हाकिमको साइकलमा हो–हल्ला
हिँडाइ र कुदाइबाट भन्दा साइकल चलाएर ज्यान तन्दुरुस्त राख्नेमा पर्छन्, पूर्वप्रधानसेनापति गौरवसमशेर राणा र सशस्त्रका पूर्वआइजिपी सिंहबहादुर श्रेष्ठहरू । यो साताचाहिँ सिंहबहादुरका लागि साइकलकै कारण तनावयुक्त बन्न पुग्यो ।
अनामनगर, घट्टेकुलोमोडस्थित घरमै राखेको साइकल गत साता हरायो । १० वर्षे प्रहरी सेवामा डिएसपी भई ०५८ मा सशस्त्रको एसपी बनेका सिंहबहादुरलाई थाहा थियो, पुलिसलाई अलिक तताउन सक्यो भने साइकल फेला पर्छ । अनामनगरस्थित प्रहरी वृत्तका डिएसपी काजीकुमार आचार्यलाई फोन गरेर ‘मेरा लागि यति प्रयास गरिदेऊ न भाइ’ भने । अनामनगर–घट्टेकुलोतिर हुने चोरीका घटनामा एकजना पटके चोर समातिने गरेका थिए । नाम हो, रमेश माझी । सिंहबहादुरले फोन गर्नासाथ अनामनगरको घुमुवा टोलीले उनै पटके चोरलाई ल्याएर थुन्यो । ‘हेर कान्छा, आइजिपीको साइकल हरायो । हामीलाई पनि जागिर खान अप्ठ्यारो पर्छ । तँलाई थाहा छ भने खोजेर ल्या’ भन्दै डिएसपी काजीले चोरलाई फकाए । शुरुमा ‘थाहा छैन’ भन्दै थिए । तर, घुमुवाहरूले कोठाभित्र लगेर ‘मर्मत’ गर्न थालेपछि ‘एकदिको टाइम दिनु, म पत्ता लगाउँछु सर’ भने । नभन्दै भोलिपल्टै साइकल अनामनगर प्रहरी वृत्तमा आइपुग्यो । सिंहबहादुर आफैँ वृत्तमा पुगेर हेर्दा चकित खाए, आफ्नो साइकल जस्ताको तस्तै देखेर । उनले सबभन्दा पहिला चोर भनी समातिएका रमेश माझीलाई ‘धन्यवाद’ भने । जाडो महिना लागेपछि मात्रै दुई–तीनपटक हिरासतमा बसेका कारण रमेशको स्वास्थ्य ठीक थिएन । सिंहबहादुरले चोरलाई ‘अबदेखि नचोर है’ भन्दै डिएसपीलाई भने, ‘अब यसलाई छाडिदेऊ यार…!’
सुन्दा लाग्छ कि, जाबो साइकल हराउँदा आइजी भएको मान्छे किन यति धेरै चिन्तित भए होलान् ? तर, साइकलको दुःख अर्कै छ । आइजिपी हुनुअघि नै सिंहबहादुरले ठमेलमा ५२ हजार रुपैयाँ तिरेर ‘ट्रेक’ नामक उक्त साइकल किनेका थिए । त्यहाँ पाँचदेखि सात लाख मूल्यका साइकल बेच्न राखिएका छन् । तर, भनेजति पैसा नहँुदा उनले चाहेजस्तो साइकल चढ्न सकेनन् । र, करिब ६० हजार पर्ने साइकल डिस्काउण्टमा ५२ हजारमा लिए । महिनैपिच्छे तलब थाप्दै साइकलका सामान अपग्रेड गर्न थाले । उनी जतिबेला डिआइजी मात्र थिए, त्यसबेलासम्म दिनहुँ साइक्लिङ गर्थे । अनामनगरबाट साइकल चढेर हल्चोक पुग्ने र त्यहाँ टेबलटेनिस खेल्ने उनको दैनिकी थियो । त्यसो गर्दा दुई÷तीन महिनामै करिब १२ किलो तौल घटाए । यसप्रकार उनले शरीरलाई भन्दा साइकललाई बढी माया गर्न थाले ।
तलब आएपिच्छे केही न केही सामान फेर्ने, नयाँ हाल्ने गर्दा साइकलको मूल्य एक लाखभन्दा माथिको भयो । त्यसमा प्रयोग हुने एउटा सकलाई मात्र २५ हजार रुपैयाँ पर्छ । साइकलमा सक जति राम्रो भयो, त्यसको कुदाइ र आरामदायी उत्तिकै बढ्छ । उनले गियर, टायरदेखि साइकलका हरेक चिज प्रत्येक महिनाको तलब बुझ्नासाथ फेर्थे । त्यस्तो साइकल पदबाट रिटायर्ड भएको ९–१० महिनामै, घरबाटै हराउँदा उनलाई चिन्ता पर्ने नै भयो । चिन्ता लागेर साइकल हराएको कुरा फेसबुकको वालमा लेखे । प्रहरीले केही दिनमै साइकल आफूलाई जिम्मा दिएपछि फेरि प्रहरी टोली र चोरलाई धन्यवाद भन्दै अर्को स्ट्याटस लेखे । तर, यति गर्दा पनि उनले सुख पाएनन् । ‘हाम्रो साइकल हराएको भए हराएको हरायै हुन्थ्यो । आइजिपीको साइकलचाहिँ पत्ता लाग्ने…’ भन्दै टिप्पणीकर्ताले हैरान खेलाइरहेका छन् ।
टिप्पणीहरू