​फाइदा हुनु त यस्तो

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य अब के हुन्छ ? कुनै टुंगो छैन । तर, यही नाममा खेलोफड्कोचाहिँ बाक्लिएको छ । सन् १९८५ मा राजा वीरेन्द्रसमेत अग्रसर भएर गठन भई त्यसको सचिवालयसमेत काठमाडौंमा राखिएको थियो ।

सन् २०१४ मा नेपालमा सार्क सम्मेलन गराईवरी राजदूत भएर अफ्रिका गएका अमृत राई फर्किएर अर्को पोष्टिङमा गइसके । कालिप्रसाद पोखरेल, यज्ञ हमाल, अम्बिका लुइँटेल, खगनाथ अधिकारीहरु सार्क सम्मेलन सिध्याएर राजदूत खान गएकोमा फर्कन लाग्दै छन् । पाँच वर्षदेखि सार्क सम्मेलन रोकिएर त्यसको भविष्य अन्यौलमा रहेकै बेला अहिले त्यही संस्थाको नाममा केही व्यक्तिका निम्ति सामान्य प्रशासन मन्त्रालयबाट सुटुक्क दरबन्दी स्वीकृत भई त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । उपसचिव डम्मरु पौडेल ढाकास्थित बिमस्टेकको सचिवालयमा जाने भनेर उनको पोस्टिङ भइसक्यो ।

उता सार्कमा ३० वर्षदेखि उपसचिव तहका मान्छे काजमा जान्थे । अब दरबन्दी नै त्यहीँ रहने गरी यता मन्त्रालयमा नयाँ पद सिर्जना हुन लागेको हो । विदेशमा तालिम नगरेका र खासै अवसर नपाएकालाई उकास्ने नाममा त्यस्तो गरिएको बताइन्छ । यसको मारमा कूलबहादुर मगर, रञ्जिता दाहाल, सीता बस्नेत, ललिता सिलवाल, शिवानी बस्नेतहरु पर्ने र प्रमिता अधिकारी, इन्दिरा अर्यालहरुको खुदो पल्टिने चर्चा छ । प्रमिता नेकपा महासचिव विष्णु पौडेलकी बुहारी हुन् ।

टिप्पणीहरू