​पत्नीभक्तलाई पत्र तयार

‘तपाईंहरूले नखाइदिए कसैले प्रलोभन देखाउने हिम्मतै गर्दैन । तपार्इंहरूकै कार्यालयमै आएर ढोका थुनेर सेवाग्राहीले तपार्इंहरूलाई थप्पड किन हान्छ ? पहिला आफैं सुध्रनुस् !’

 कम्पनी दर्ता गर्न आएका सेवाग्राहीबाट रामधुलाइ भेटेपछि पीडा पोख्नका लागि गत बिहीबार मन्त्री मातृका यादवलाई भेट्न पुगेका कर्मचारीलाई उल्टै झाँको झारे । घुसमा कुरा नमिल्दा बुधबार कम्पनी रजिष्ट्रारको कार्यालयका भुवनहरि अर्याल र हरिनारायण बेलवासेले झापु भेटे । कानुन व्यवसायी गुणराज आचार्य र टीकाध्वज खड्काले कार्यालयका रजिष्ट्रार र उपरजिष्ट्रारलाई ढोका थुनेरै चुटेको पीडा पोख्न आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाललाई अगाडि लगाएर २० जनाको टोली मन्त्री यादवको कार्यकक्षमा आएर उफ्रिए । आफूहरू चुटिएको २४ घण्टासम्म पनि मन्त्रालयले केही एक्सन नलिएको भन्दै पीडा पोखे । 

मन्त्री मातृका यादवले अघिल्लो रात साढे ११ बजे मात्र इण्डियाबाट फर्किएका थिए । पड्किने पालो मन्त्री यादवको थियो । भने, ‘कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी अख्तियार सिआइबीले समातेको समात्यै छ । त्यहाँको फाइल तानेको तान्यै छ । सबैभन्दा भ्रष्ट अखडाका रूपमा कम्पनी रजिष्टार कार्यालय बदनाम छ, पहिला तपार्इंहरू आफैं पनि सुध्रनुहोस् ।’  

खासमा भएको चाहिँ कानुन व्यवसायी गुणराज आचार्य र टीकाध्वज खड्काले नेपाल चाइना प्रालि नामक कम्पनी दर्ता गर्न भन्दै मंगलबार कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर पुगेका थिए । अघिल्लो दिन भुवनहरि अर्याल र हरिनारायण बेलवासेले ‘नाम परिवर्तन गरेर भोलि आउनुहोला’ भन्दै फर्काइदिए । बुधबार उनीहरूले बोलाएकै समयमा त्यहाँ पुगे । उनीहरू त्यही नाम चाहिने, रजिष्ट्रार कार्यालयका कर्मचारी त्यो नाममा दर्ता हुनै नसक्ने अत्तो थाप्ने । उनीहरूले नियम, कानुन सम्झाउँदै देशको नाम जोडिएको कम्पनी दर्ता हुनै नसक्ने बताएपछि कानुन व्यवसायीले आक्रोश पोखे ‘घुस खान पाए जे पनि गर्न हुने, घुस नभई केही नगर्ने ?’ त्यहीपछि विवाद चुलियो र हातपात गर्ने स्थिति आइपुग्यो । उनीहरूले ढोकामा चुकुल लगाएर चुट्दा टीकाध्वज खड्का घाइते भए, गुणराज घिमिरेलाई धरपकड गरी पक्राउ पुर्जी जारी गरेर प्रहरीले लग्यो र केही समयपछि छाडिदियो । र, त्यसको भोलिपल्ट उनीहरू ज्ञापनपत्र बोकेर मन्त्रीलाई भेट्न पुगेका थिए ।

मन्त्रालय स्रोतका अनुसार सतहमा यो घटना देखिए पनि वास्तविकताचाहिँ अर्कै छ । उपसचिव हरिनारायण बेलवासे पहिला वाणिज्य विभागमा कार्यरत थिए । र, त्यहाँ रहँदा सुनको अनुगमन गर्ने नाममा व्यापारीलाई त्राहिमाम पारेर आर्थिक शुभलाभ हात पार्दै आएका थिए । मन्त्रालयले उनीविरुद्ध गुनासो बढेपछि त्यहाँबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा खटाएको थियो । तर, बेलवासेले पटक–पटक त्यहाँ काम गर्ने वातावरण नभएको, आफ्नो प्रेसर हाई भएकाले अन्यत्र सरुवा गरिदिन मन्त्रालयमा भनसुन गर्दै आएका थिए । बुधबारको सो घटनापछि उनी रजिष्ट्रार कार्यालयको सिंगो टिम नै (३० भन्दा बढी कर्मचारी) फेरौं भन्ने प्रस्तावसमेत ज्ञापनपत्रमा घुसाएर ल्याएका थिए । मन्त्रालय सूत्र भन्छ, ‘बेलवासे त्यहाँबाट पुनः उद्योग विभागमा जाने र अनुगमनको नाममा बद्ख्वाइँ गर्न चाहन्छन् ।’ 

त्यस्तै, मन्त्रीलाई थाहै नदिई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नियम नै परिवर्तन गरी अध्यक्षमा नन्दकिशोर बस्नेतले नियुक्ति पड्काएका छन् । मन्त्री मातृका यादवले सचिव यामकुमारी खतिवडालाई बस्नेतलाई कुनै पनि हालतमा नियुक्तिपत्र नदिनू भन्ने आदेश दिएर रुकुमतिर हिँडेका थिए । तर, सचिव यामकुमारी खतिवडाले आफूलाई दबाब आएको भन्दै सोमबार बेलुका मात्र बस्नेतको हातमा नियुक्तिपत्र थमाइसकेको मन्त्रालय स्रोतको भनाइ छ । हालै मात्र त्यहाँका महाप्रबन्धकका रूपमा सुवास सिटौला नियुक्त भएका छन् । नन्दकिशोरले त्यहीँ नियमविपरीत जागिरमा रहेकी पत्नीको पदोन्नति गरी पत्नीभक्त देखाएको, अरू कर्मचारीको शोषण गरेको आरोप लागेपछि मन्त्री उनको पुनर्नियुक्तिप्रति इच्छुक थिएनन् ।

टिप्पणीहरू