​उठ्तीपुठ्ती नै अचम्मका

पत्ता लागेको छ कि, अख्तियार आयुक्तबाट हालै राजीनामा दिएका राजनारायण पाठकले अख्तियारदेखि अदालत र बढी भ्रष्टाचार हुने सरकारी कार्यालयमा समेत तहगत संरचना नै निर्माण गरेका थिए ।

भूमिसुधारका कर्मचारीले गरेका भ्रष्टाचारमा राजनारायणले शुभलाभ हासिल गरी कसरी जोगाउँथे भन्ने दृष्टान्त जनआस्थाले फेलापारेको छ । दुई वर्षअघि नापी कार्यालय मनमैजुमा जग्गा हालसाविक गर्ने क्रममा फाँटवालामध्ये सर्वेक्षक रामप्रमोद महासेठले सेवाग्राहीसँग ७५ हजार मागे । सेवाग्राहीले त्यत्रो त दिन सक्दिनँ भन्दा उनले कार्यालय प्रमुखदेखि फाँटका सबैलाई दिनुपर्ने बताएर त्यति नभए काम गर्न नसकिने बताए । यसपछि सेवाग्राही फाँटप्रमुख अर्को सर्वेक्षक हरिचन्द्र तिवारीलाई भेट्न गए । उनले ७५ हजार दिन नसक्ने बताउँदा हरिले ‘१०÷१५ हजार कम दिएर काम गराउनु न त’ भने । 

अन्त्यमा सेवाग्राही ५० हजार दिएर काम गराउन सहमत भए । ५० हजार दिनुअघि नै सेवाग्राहीले अख्तियारसँग समन्वय गरी घुस्याहा कर्मचारीलाई रंगेहात पक्राउ गर्ने तयारी गरेका थिए । सोहीबमोजिम घुस दिनासाथ हरि र रामप्रमोद ५० हजार नगदसाथ समातिए । दुवैविरुद्ध एउटै कसूरमा उस्तै अभियोग र दसीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग¥यो । प्रमाणका रूपमा रामप्रमोदले ७५ हजारभन्दा कममा काम गर्दिनँ भनेपछि सेवाग्राहीले हरिलाई भेटेर गुनासो गरेका र हरिले फाँटप्रमुखका हैसियतले सेवाग्राहीलाई अलि कम रकम दिएर काम गराउनु भनेको श्रव्यदृश्य पनि पेश गरिएको छ । सो श्रव्य–दृश्यमा हरिको प्रष्ट तस्बिर नआएकाले आवाज परीक्षण गरी निर्देशन दिने आवाज हरिकै भएको पुष्टि गरिएको विवरण पनि छ । 

विशेषले मुद्दा अघि बढाएर फैसला गर्ने बेला भएपछि हरिको छटपटी बढ्यो । त्यति नै बेला उनले नापीकै अर्का कर्मचारी शुभकान्त झाको अख्तियारका राजनारायण पाठकसँग राम्रो सम्बन्ध भएको पत्ता लगाए । हरिले शुभकान्तलाई भेटेर विशेष अदालतबाट सफाइ पाउने व्यवस्था मिलाउन अनुरोध गरे । यसबापत लागेको रकम व्यहोर्ने प्रतिबद्धता हरिले व्यक्त गरेपछि शुभकान्तले राजनारायणलाई भेटी विशेषबाट सफाइ दिने वातावरण बनाए । शुभकान्तले १५ लाख लाग्ने बताएका भए पनि अन्तिममा हरिले ११ लाखमै उनको चित्त बुझाए । एउटै कसूरमा परेका दुई कर्मचारीमध्ये रामप्रमोद भ्रष्टाचारी नै भएको र हरि निर्दोष भएको फैसला विशेषले सुनाइदियो । 

अहिले रामप्रमोद आफू निर्दोष भएको जिकिरसहित र अख्तियार हरि भ्रष्टाचारी नै हुन् भनी सर्वोच्चमा दुई रिट दर्ता गर्ने तयारीमा छन् । राजनारायण पाठककै सञ्जालभित्र छिर्न सकेकैले हरिले विशेषबाट सफाइ पाए । यसबाट राजनारायणको भ्रष्टहरूलाई जोगाउने र भ्रष्टाचार चलाइरहने सञ्जाल अख्तियार, अदालत र सरकारी कार्यालयमा समेत रहेको प्रष्ट हुन्छ । 

विशेषबाट सफाइ पाउनासाथ हरि फेरि मनमैंजु नापी कार्यालयमै हाजिर भए । उनी त्यहाँ हाजिर हुनासाथ नवीन सुवेदी र राजकुमार महतोलाई मिलाएर फेरि भ्रष्ट गतिविधि संगठित रूपले शुरु गरे । यो समूहले कतिसम्म गलत काम गरेको पाइयो भने नापी भएको जग्गाको प्लट रजिष्टरमा एउटा क्षेत्रफल र लिखतमा अर्कै क्षेत्रफल लेखेका छन् । प्लट रजिष्टर नापीमा रहन्छ र सोहीबमोजिम लिखत तयार पारी मालपोतलाई जग्गा दर्ता गरी पुर्जा दिन सिफारिस गरिन्छ । तर, यो समूहले प्लट रजिष्टरमा जग्गाको क्षेत्रफल १० आना लेख्ने र लिखतमा १२ आना जनाई मालपोतमा पठाइदिनेजस्ता कार्य गरेका हुन् । कुनै व्यक्तिको खास जग्गा १० आना भए पनि २ आना सरकारी वा अरूको जग्गा मिचेर १२ आना बनाइदिने र यसबापत उसँग केही लाख असुल गरी मालपोतलाई १२ आनाकै पुर्जा बनाइदिन सिफारिस गर्ने काम गरेको हो । तर, यसको नापीमा रहेको विवरणमा भने १० आना नै उल्लेख गरिएको हुन्छ । 

५० हजार घुसमा रंगेहात समातिएका भ्रष्ट कर्मचारी न्यायाधीशलाई लाखौं लगानी गरी सफाइ पाउने र फेरि आएर पहिलेभन्दा बढी भ्रष्टाचारमा संलग्न हुन वातावरण मुलुकमा बन्दै गइरहेको छ । तर, यस्तो वातावरण बनाउने राजनारायण पाठकहरू पदबाट राजीनामा दिएर उन्मुक्ति पाउँदै छन् ।

टिप्पणीहरू