सिखेलस्थित एउटा अपार्टमेन्टमा पाँच जना वरिष्ठ नेता छलफलमा जुटेका थिए । बहालवाला एकजना बरिष्ठ मन्त्रीले स्विट्जरल्याण्डमै फोन गरेर प्रमलाई यस्तो खबर सुनाइदिएपछि एउटा तरंग उत्पन्न भएको कुरा अहिले बल्ल खुल्दै छ । 

प्रम ओलीले डाबोस् जानुअघि पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई ‘मन्त्रिमण्डलबारे समीक्षा गर्नु छ, म पनि गर्दैछु, तपाईं पनि गर्दै गर्नुस्, आएर केही साथीलाई बिदा गर्नुछ’ भन्नुभएको थियो । त्यसो भनेर मै गएको केही दिन उक्त अपार्टमेन्टमा बिहान ८ बजेदेखि एक घण्टा ५५ मीनेटसम्म प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितको जमघट भएको बताइन्छ । सरकार र पार्टी एकतासम्बन्धी कार्यदल दुबैमा नरहेका नेतालाई जुटाएर सांगठानिक एकीकरण लाजमर्दो भयो, सरकारलाई के गरी गति दिन सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

भेलामा प्रचण्ड खासै नबोलेनको तर, माधव नेपालले ‘बैठक भनेर बोलाउने, बालुवाटारमा घण्टौँ कुराउने, उस्तै परे बैठक नै नबोलाउने । यस्तो कार्यशैली ठीक भएन’ भन्ने प्रसंगबाट कुरा शुरु गर्नु भएको थियो । त्यसमा कसै कसैले संसदीय दल, पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित सबै पद लिएको कारण केपी ओलीमा उन्माद बढेको, पार्टीभित्रको वर्तमान समीकरणमा दुईपक्ष मिल्दा तेस्रोको खैरियत नहुनेजस्ता कुरा पनि निस्किएका थिए । अहिले नेकपाभित्र केपी, माधव, र प्रचण्डका गुट छन् । विगतमा एमालेभित्रको गुटबन्दीकै कारण माधव, झलनाथको सरकार ढलेको घटना ताजै छ । त्यहाँको भेलासम्बन्धी विभिन्न नेताका अंगरक्षकबाट सूचना पाएर रक्षामन्त्री ईश्वर पोखरेलले माधवकुमार नेपालसँग सोधखोज गर्दै ‘तपाईंहरु जुट्नुभा’रहेछ !

प्रधानमन्त्रीलाई हटाउने सल्लाह भएको होला, हैन ?’ भनेर जिज्ञासा राखेको अहिले पार्टीमा चर्चा छ । माधवले ‘हैन, त्यस्तो भएकै हैन । बरु, तपाईंले पनि प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सुधार्न भन्नुस् । पार्टी सबैको हो भन्ने व्यवहार गर्नुस् ।’ भन्नुभएको सुन्नमा आएको छ । तर, डाबोस्मै रहेका प्रमलाई मरमसला थपेर रिपोर्टिङ भएको कारण अहिलेसम्म समस्या परेको र त्यसैको प्रतिक्रियास्वरुप घोचपेच हुन थालेको स्रोत बताउँछ ।

टिप्पणीहरू