उताबाट सिकौँ, दम्भले के हुन्छ ?
- बाबुलाल भण्डारी
छिमेकी भारतमा २ वटा मूलधारका कम्युनिष्ट पार्टी छन्, सिपिआई र सिपिआई (एम) । सोभियत संघले ख्रुस्चेभको नेतृत्वमा संशोधनवादी कार्यदिशा समातेपछि रुसी ध्रुवको समर्थन गर्ने कि चिनियाँ धारको समर्थन गर्ने भन्ने विश्वव्यापी विवादबीच दुईलाइनको संघर्षले सन् १९६४ मा विभाजित भयो । विभाजित दुई कम्युनिष्ट पार्टीबीच अब सोभियत समाजवादको पतन र तेङ सियाओ पिङको नेतृत्वमा चीनले समेत आर्थिक उदारीकरणको नीति अपनाइसकेपछि आपसी विवादको कारण र आधार अब स्वतः समाप्त भइसकेको छ ।
सन् १९८९ देखि यी दुई पार्टीबीच हुँदै आएका एकीकरणका प्रयासलाई गति दिन सन् १९९९ मा सिपिआईको १७ औँ पार्टी कंग्रेसले औपचारिक निर्णय गरिसकेको हो र महासचिव सुधाकर रेड्डीले सिपिएम नेतृत्वसँग अनेक चरणका वार्तासमेत गरिसकेका छन् । पश्चिम बंगालमा ३० वर्षदेखिको बाम सरकार २०११ मा ढल्नु र हालैमा १३ दल सम्मिलित त्रिपुराको २५ वर्ष अघिदेखिको लेफ्ट अलाएन्सको सरकारसमेत घुँडा टेक्नुजस्ता पछिल्ला तीता अनुभव यिनीहरूसँग छन् । अझ कुनै बेला संघीय संसद्मा ८० भन्दा बेसी स्थान जित्न सफल वाममोर्चा अघिल्लो संसदीय निर्वाचनदेखि ११ सिटमा खुम्चिन पुगेको समेत अवस्था छ । त्यसैले दुई पार्टी एकीकरणका लागि त्यहाँ जबर्जस्त जनदबाव छ र यिनीहरू एक हुन अब वैचारिक सैद्धान्तिक कुनै अड्चन छैन । यति हुँदा पनि २९ वर्षदेखिको यो पार्टी एकताको चाह त्यहाँ अझै साकार हुन सकिराखेको छैन ।
तर, हामीकहाँ संसदीय अभ्यासमा रम्दै आएको नेकपा एमाले र १० वर्षे जनयुद्धको यात्रा तय गरेको नेकपा माओवादीबीच गत वर्ष संघीय र प्रदेश तहको निर्वाचनको तयारीकै बीच एकाएक चुनावी गठबन्धन भई पार्टी एकताको घोषणा भयो । यो एकता वाम प्रगतिशील तप्का र देशमा शान्ति र स्थिरता चाहने सबैका लागि अत्यन्त सुखद हुँदाहुँदै पनि यो जसरी आकस्मिक थियो सम्भाव्यताको दृष्टिले त्यतिबेला त्यसरी नै अविश्वसनीय पनि थियो । माक्र्सवाद, लेनिनवाद र माओवादको शास्त्रीय प्रयोगको वकालत गर्ने एउटा लडाकु दल र अर्कोतर्फ नयाँ जनवादलाई संसदीय फ्रेमवर्कबाट हेर्ने अर्को पार्टीबीचको एकता सम्पन्न गर्न जो आँट, अठोट र पहलकदमी शीर्ष नेतृत्वले लिए यो सानो थिएन ।
यसलाई झण्डै दुस्साहसको नाम दिन सकिन्छ । हुन पनि कम्युनिष्ट शक्ति विश्वभरि रक्षात्मक भएका बेला नेपालको यो प्रगति सारा संसारका लागि एउटा प्रेरणा थियो र मुलुकभित्र यसले जनताको तहमा कति महŒव राख्छ भन्ने कुरा भिन्दाभिन्दै चुनाव चिह्न लिएर उठ्दासमेत यिनीहरूले पाएको झण्डै दुईतिहाइ मतले नै स्पष्ट गर्छ ! वास्तविकताको धरातलबाट हेर्दा अहिले कोरा सिद्धान्त र आदर्श नारा फलाकेर राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितितर्फ आँखा चिम्लिनु युटोपियाबाहेक अरू केही होइन । अहिलेकै लागि भन्नुपर्दा देशमा लोकतान्त्रिक संविधानको सिमानाभित्र सुशासनको माध्यमबाट जनताका दैनन्दिन समस्या हल गर्दै राष्ट्रिय अर्थतन्त्रको विकास र स्वाधीनताको रक्षा नै प्रमुख सवाल भएका छन् । यिनै दायित्वलाई पहिलो चरणको कार्यभार मानेर समाजवादको दूरगामी बाटोमा लाग्न इमान्दार प्रतिबद्धता छ भने नेकपाभित्रका दुई घटक अब हानथाप गर्नुपर्ने कुनै कारण छैन ।
तर, अहिले आएर जनताले सुम्पेको यत्रो विश्वासलाई दुवैतर्फको नेतृत्वले सम्मान गर्न नसकेको त होइन भन्ने अनुभूति हुँदै छ ! विवादहरू जतिसुकै वैचारिक, सैद्धान्तिक र राजनीतिक भनिए पनि ती अधिकांश व्यक्तिगत पद र प्रतिष्ठाका प्रश्न हुन् भन्ने कुरा आज सबैलाई थाह छ । हिजो पार्टी एकता घोषणाका घडीको मूल स्पिरिट धमिलो बनेको छ र देश र जनताभन्दा नितान्त निजी कुराले आज अग्राधिकार पाइरहेका छन्, जो कम्युनिष्ट पार्टीभित्रको पुरानै रोग हो । यही कारणले प्रदेश र स्थानीय तहमा पार्टी र जनवर्गीय संगठन बन्न सकेका छैनन् भने केन्द्रीय सदस्य नै भूमिकाविहीन बनेका छन् । उता, सांगठनिक विषय टुंगो लगाउने जिम्मा पाएको कार्यदल नै आन्तरिक बेमेलले अनिर्णीत भएको बताइन्छ । पछिल्लो समय नेकपाका दुई अध्यक्षबीच सार्वजनिक जुहारी नै चल्यो र यसले एकताका पक्षधर सबैलाई फेरि एकपटक झस्काइदियो । यस्ता निरर्थक वादविवादले नेपालीले पाएको यस्तो स्वर्णिम अवसर गुम्ने त होइन भन्ने चिन्ता स्वाभाविक भएको छ ।
सिद्धान्तका शुष्क तर्कलाई विवादमा ल्याउने र अहिलेको घडीमा एक अर्को पक्षलाई खुइल्याई एकता प्रक्रियामा भाँजो हाल्ने जोकोही देश र जनताको पक्षमा हुन सक्दैन । अझ सरकारकै जिम्मेवार मन्त्रीहरू अर्को पक्षविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनु त सर्वथा अनुचित हो । कारण एउटै हो (यसले ७० वर्षदेखिको वाम एकताको सपनालाई तोड्छ र बाह्यशक्तिको सेवा गर्छ, जो यहाँ अस्थिरता चाहन्छन् ।
हो प्रचण्ड हिजो जनयुद्धरूपी बाघको सवारीमा थिए र यस सवारीको विकासक्रम र अवतरणमा कुनै न कुनै रूपमा बाह्यशक्तिका स्वार्थहरूले खेल्न पाए । बाघको सवारी सहज र सुखद त कहाँ हुन्छ ! कुनै पनि मुलुकमा मनमौजी ढंगले आफ्ना सेना उतारेर आक्रमण गर्ने विश्व साम्राज्यवादको उपस्थिति र अस्थिरता चाहने छिमेकीसम्मको शक्ति समीकरणमा यस्तो सानो र कमजोर मुलुकमा क्रान्तिकारी शक्तिको सशस्त्र विद्रोह जति नै सही भए पनि यस्तै अवतरण बाध्यात्मक बन्छ । क्रान्ति सफल हुन क्रान्तिकारी रोमान्सले मात्र पुग्दैन देशीय र बाह्य परिस्थिति पनि अनुकूल हुनुपर्छ । जे होस् अब त्यो सबैलाई अतीतको एउटा पाठ भएको छ ।
बरु यसबाट का. प्रचण्डका केही संवेदनशीलता हुनु स्वाभाविक हो र यिनै संवेदनशीलता पक्डेर केही शक्तिले उनलाई कुनामा अचेट्ने र उनको विवशतालाई आफ्नो हितमा प्रयोग गर्ने चेष्टा गरेको पनि सबैलाई अनुभव छ । तसर्थ शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण र जनयुद्धताका सहभागी कामरेडहरूको उचित संरक्षणजस्ता अन्य कुराका अतिरिक्त स्वयंका लागि बलियो सुरक्षा छाता र घेरा अहिले उनको अनिवार्यता हो । यो अब एउटा प्रचण्डको मात्र सरोकार नभएर सिंगो एकीकृत कम्युनिष्ट पार्टीको सरोकार र दायित्व भनेर बुझिनुपर्छ । तर, यो संवेदनशीलतालाई ग्रहण गर्न चुकियो भने फेरि पनि कम्युनिष्ट पार्टीभित्रको रसायन कमजोर नै रहन्छ । प्रचण्ड निर्णय क्षमतामा अब्बल मानिन्छन् र उनमा गत्यात्मकता पनि त्यही स्तरको छ ।
निर्णय क्षमता र गत्यात्मकता राजनीतिमा अपेक्षित त हो तर यो आफंैमा ‘डेन्जरस मिक्स’ पनि हो । हिजो संविधान जारी भएपछिको कालखण्डमा का.ओलीपछि का.प्रचण्डलाई गर्ने भनिएको सत्ता हस्तान्तरणको भद्र सहमति पहिलोले पालना नगर्दा दोस्रोले यसको प्रदर्शन गरिसकेका छन् । तर, यसको प्रदर्शन उनले का. झलनाथसम्मले यस्तो भद्र सहमतिको पुष्टि गरेको र आफूले पटक–पटक मौका दिँदा पनि अर्को पक्ष तयार नभएको बाध्यात्मक परिस्थितिमा गरेका छन् जसले गर्दा राजनीतिक कोर्स भिन्दै ढंगले अगाडि बढ्यो । यो पनि दुवैका लागि एउटा शिक्षा भएको छ । तसर्थ अहिले पनि दुवै पक्ष इमानदार देश र जनताप्रति जिम्मेवार भएर सहयात्रामा अघि बढ्नुको विकल्प छैन ।
१९१७ को अक्टोबर क्रान्तिदेखि यताको १०० वर्षको इतिहासमा कम्युनिष्टले सार्थक एकता गरेका छैनन् वा एकता गरे पनि त्यो टिकाउ भएको छैन । अझ नेपालको वाम आन्दोलनको जग त विल्कुल फुटैफुटका इँट्टाले बनेको छ र एकले अर्कोलाई गाली गर्नमा शब्दकोशका सबैभन्दा अप्रिय शब्द प्रयोग भएका छन् । यहाँ माओकी विधवा चियाङचिङको समर्थन र विरोधको नाममा समेत पार्टी फुटेको इतिहास छ । आज संसारबाट माक्र्सवाद ओझेलमा पर्दै जानुमा यस्तै–यस्तै मुख्य कारण बनेका छन् ।
फेरि पनि आन्तरिक विवाद र मतान्तर नभएको एकमना कम्युनिष्ट पार्टीको कल्पना अवास्तविक नै हुनेछ । त्यस्ता जेसुकै विवाद भए पनि ती समय क्रममा पार्टी पद्धतिबाटै हल हुँदै जान सक्ने कुरा हुन् । नेपोलियनले बेलायतसँगको लडाइँमा एकपटक आफू फर्किने सबै पानीजहाज जलाएर नष्ट गरेका थिए । त्यही ‘गर वा मर’को अवस्था वामएकताको अहिलेको यस चरणमा छ ।
पञ्चतन्त्रमा दुईवटा शिर तर एउटा मात्र पेट भएको भरुण्ड नाम गरेका पक्षीबारे एउटा साह्रै महŒवपूर्ण नीतिकथा छ । एकदिन त्यस पक्षीको एउटा मुखले कुनै स्वादिष्ट फल भेट्टाउँछ र अर्को मुखसँग बाँडचँुड नगरी एक्लै खान्छ । दुवै मुख यसै विषयमा विवाद गर्छन् र आवेशमा अर्को मुखले कडा विष सेवन गर्छ । अन्ततः दुवै मुखले व्यहोर्छन् । कतै यहाँ पनि त्यस्तै हुँदै त छैन ?
टिप्पणीहरू